धेरै कर तिर्नेमा मदिराजन्य पहिलो, सहकारी दोश्रो



मोतीराम तिमल्सिना, काभ्रे ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलमा संकलन भएको २ अर्व ३५ करोड राजश्व मध्ये २१ प्रतिशत राजश्व मदिराजन्य शिर्षकबाट संकलन भएको छ । मदिराजन्य पछि धेरै कर तिर्नेमा सहकारीहरु देखिएका छन् ।

मदिराजन्य शिर्षकमा आय कर बापत ८८ लाख ७२ हजार ७ सय ५३, घर भाडा बापत २ लाख ६८ हजार ६ सय ६७ संकलन भएको छ । मुल्य अभिबृद्धी कर बापत ६ करोड ७३ लाख ८० हजार ४ सय १, अन्त शुल्क बापत जम्मा २९ करोड ९० लाख ६० हजार ६ सय ९८ रुपैया जम्मा भएको छ । राजश्व संकलनमा विशेष योगदान पु¥याएको मदिराजन्य क्षेत्रलाई अझै कडाई गर्ने हो भने करोडौ रकम संकलन हुने ब्यवसायीहरुले बताएका छन् । कर क्षेत्र भन्दा बाहिर रहेर अझै केहि ब्यवसायीहरुले खरिद विक्री गरिरहेका छन् ।

मदिराजन्य पछि कर धेरै तिर्नेमा सहकारी क्षेत्र छ । सहकारी क्षेत्रको १४ प्रतिशत योगदान रहेको छ । सहकारीहरुले आय कर बापत ८ करोड १७ लाख ७३ हजार २ सय ८५ रुपैया तिरेका छन् भने घर भाडा बापत १५ लाख ८६ हजार रुपैया संकलन भएको छ ।

स्थानीय सरकारले घर भाडा बापत कर लिने भए पनि स्थानीय सरकारले लिनु भन्दा पहिलाको बाँकी घर भाडा बापतको कर राजश्व कार्यालयमा दाखिला भएको थियो । सहकारीमा ब्याज बापत ११ करोड ३७ लाख ७ सय २६ रुपैया जम्मा भएको छ । मुल्य अभिबृद्धी कर बापत ७ लाख २९ हजार ९ सय ३३ रुपैया कर बुझाएका छन् । सहकारी क्षेत्रबाट विभिन्न शिर्षक बापत १९ करोड ७७ लाख ९७ हजार १ सय रुपैया कर दाखिला भएको छ ।

सहकारीकै हाराहारीमा ब्यापारी क्षेत्रबाट १३ प्रतिशत कर दाखिला गरिएको छ । ७ करोड ७७ लाख ८० हजार ९ सय ७८ रुपैया आय कर बापत जम्मा भएको छ भने ३४ लाख ३२ हजार ६ सय ९३ रुपैया घर भाडा बापत जम्मा गरेको ब्यापारीक क्षेत्रले ब्याज बापत १० हजार ३ सय ५७ रुपैया, मुल्य अभिबृद्धी कर बापत १० करोड २३ लाख ६६ हजार २ सय १८ रुपैया, अन्त शुल्क बापत ३६ लाख ५३ हजार ४ सय ३० रुपैया समेत गरी १८ करोड ७२ लाख ४३ हजार ६ सय ७५ रुपैया कर दाखिला गरेको छ ।

‘विभिन्न शिर्षक मध्ये मदिराजन्य शिर्षकमा धेरै संकलन भएको छ’–आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख डम्मरु प्रसाद पराजुलीले बताए । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको कर धुलिखेलमा रहेको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने गरेको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलमा आर्थिक वर्ष २०७५÷२०७६ मा २ अर्ब ३५ करोड राजश्व संकलन भयो । संकलित करमा मदिराजन्य क्षेत्रबाट २१, सहकारी क्षेत्रबाट १४, ब्यापारीक क्षेत्रबाट १३, लघुवित्त संस्था, निर्माण सेवा र रोडा ढुंगा तथा क्रसरबाछ ९÷९, होटल क्षेत्रबाट ६, ठेक्कापट्टा र अन्य क्षेत्रबाट ५÷५, उद्योगबाट ४, प्रेट्रोलियम पदार्थ सहितको क्षेत्रबाट ३ र अस्पताल क्षेत्र, इट्टा उद्योग र शिक्षा क्षेत्रबाट १÷१ प्रतिशत कर रकम दाखिला भएको छ ।

लघुवित्त संस्था, निर्माण सेवा र रोडा ढुंगा तथा क्रसरले राजश्वमा बराबरी प्रतिशत रकम दाखिला गरेका छन् । तीनवटै क्षेत्रबाट ९÷९ प्रतिशत राजश्ज दाखिला भएको आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ ।

लघु बित्त संस्थाहरुबाट १२ करोड ८७ लाख ९४ हजार, निर्माण सेवाबाट १२ करोड ७४ लाख ८० हजार र रोडा, ढुंगा, खानी तथा क्रसरबाट १२ करोड ३२ लाख २१ हजार रुपैया रकम करमा दाखिला भएको छ ।

होटेल क्षेत्रबाट ६ प्रतिशत राजश्व दाखिला भएको छ । ७ करोड ९६ लाख ६७ हजार ५ सय ६२ रुपैया उक्त क्षेत्रबाट करमा दाखिला भएको छ । ठेक्कापट्टा र अन्य क्षेत्रबाट ५/५ प्रतिशत रकम करमा दाखिला भएको छ । ठेक्कापट्टाबाट ६ करोड ४७ लाख ७२ हजार ६ सय ४९ रुपैया र अन्य क्षेत्रबाट ७ करोड ५ लाख ९० हजार २ सय ३७ रुपैया दाखिला भएको छ ।

उद्योगबाट ४ प्रतिशत कर दाखिला भएको छ । ६ करोड १६ लाख ३२ हजार ६ सय ९५ रुपैया कर दाखिला भएको छ । तेल क्षेत्र बापत ३ करोड ७६ लाख ६३ हजार ७ सय ६७ रुपैया दाखिला भएको छ । उक्त क्षेत्रले संकलन भएको करमा ३ प्रतिशत योगदान गरेको छ । अस्पताल क्षेत्र, इट्टा उद्योग र शिक्षा क्षेत्रबाट संकलित करमा १÷१ प्रतिशत योगदान रहेको छ । अस्पताल क्षेत्रको १ करोड ६२ लाख ६८ हजार ४ सय ३९, ईट्टा उद्योग बापत १ करोड ८ लाख ८३ हजार ९ सय ५२ रुपैया र शिक्षा क्षेत्रबाट १ करोड ३५ लाख ४९ हजार ९ सय ८७ रुपैया रकम करमा दाखिला भएको छ ।

सेवा लिने थपिए

आन्तरिक राजश्व कार्यालय धुलिखेलमा सरकारले पान अनिवार्य गरेपछि सेवा लिनेहरुको भिड लागेका छ । बजेट प्रस्तुत गरे देखि निरन्तर पान नम्वर लिनेहरु बढेका छन् । कार्यालयमा २०७६ जेष्ठ १६ बाट साउन २५ सम्म ७ हजार २ सय ५ जना सेवाग्रही थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्