प्रेरणाको स्रोत मात्र नभई मार्गदर्शक पनि



वरिष्ठ पत्रकार
हरिहर विरही

मदनमणिजी एउटा वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । उहाँले धेरै पहिले नै कठिन परिस्थितिमा पत्रकारिता शुरु गर्नुभएको हो। उहाँले कठिन परिस्थितिमा सत्यतथ्य रूपमा लामो समयसम्म निरन्तरता दिनुभयो। निरन्तरता मात्रै होइन साहसपूर्वक जनताको अधिकारको पक्षमा संघर्षशील भूमिका निभाउनुभयो लामो समयसम्म। पछि पत्रकारिता आफंैले चलाउन नसक्ने स्थिति उत्पन्न भएपछि साहित्यमा केन्द्रित हुनुभयो। त्यसैले अन्तिम समयसम्म लेखनलाई निरन्तरता दिनुभयो।

पत्रकारहरूका लागि उहाँ अत्यन्त श्रद्धाको पात्र हुनुहुन्थ्यो। वैचारिक प्रसंगमा मतभेद भए पनि निकटता भए पनि सधैं नै जनाताको अधिकारका लागि चिन्तित रहनुहुन्थ्यो। मुलुकको स्थिति कसरी सुधार्ने, विसंगतिहरू कसरी हटाउने भन्ने नै उहाँको मुख्य चिन्ताको विषय थियो। उहाँबाट सम्पूर्ण पत्रकारले लिन सक्ने धेरै कुराहरू छन्।

उहाँको सार्वजनिक जीवन वामपन्थी आन्दोलनबाट भए पनि उहाँ कुनै पार्टीसित सम्बन्धित नभएर स्वतन्त्ररूपमा आफूलाई चिनाउनुभयो। त्यसैले धेरैजसो गुण र दोषको आधारमा व्यक्ति र घटनाक्रमहरूको मूल्यांकन उहाँले गर्नुहुन्थ्यो। पञ्चायतको कालरात्रिमा उहाँले अनेक कठोर संघर्ष बेहोर्नुपर्यो, पत्रपत्रिका प्रतिबन्धित भए, उहाँमाथि कारबाही भयो। उहाँले आफ्नो निष्ठाप्रति कसैसँग सम्झौता नगरीकन आफ्नो यात्रालाई जारी राख्नुभयो।

साधनस्रोत र प्रेस स्वतन्त्रता नभएको अवस्थामा पनि पत्रकारिता गर्न सकिँदो रहेछ भन्ने पाठ सिकाउनुभयो। अहिले साधन स्रोत र प्रेस स्वतन्त्रता भएको अवस्थामा पत्रकारहरूले आफ्नो जिम्मेवारी भूमिका कसरी निभाउने भन्ने एउटा आधार र मापदण्ड बनाउनुभयो। त्यसैले उहाँ हाम्रा लागि प्रेरणाको स्रोत मात्र होइन मार्गदर्शक पनि हो।

 

प्रतिक्रिया दिनुहोस्