तामाकोसी तेस्रोको क्षमता नघटाएको ऊर्जामन्त्रीको दाबी



चिरञ्जीवी मास्के, काठमाडौँ ।
तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ६५० मेगावाटबाट घटाउने गरी कसैसँग सम्झौता नभएको ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले बताउनु भएको छ।

आयोजनास्थल रहेको दोलखाका सांसद पार्वत गुरुङको समन्वय तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना सरोकार समिति दोलखाका संयोजक शिवप्रसाद भण्डारीको नेतृत्वमा मन्त्रालय पुगेको टोलीसँग मन्त्री पुनले सो कुरा बताएका हुन् । उहाँले ऊर्जा मन्त्रालयले टीबीआई होल्डिङसँग क्षमता घटाएर २ सय मेगावाट कायम गर्न गोप्य रुपमा सम्झौता गरेको कुरामा कुनै सत्यता नभएको दाबी गर्नु भयो।

तामाकोसी तेस्रो जलविद्युत् आयोजना सरोकार समिति दोलखाका संयोजक शिवप्रसाद भण्डारी, संघीय सांसद पार्वत गुरुङ, पूर्वपर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाईलगायतले टीबीआई होल्डिङको लाइसेन्स खारेज गरी ६५० मेगावाटमै निर्माण गर्नको लागि विद्युत विकास बोर्डले नेतृत्व लिनुपर्ने बताउनु भएको थियो। जवाफमा मन्त्री पुनले तामाकोसी तेस्रो आयोजना तत्कालको लागि ६५० मेगावाटमा निर्माण गर्न सम्भव नहुने भएकाले क्षमता घटाउन आग्रह गर्दै टीबीआई होल्डिङले निवेदन दिएको तर मन्त्रालयले क्षमता घटाएर निर्माण गर्ने अनुमति नदिएको बताउनु भएको थियो।

छलफलको लागि संयोजक शिवप्रसाद भण्डारी, सांसद पार्वत गुरुङ, पूर्वपर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, संघीय सांसद शान्ति पाख्रिन, पुर्व राज्यमन्त्री तथा नेकपा दोलखाको संयोजक देवी खड्का, प्रदेश सांसद तथा नेकपा दोलखाको सहसंयोजक रचना खड्का, प्रदेश सांसद सरस्वती बस्नेत, नेकपा दोलखाको अध्यक्ष एवं तामाकोसी गाँउपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेकपा दोलखाको सचिव गोपाल पाण्डेलगायत ऊर्जा मन्त्रालय पुग्नु भएको थियो।

गत साउन ८ गते ऊर्जामन्त्री वर्षमान पुनकै उपस्थितिमा ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ४५० मेगावाट घटाएर २ सय मेगावाटमा टिबीआइ होल्डिङसंँग सम्झौता भएको खबर बाहिरिएको थियो। जलविद्युत् निर्माणमा अन्तर्राष्ट्रियस्तरमा नै ख्याती प्राप्त कम्पनी नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा लामो समयको अध्ययनपछि अधिकतम १३२० मेगावाट उत्पादन गर्न सकिने भन्दै ८८० मेगावाट हुँदै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गरेको थियो।

यस्तो आयोजनालाई सरकारले अगाडि बढाउनुको सट्टा २ वर्ष यता क्षमता घटाउँदै सर्वेक्षणको नाममा टीबीआई होल्डिङ कम्पनीलाई दिएर ठाउँ ओगट्ने वातावरण बनाई दिएको स्थानीयको आरोप छ। टीबीआई होल्डिङले काठमाडौंमै बसेर चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्ष्टिच्युट कर्पोरेसनसँग जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्कमा २ सय मेगावाट क्षमतामा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० तयार गर्ने सम्झौता गरेको थियो।

माथिल्लो तामाकोशी ५ करोड घाटामा
आर्थिक वर्ष २०७५/०७६ सम्ममा अपर तामाकोसी हाइड्रोपावर कम्पनी ५ करोड ३९ लाख ४० हजार रुपियाँ घाटामा रहेको छ। अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ। अघिल्लो आवमा कम्पनी १० करोड २९ लाख ६९ हजार घाटामा रहेको थियो। कम्पनीको जगेडा कोष ६४ करोड ५ लाख २५ हजार ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ दशमलव ९५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्