बालविवाह अन्त्य गर्न ५ वर्षे राष्ट्रिय योजना सार्वजनिक



आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ ।

इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँचवर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बाल विवाह र योनिच्छेदनको यो समस्या अन्त्य गर्न पाँच वर्षभित्र करिब ९ करोड ३० लाख अमेरिकी डलर खर्च हुनेछ । यस योजनामा खासगरी व्यापक प्रचारप्रसार गर्ने, नीतिगत सुधार गर्ने, सेवा केन्द्रहरुको स्थापना गर्ने तथा घटनाको तथ्याँक सङ्कलन गर्ने कार्यक्रम राखिएको छ ।

इथियोपियाली समुदायमा बाल विवाह र महिलाको योनीच्छेदनलाई प्रमुख दुई समस्याका रुपमा पहिचान गरिएको छ । स्वास्थ्य र सामाजिक आर्थिक प्रभावका कारण पनि यी दुई समस्या समाजमा रहेको विश्वास गरिन्छ ।

नयाँ घोषणा गरिएको मार्गचित्रलाई सरकारका विभिन्न निकायबीचको सहकार्यबाट सञ्चालन गरिनेछ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्रालयले स्वास्थ्य, शिक्षा, अर्थ, श्रम र सामाजिक कल्याणका साथै अरु दातृ निकायसँग सहकार्य गर्दैछ ।

संयुक्तराष्ट्र बालकोष ९युनिसेफ० का अनुसार इथियोपियामा हरेक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

अफ्रिकामै बाल विवाहको दरमा पछिल्ला वर्षहरुमा निकै घटेको छ । एक तथ्याँक अनुसार सन् १९९० मा ४४ प्रतिशत बाल विवाह रहेकामा सन् २०१५ मा त्यो घटेर ३४ प्रतिशतमा आइपुगेको छ ।

युनिसेफले बाल विवाहको न्यूनीकरणका क्षेत्रमा इथियोपियाले गरेको कार्य प्रशंसनीय रहेको जनाएको छ । युनिसेफले बाल विवाह न्यूनीकरणमा अझ बढी सहकार्य, बजेट विनियोजन, जवाफदेही संयन्त्र तथा तथ्याँकको उपलब्धतामा जोड दिएको छ ।

युनिसेफले बाल विवाह र महिलाको योनीच्छेदन अन्त्य गर्नेसम्बन्धी राष्ट्रिय एलायन्सको स्थापना अर्को महत्वपूर्ण कदम रहेको जनाएको छ ।

अफ्रिकामा अहिलेकै बाल विवाहको दर कायम रहे अफ्रिकामा विवाहित बालिकाको संख्या आगामी सन् २०५० सम्ममा हालको १२ करोड ५० लाखबाट ३१ करोड पुग्ने युनिसेफको अनुमान छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्