आर्थिक अभावले उपचारमा समस्या



नेपाल समाचारपत्र, जाजरकोट

जाजरकोट कुसे गाउँपालिका ३ घर भई हाल कुसे गाउँपालिका–५ पाँचकाटियामा सानो होटल व्यवसायी गर्दै परिवारको पालनपोषण गर्दै आएका रामचन्द्र शर्माका १५ वर्षीय छोरा निराज शर्माको ब्लड क्यान्सर भएको छ।

पशुपति माध्यामकि विद्यालय दम्दालामा कक्षा १० मा अध्ययनरत निराज शर्मा केही दिन अगाडि बिरामी भएका थिए। बिरामी भएपछि उपचारका लागि पश्चिम रुकुमको चौरजाहारी अस्पतालमा उपचारका लागि लगिएको थियो। बिरामीको अवस्था जटिल देखेपछि चौरजहारी अस्पतालले वीर अस्पताल काठमाडौं रिफर गरेको बुवा रामचन्द्र शर्माले बताउनुभयो।

वीर अस्पतालले स्वास्थ्य परीक्षण गरेपछि उनलाई ब्लड क्यान्सर भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो। भक्तपुर क्यान्सर अस्पतालले रगत परीक्षणका लागि भारतको नयाँ दिल्ली पठाएको थियो। नयाँ दिल्लीमा गरिएको रगत परीक्षणपछि ब्लड क्यान्सर भएको पुष्टि गरेको उपचारमा संलग्न डा। अजयकुमार झाले बताउनुभयो।

एएलएलको चरणमा पुगेको ब्लड क्यान्सरको उपचार ३ वर्षसम्म गर्नुपर्ने डाक्टरको भनाइ रहेको छ। बिरामीको अवस्था हेरी छ महिनासम्म इमो चढाएर उपचार गरेपछि स्वस्थ्यमा सुधार आउने र नियामित रुपमा ३ वर्षसम्म औषधि खाए सन्चो हुने उपचारमा संलग्न डाक्टर अजय कुमार झा र डाक्टर सुष्मा गुरुङले बुवा रामचन्द्रलाई सल्लाह दिएका छन्।

ईमो चढाएर गरिने उपचारमा औषधिको दैनिक पचास हजारबराबर रुपियाँ खर्च लाग्ने बुवा रामचन्द्र शर्माले बताउनुभयो। ईमो चढाउनका लागि प्रयोग गर्न सस्तो अस्पतालको वेड प्रयोग गर्न पनि दैनिक ३५ सय रुपियाँ लाग्ने उहाँले बताउनुभयो।
आर्थिक अवस्था कमजोरलगायत विपन्न परिवारमा जन्मिएका निराजको उपचारमा दैनिक ५० हजार खर्च हुने हो भने ३ वर्षसम्म ४० लाखभन्दा बढी उपचारमा खर्च हुने अनुमान गरेको बुवा रामचन्द्र शर्माले बताउनुभयो।

घरकोे एक मात्र छोरा निराजको उपचारमा ४० लाख रुपियाँ जुटाउन फलामको चिउरा जस्तै भएको बुवा रामचन्द्र शर्माले बताउनुभयो। खर्च जुटाउन सकिँदैन भनेर उपचार नगरौं भन्न पनि नहुने घरको एक मात्र छोरा यसकै मुख हेरेर बसेका छौं अनेकौं जीवनका सपना देख्ने गरेका छांै, उपचारमा लाग्ने खर्च जुटाउन सक्ने अवस्था छैन नत कसैले ऋण दिन्छन् नत यत्रो सम्पत्ति घरमा छ, कसरी छोराको उपचार गरौं उहाँले भन्नुभयो।

आर्थिक अवस्था कमजोर भएकाले यत्रो मोटो रकम आफूसँग नभएकाले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार, समाजसेवामा संलग्न संघसंस्थालगायत समाजसेवीलाई छोराको उपचारमा लाग्ने खर्च सहयोग गरी नयाँ जीवन दिन सबैसँग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्