चार दिनदेखि युवक बेपत्ता 



ललितपुर, (नेस)

ललितपुरको पाटनढोका बस्ने एक युवक तीनदिनदेखि बेपत्ता भएका छन्। गएको मंगलबार राति करिब साढे ७ बजे कोठाबाट बेपत्ता भएका २३ वर्षीय प्रविण ठाकुर हालसम्म बेपत्ता भएका छन्।

जनै पुर्निमाको दिन समेत घर नआएपछि उनको बाबु रामआधारले छोराको खोजी गरिदिन महानगरीय प्रहरी परिसर ललितपुरमा खोजतालास जाहेरी दरखास्त दिनुभएको छ।

 कार्यालयबाट घर आएपछि केही नबोली झोलामा नागरिकता, अध्ययन प्रमाणपत्र लिएर गायब भएको ठाकुरले जानकारी दिनुभयो। दुई दिनसम्म आउँछ कि भन्ने आशमा थियांै, तीनदिन पुगिसक्दा पनि घर नआएपछि प्रहरीमा उजुरी दिएको ठाकुरले बताउनुभयो।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ न्युरोड शाखामा कार्यरत ठाकुर लामो समयदेखि पाटन ढोका बस्दै आएका थिए। एकमात्र छोरा अचानक गायब भएपछिबाबु ठाकुरले आफन्त छिमेकी र विभिन्न निकायमा खोजी गरीदिन आग्रह गर्दै हिड्नुभएको छ।

२३ वर्षीय प्रविण कोठाबाट बाहिरिँदा सामान्य चप्पल ,निलो पाइन्ट र टिसर्ट लगाएर घर छाडेका थिए। उनको मोबाइल अफ रहेको परिवारले जानकारी दिएको छ। बाराको कलैया स्थायी घर भएका प्रविणले लगनखेलको मोलिस कलेजबाट व्यवस्थापन संकायमा स्नातक उतिर्ण गरेका थिए।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायण चिमोरियाले सो घटनाको विषयमा छानविन भइरहेको जानकारी दिनुभयो। भन्नुभयो– ‘निज ठाकुरका बुबा रामआषिस ठाकुरले दरखास्त दिनुभएको छ , हामीले खोजतालास गर्ने काम गरिरहेका छौ।’

प्रतिक्रिया दिनुहोस्