पूर्वीय दर्शनका व्याख्याकारको अवसान



दुप्रसाद भट्ट, काठमाडौं ।

आठ दशक वैवाहिक जीवन तथा साढे नौ दशक लामो साहित्यिक तथा पत्रकारिता जीवनको इतिहास बोकेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षितले यस धर्तीबाट बिदा लिनुभएको छ। दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार दुःखद निधन भएको हो।
दुई वर्षको उमेरमै वाल्मीकि रामायणको प्रथम सर्गमा रहेको श्लोक पूरै भनेर आफ्नो विलक्षण प्रतिभा देखाइसकेका दीक्षित आज हामीमाझ हुनुहुन्न। अरूको दुःखलाई आफ्नो दुःख ठान्ने उहा हुने बिरुवाको चिल्लो पात हुनुहुन्थ्यो। बाबा लक्ष्मणमणि दीक्षित आचार्य र आमा विष्णुकुमारी दीक्षितका पुत्ररत्न मदनमणि दीक्षितको अन्तिम बोली अब सुन्न पाइने छैन।

शुरूआती शिक्षा घरबाटै गर्नुभएका दीक्षितले भूमिसूक्त, माधवी, हिन्दू संस्कृतिको परिशीलन, ऋग्वैदिक नारी चरित्र, माधवी, ऋग्वेद र केही प्रमुख सूक्त, ग्यास च्याम्बरको मृत्युलगायतका कृति प्रकाशित छन्। माधवीका लागि उहाँले मदन पुरस्कार र साझा पुरस्कार प्राप्त गर्नुभएको थियो। पूर्वीय दर्शनका व्याख्याकारका रूपमा परिचित उहाँले आफ्नो जीवनकालमा ७० भन्दा बढी मानसम्मान तथा पुरस्कार पाउनुभएको थियो। स्नातकोत्तरसम्मको पढाइ वनारसबाट पूरा गर्नुभएका उहाँ साढे दुई वर्ष शिक्षण पेसामा आबद्ध हुनुभएको थियो। उहाँले वीरगन्जको त्रिजुद्ध हाइस्कुलमा प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो।


२०१३ सालमा दैनिक हालखबर पत्रिकाको प्रधानसम्पादक बन्नुभयो भने २०१५ सालमा आफ्नै सम्पादन प्रकाशनमा समीक्षा साप्ताहिक शुरु गर्नुभयो। पञ्चायत कालमा वाक् स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएको उक्त साप्ताहिक २०४६ सालको परिवर्तनपछि २०५२ सालमा बन्द भयो। तर उहाँको कलम रोकिएन।

२०१९ सालमा रूपरेखामा कथा प्रकाशन गरेर उहाँले साहित्यमा हात हाल्नुभएको थियो। फोटोग्राफीमा विशेष रुची राख्ने उहाँका केही तस्वीरहरू तात्कालीक परिवेशको साक्षी बनेका थिए। २००७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको उहाँले २०१३ देखि २०४१ सालसम्म राजनीति पनि गर्नुभएको थियो। तर उहाँको मूल कर्म भने साहित्य र पत्रकारिता नै रयो। उहाँ २०५० सालमा प्रज्ञाप्रतिष्ठानको उपकुलपति पनि बन्नुभएको थियो।

४६ वटा कृतिका धनी उहाँले केही समय पहिले भीमनिधि तिवारीको ‘असी गजल’ पढेको स्मरण गर्नुभएको थियो। भूमिका लेखकहरूले अनुमोदन गरेको पहिलो व्यक्ति आफू नै भएको उहाँ बताउनुहुन्थ्यो। उहाँले सबै कुरा कमाए पनि पैसाचाहिँ कमाउन नसकेको बताउनुभएको थियो। नेपाली साहित्यमा केही गर्न खोजेको वा नसकेको केही कुरा के होला भन्ने प्रश्नमा उहाँले केही गर्न सकिनँ भन्ने कुरा धेरै भएको बताउनुभएको थियो भने आफ्नो उपलब्धि भनेका ४६ वटा कृति भएको उहाँले बताउनुभएको थियो।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी कालिकास्थान निवासमा ल्याइएको थियो। निवासमै शौचालय जाँदा बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। दीक्षित मुटु, मृगौला र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।

उहाँको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको तथा नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्यसेवी गुमाएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै उहाँको दुःखद निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

बिहीबार बिहान निधन भएका साहित्यकार मदनमणि दीक्षितको दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको थियो। उहाँलाई नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो। दीक्षितका जेष्ठ सुपुत्र विनोदले दागबत्ती दिनुभएको थियो।
उहाँप्रति श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत आर्यघाट जानुभएको थियो। यसअघि उहाँको शव श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित निवासमा राखिएको थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ साहित्यसाधक तथा साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ। स्व. दीक्षितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकूल परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

यसअघि निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ। बिहीबार बिहान ट्विट गर्दै ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्