दुई लाख नागरिकको बन्यो स्वास्थ्य बीमा कार्ड 



 उत्तम नेपाल, भद्रपुर ।
झापामा दुई वर्षयताबाट शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत २ लाख ५ हजार ४ सय जनाले स्वस्थ्य बीमा गरेका छन्।

स्वास्थ्य बीमा बोर्डले २०७४ साल असोज २५ गतेबाट बीमा दर्ता अभियान शुरूगरेको थियो। दर्ता शुरूदेखि चालू आर्थिक वर्षको साउन २९ गतेसम्म यो तथ्यांक देखिएको हो।

बीमा बोर्डले झापाका वनियानी, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगंज र खजुरगाछी गरी ६ वटा प्राथमिक स्वास्थ्य केन्द्र र मेची र दमक अस्पतालबाट शुरू गरेको थियो।

त्यसैगरी निजी अस्पतालमा मेची आँखा,कन्काई, लाइफलाइन, आम्दा र एडभान्स अस्पतालले सेवा दिइरहेका छन्। अन्य अस्पतालमा बीएन्डसी, दृष्टि आँखा ,विर्तामोड आँखा अस्पताल, ओम मेची, निम्स अस्पतालले सम्झौता गरी भदौ १ बाट सेवा दिने भएका छन्।
 अस्पतालमा मेची अञ्चल र दमक अस्पतालबाट २०७४ मङिसर १ गतेदेखि बीमामार्फत सेवा लिन थालेका थिए ।

स्वास्थ्य बीमा बोर्ड झापाका दर्ता अधिकारी दीलिप पोखरेलले हालसम्म जिल्लामा दुई लाखभन्दा बढीले नागरिकले स्वास्थ्य बीमा गरेको बताउँनुभयो। यो कार्यक्रम प्रभावकारी देखिएकोले दर्ता गराउने नागरिकको सङ्ख्या दैनिक बढ्दै गइरहेको उहाँको भनाइ छ। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १ सय ९६ जना दर्ता सहयोगी परिचालन गरेको उहाँले जानकारी दिनुभयो।

स्वास्थ्य बीमामा आवद्ध हुनका लागि पाँच जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपियाँ शुल्क लाग्ने उनले बताए। पाँचजना भन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि सातसय रुपियाँ भुक्तानी गर्नुपर्ने उनको भनाइ छ।

७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपांगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभी र एचआईभी सङक्रमित बिरामी भएका घर परिवारको बीमा पूर्णरूपमा निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो। उनिहरूले वार्षिक एक लाखसम्मको उपचार सुविधा पाउने उहाँको भनाइ छ। स्वास्थ्य बीमामा सुबिधा लिन हरेक वर्ष अनिवार्यरूपमा नवीकरण गर्नुपर्ने नियम छ।

स्वास्थ्य बीमा गरेका सेवा ग्राहीलाई विभिन्न जाँच तथा औषधी निःशुल्क पाइने मेची अञ्चल अस्पतालका फार्मेसिस्ट कृष्ण शर्माले बताउनुभयो। बीमाको पूर्जामा लेखिएका ११ सय १८ किसिमका औषधी अस्पतालबाट उपलब्ध हुने गरेको साथै प्रति बिरामीलाई एक पटकमा ४देखि ५ हजारसम्मको औषधी दिने गरेको उहाँको भनाइ छ।

 सरकारीस्तरमा मेची अञ्चल अस्पताल भद्रपुर र आम्दा अस्पताल दमक रेफरल सेन्टरका रूपमा तोकिएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताउँनुभयो  ।  आर्थिक बर्ष २०७५।०७६ मा १ लाख ६ हजार ५ सय २८ जनाले सेवा लिएबापत ०७६ वैशाखसम्म करिब साढे ३ करोड रुपियाँ उपचार गरेबापतको रकम बीमा बोर्डबाट प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्