प्रशासनको अनुगमनमा सरकारी कार्यालय



   अमृत अर्याल, स्याङ्जा

देश संघीयतामा गएसँगै कर्मचारी समायोजनपछि हरेक सरकारी कार्यालयमा कतै कर्मचारीको अभाव त कतै फुर्सदिलो अवस्था रहेको थियो। कर्मचारी हजिर नहुने, हाजिर भए पनि सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने व्यापक गुनासो आएका बेला जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ। एकै पटक चार ओटा टोली बनाएर अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले ९६ जना कर्मचारी अनुपस्थित भएको फेला पारेको छ।

टोलीले छड्केमा परेका सबै कार्यालयका हाजिरी रजिस्टर प्रशासन कार्यालयमा ल्याएर जाँच गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो। छड्केमा परेका कार्यालयका २ सय ७४ कर्मचारीमध्ये १९ अधिकृत तथा ७७ विभिन्न पदका कर्मचारीहरू कार्यालय हाजिरी नभएको भेटिएको प्रजिअ निरौलाले बताउनुभयो।

‘पहिलो पटक सदरमुकाममा छड्के अनुगमन गरेका छौं’, प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो– ‘यो अनुगमनलाई हरेक स्थानीयतहसम्म पु¥याउनेछौं।’ ‘कर्मचारी राष्ट्र सेवक भएकाले सरकारको निर्देशनअनुसार सेवामा खटिनुपर्छ।’ –प्रजिअ निरौलाले भन्नुभयो।
सदरमुकामका खानेपानी डिभिजन, नापी र घरेलुका सबै कर्मचारी कार्यालयमा भेटिएका थिए। अनुगमनका क्रममा जिल्ला अस्पतालमा आठ अधिकृतसहित ३६ जना समयमा काममा नजाने गरेको प्रशासनले जनाएको छ।
अस्पतालका प्रमुख डाक्टर अमृत पोख्रेल साउन १३ गतेबाट अनुपस्थित रहेको तथा डाक्टर सुशील मरासिनी वैशाखबाट कार्यालयमा अनुपस्थित रहेको पाइएको छ। डाक्टर मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डाक्टर पोख्रेल दुई हप्ते बिदामा रहेको अस्पतालका निमित्त प्रमुख डाक्टर रन्जु पोख्रेलले जानकारी दिएको प्रशासनले जनाएको छ। त्यस्तै आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का १० जना कर्मचारी रहेकोमा सबै कर्मचारी काज लिएर बसेको बताइएको छ।
यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ जना कर्मचारी रहेकोमा नौ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको देखिएको छ। अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयल कट्टा हुने बताउँदै प्रजिअ अधिकारी निरौलाले गयल कट्टा हुने कर्मचारीको गयल बराबर सेवा अवधि कम हुने सरकारी नियम रहेको स्पष्ट पार्नुभयो।
कार्यालय छड्केमा पुनर्निर्माणमा आठ, डिभिजन वनमा सात, हुलाकमा सात, सुन्तला जोनमा छ जना, कृषि ज्ञान केन्द्रमा पाँच, भेटनरी अस्पतालमा तीन, जिल्ला स्वास्थ्यमा दुई, कोलेनिकामा एक, विद्युत्मा एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा चार, आयुर्वेदमा दुई, राष्ट्रिय जिल्ला समन्वयमा चार, शिक्षा विकास तथा समन्वय इकाइमा एक तथा मालपोतमा एक जना कर्मचारी अनुस्थित रहेका भेटिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्