विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर २ घाइते



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित फापरखेतमा बिहीबार विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर दुईजना गम्भीर घाइते भएका छन् । काठको पोल विस्थापित गरी फलामको पोल गाड्ने क्रममा नाङ्गो तारलाई पोलले छोएपछि करेन्ट लागेको हो ।
करेन्ट लागेर फापरखेतका ३६ वर्षीय दधिलाल अधिकारी र ५६ वर्षीय भवदत्त अधिकारी गम्भीर घाइते भएको उहाँका भाई रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पोल गाड्ने क्रममा ६ जनालाई करेन्ट लागेपनि ४ जना सामान्य घाइते र २ जना गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर घाइते भएका अधिकारीद्वयलाई तत्कालै बेनी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ । अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको र मुटुको चाल, श्वासप्रश्वास, ब्लडको रिपोर्ट सबै ठीक रहेको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर मनु विश्वकर्माले जानकारी दिनुभयो ।

गम्भीर घाइते दुई जनामध्ये दधिलाल अधिकारीलाई विद्युतको करेन्टले बढी चोटपटक लागेको देखिएको डा. विश्वकर्माको भनाइ छ । बढी चोटपटक देखिएको दधिलाललाई अस्पतालको इमरजेन्सी कक्षको ऋबचमष्बअ ःयलष्तभच मा राखी स्वास्थ्यकर्मीको निगरानीमा उपचार भैरहेको उहाँले बताउनुभयो ।

विद्युतको पोल गाड्ने जिम्मा लिएको ठेकेदार र विद्युत प्राधिकरणको लापरवाहीका कारणले गर्दा करेन्ट लागेको अधिकारी परिवारले गुनासो गरेका छन् । सिङ्गास्थित फापरखेत र तातोपानी क्षेत्रमा रहेका काठका पोलहरु परिवर्तन गरी फलामका पोल गाड्ने बेनी नगरपालिका तथा वडा कार्यालय र एबिसी तार जडान गर्नका लागि विद्युत कार्यालयमार्फत काम सुरु गरिएको छ ।

यता सोही विषयमा बुझ्दा नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीका प्रमुख इन्जिनियर नेत्रमणि न्यौपानेले भने पोल परिवर्तनबारे कार्यालयमा जानकारी नदिँदा घटना भएको बताउनुभयो । उहाँले तातोपानी क्षेत्रमा रहेका काठका पोलहरु परिवर्तन गर्ने भने पनि विद्युत कार्यालयसँग आवश्यक समन्वय समेत नगरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्