गलेश्वरमा चार हप्तामा १२ लाख भेटी



नेपाल समाचारपत्र, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा झन्डै १२ लाख भेटी संकलन भएको छ। साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजा–अर्चना गर्न आएका भक्तजनबाट कुल ११ लाख ९८ हजार ३ सय ४० रुपियाँ भेटी संकलन गरिएको हो।

गत वर्षको साउन महिनामा पनि चारवटा सोमबार परेको थियो भने १३ लाख २७ हजार ४ सय ५२ रुपियाँ भेटी संकलन भएको थियो। गत वर्षभन्दा अघिल्लो आर्थिक वर्षमा भने पाँचवटा सोमबार परेको भए पनि ११ लाख ७४ हजार ७ सय १५ रुपियाँ भेटी संकलन भएको थियो। गत वर्षको तुलनामा यसवर्ष भेटी संकलनमा कमी आएको छ।

यसवर्ष साउनको पहिलो सोमबार २ लाख ७४ हजार २ सय ७७, दोस्रो सोमबारमा २ लाख ९९ हजार ३ सय २२, तेस्रो सोमबार २ लाख २९ हजार १ सय ७९ र चौथो तथा अन्तिम सोमबार ३ लाख ९५ हजार ६ सय ६२ रुपियाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।

यस वर्ष साउनमा परेका चारवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबैभन्दा कम पहिलो सोमबारमा भेटी संकलन भएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभएको छ।
गत वर्षको तुलनामा यस वर्ष मन्दिर दर्शन गर्न आउने भक्तजनको सङ्ख्यामा कमी आउनुका साथै भेटीसमेत कम संकलन भएको छ। वर्षायाम, खेतीपातीको समय र यातायातको असुविधाले अपेक्षाअनुसार भक्तजनहरू आउन नसकेको उहाँले बताउनुभयो।

गलेश्वर मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ। यस वर्षको साउन महिनामा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, रूपन्देही, नवलपरासी, चितवन, तनहुँ, काठमाडौं, बाँके, बर्दियालगायतका जिल्लाबाट गरी करिब १ लाख ५० हजार भक्तजनले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन्। मन्दिरमा भक्तजनको सुरक्षाका लागि सीसीटिभी क्यामेरासमेत जडान गरिएको छ।

भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने क्षेत्र विकास कोषले जानकारी दिएको छ। संकलित भेटी कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पूर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीको भनाइ छ।

भगवान् शिव महादेवलाई मनपर्ने महिना साउन र सोमबारको दिन भएकाले विशेष गरी हरियो चुरापोते, हातमा मेहेन्दी तथा रातो साडीमा सजिएर विवाहित महिलाहरू श्रीमान्को दीर्घायु र अविवाहितहरू योग्य वर प्राप्तिको कामना गर्न शिवालयमा जाने प्रचलन रहेको छ। हिन्दू धर्मावलम्बीहरूमा शिवालयमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वाससमेत रहिआएको छ।

पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वार मानिन्छ भने सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्