मलेसियामा हराइरहेकी किशोरीको शव सनाखत



क्वालालम्पुर,(एजेन्सी)
मलेसियामा हालै फेला परेको नोरा कोइरिनको शवलाई उनका अभिभावकले सनाखत गरेका छन्। मानसिक र शारीरिकरूपमा अलि अशक्त ती किशोरी गत ४ अगस्टमा आफ्नो परिवारसँग बिदा मनाउने क्रममा डुसुम रिसोर्टको कोठाबाटै वेपत्ता भएकी थिइन्।

वेलायतको राजधानी लन्डन निवासी ती पन्ध्र वर्षीया किशोरीका अभिभावकले मंगलबार खोजी टोलीले फेला पारेको शव आफ्नै छोरीको भएको दाबी गरेका छन् । बुधबार शवको पोष्टमार्टम गरिने भएको छ। सो रिसोर्ट नजिकको घना जंगलमा आइरिस – फ्रेन्च मूलका नोराको खोजीका लागि करिब ३ सय ५० जना मानिस खटिएका थिए। मलेसियाका लागि बीबीसीका पत्रकार होवार्ड जोहन्सनले उनको लाश डुसुनदेखि करिब दुई किलोमिटर मात्र पर भेटिएको बताएका छन् ।

मलेसियाको उप प्रहरी प्रमुख माज्लान मानसोरले नोरालाई एउटा खोल्सा नजिक नाँगो अवस्थामा फेला पारिएको पत्रकारहरुलाई जानकारी दिएका छन्। मलेसियाली सरकारी अधिकारीहरूले उनी आफै हराएको हुनुपर्ने बताउँदै आए पनि उनका अविभावकहरुले भने उनको अपहरण भएको हुनुपर्ने दाबी गरिरहेका छन् ।

जन्मिँदै मस्तिष्क विकास रोकिने रोग होलोप्रोसेन्सेफाली रोगग्रस्त नोराको मृत्युको कारण अझै खुल्न सकेको छैन । विगत २० वर्षदेखि लन्डनमा बसोबास गर्दै आएका आइरिस तथा फ्रेन्च दम्पती सेवासियन र मिभले सोमवार आफ्ना छोरी फेला पार्न मद्धत गर्नेलाई १० हजार पाउन्ड इनाम दिने घोषणा गरेका थिए ।

दश दिन लामो खोजिकार्यके दौरान भएको खर्च टार्नका लागि तिनीहरुका आफन्तहरुले खडा गरेको सहयोग कोषमा १ लाख १० हजार पाउन्ड भन्दा बढी जम्मा भएको थियो । यस अघि नै अनुसन्धानकर्ताहरुले यस घटनामा आपराधिक तत्वको हात हुनसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्