पर्यटकीय गन्तव्य बन्दै नागदह



धापाखेल नाउँ सुन्नेबित्तिकै अक्सर मानिसको मनमस्तिष्कमा आउने चित्र भनेको नागदह हो। यस नागदहलाई पूर्वाधार बनाई पर्यटकीय आकर्षक गन्तव्य बनाउने उद्देश्यलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ।

ललितपुर महानगरपालिका–२४ ले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस नागदहको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। साविकको धापाखेल गाविसलाई स्थानीय तहको पुनर्संरचना गर्दा महानगरपालिकामा गाभिएको हो।

नागदहको गहिराइ समग्र २५ फिट भए पनि बीच भागमा ४१ फिट रहेको छ। दहको चौडाइ ९ सय ३७ मिटर रहेको छ। ललितपुर जिल्लाको सदरमुकाम लगनखेलबाट करिब ५ किमि दक्षिणतर्पm धापाखेलमा रहेको नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह हो। परापूर्वकालमा तालका रूपमा रहेको काठमाडौंको पानी चोभारको गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महŒव रहेको छ। वासुकी नागको निवास मानिएको नागदहमा नागपञ्चमी तथा भाद्र शुक्ल पञ्चमीका दिन ठूलो मेला लाग्ने गरेको छ।
वडाले पर्यटन विकासतर्फ नागपञ्चमीको अवसरमा हुने मेला व्यवस्थित गरिने पनि चालू आथिक वर्षको कार्यक्रममा राखेको छ।

 

‘प्राकृतिक पर्यावरणीय क्षेत्रको गरिमा जोगाइराख्नु हामी सबैको दायित्व हो’, वडाध्यक्ष दिनेश कार्कीले भन्नुभयो– ‘यसै कारण नागदहको दिगो विकास एवं पर्यावरणीय सन्तुलन कायम राख्न बृहत्तर गुरुयोजनासहित काम अगाडि बढाएका छौं।’ आगामी दिनमा नागदहलाई केन्द्रमा राखेर वासुकी, आँखीदह, गौखुरेश्वर महादेव, सप्तऋषि मन्दिर, नौलिङ्गेश्वर महादेव मन्दिरसहितका सबै क्षेत्रको विकासलाई अगाडि बढाउने योजना रहेको पनि कार्कीले बताउनुभयो।

आदिकालमा काठमाडौं उपत्यकाका तीन शहर जलमय भइरहेका बेलामा मञ्जुश्रीले तान्त्रिक विधिबाट छेदन गरी चोभारबाट पानी बाहिर पठाएको किम्बदन्ती छ। त्यसरी पानी बाहिर पठाउँदा नागराजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहाससम्बन्धी पुस्तकहरूमा उल्लेख छ। यस दहमा वासुकी नाग विराजमान भएकाले नागपञ्चमी र ऋषि पञ्चमीका दिन मेला लाग्ने गरेको छ। नागदहलाई आकर्षक पर्यटकीय पूर्वाधार बनाउन वडास्तरीय योजनामार्फत प्राथमिकतामा राखेको पनि अध्यक्ष कार्कीले बताउनुभयो।

 

त्यसै गरी वडाले डानीको डोलमा रोज पार्क निर्माणका लागि ५० लाख रुपियाँ महानगरपालिकासमक्ष माग गरिएको उल्लेख गर्दै वडाध्यक्ष कार्कीले भन्नुभयो– ‘महागरपालिकाबाट रकम उपलब्ध नगराइए विभिन्न संघसंस्थाको सहयोगमा पार्क निर्माण गरिनेछ।’ तेस्रो तहको वर्गीकरणमा परेको यस वडालाई चालू आर्थिक वर्षका लागि २ करोड ७५ लाख विनियोजित गरेको छ।

 

यस वडाले सडकको पूर्वाधार निर्माण र स्तरोन्नति, रोजगारीको अवसर, पर्यटकीय विकास, सुशासन, वातावरण र सामाजिक विकासलाई प्राथमिकतामा राखेको वडाध्यक्ष दिनेश कार्कीले जानकारी दिनुभयो।

 

त्यसै गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अभिवृद्धिका लागि सातामा एक दिन एक विद्यार्थी एउटा अण्डा वा एक गिलास दूध खुवाउने कार्यक्रम गर्ने पनि वडाले जनाएको छ।

त्यस्तै खेलकुद विकासका लागि जल्पा माविको पछाडितिर रहेको डोलमा फुटबल मैदान निर्माणका लागि गत आर्थिक वर्षमा वडाबाट ८ लाख रुपियाँको कार्य सम्पन्न गरिएको जानकारी दिइएको छ। त्यसलाई थप व्यवस्थित हुने गरी निर्माण गर्न प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा २५ लाख विनियोजित गरेको छ।

 

त्यसै गरी वातावरण तथा विपद् व्यवस्थापनमा भूक्षय नियन्त्रणलाई जोड दिने, वातावरण प्रदूषण गर्ने नीति अपनाइने कार्यक्रमहरू तय गरिएको छ।

 

लागू औषधविरुद्ध अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई लिपिबद्ध गर्दै जाने पनि वडाले योजना बनाएको छ।

 

त्यस्तै व्यावसायिक सीपमूलक तालिम सञ्चालन गर्ने, खानेपानीको समस्यालाई न्यूनीकरण गर्दै जाने, ढल निकास बनाउने, सिँचाइलाई व्यवस्थित गर्ने, कृषिलाई आधुनिकीकरण गरी व्यावसायीकरणलगायत कार्यक्रम पनि वडाले तय गरेको छ।

 

नागदहमा होमस्टे सञ्चालन गरिने
जनताको उच्च आकांक्षा र सीमित आर्थिक स्रोतको तारतम्य मिलाउन कठिनाइ भइरहेको छ। जनताले अपेक्षा गरेअनुरूप भौतिक विकासका कार्यहरू हुन नसकेको जस्तो देख्नु स्वाभाविक हो, तर क्रमिक विकासको चरणलाई मध्यनजर गरी सकारात्मक सोच र व्यवहारमा गर्नु आजको आवश्यकता हो। यसपटक मानव संशाधन विकासका लागि योजनाबद्ध कार्यको थालनी गरिनेछ। नागदहको धार्मिक तथा पर्यटकीय महŒवलाई थप परिचित गराउन होमस्टे सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ।

दिनेश कार्की
वडाध्यक्ष
ललितपुर महानगरपालिका–२४

प्रतिक्रिया दिनुहोस्