संगिता र संजु बेष्ट लिफ्टर



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा महिला तर्फ बेष्ट लिफ्टरमा सिनियर तर्फ पुलिसकी संगिता राई र जुनियर तर्फ पुलिसकै संजु चौधरी भए । उनीहरुले ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुले १ हजार नगद प्राप्त गरे । काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले बुधबार क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय किर्तिमान कायम गरिन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ किर्तिमान बनाएकी हुन् ।
सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कुलमा १ सय ७० केजीका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरि कुल १ सय १५ केजी भार बहन गरिन् । तेश्रो स्थानमा दाङ्गकी कल्पना चौधरी रहिन् ।

यस्तै ८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय किर्तिमान राखिन् । उनले आठौमा राखेको आफ्नै किर्तिमान तोड्दै स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरि कुल १ सय ४८ केजी भार बहन गर्दै तीनै विधामा किर्तिमान बनाएकी हुन् । यस अघि उनको नाममा ६४, ८२ र कुल १ सय ८६ केजीको कीर्तिमान थियो । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरि कुल १ सय २३ केजीका साथ रजत पाईन् ।

सिनियरकै ८७ केजी तौलमा पुलिसकी बिद्या राईले क्लिन एण्ड जर्कमा ७६ केजीका साथ नयाँ किर्तिमान कायम गरिन् । उनले आफ्नै ७५ केजीको किर्तिमानमा सुधार गरेकी हुन् । ८७ केजी माथीको तौलमा सेनाकी अस्मिता राईले स्नाचमा ५८, क्लिनमा ७० गरि कुल १ सय २८ केजी भारका साथ तीनै विधामा किर्तिमान राखिन् । यस अघि उनले आठौमा ५३ केजी ६८ केजी र कुलमा १२१ केजीको किर्तिमान राखेकी थिईन् ।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश के.सी.ले स्नाचमा १ सय ६ केजी र क्लिन एण्ड जर्कमा १ सय २५ गरि कुल २ सय ३१ भारका साथ तीन बिधामा राष्ट्रिय किर्तिमान बनाए । उनले आठौमा १०३, १२२ र २२५ केजीको किर्तिमान राखेका थिए । बिरगंज युनाईटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घतीमगरले ६०, ७१ र कुल १३१ केजीका साथ कास्य पाए ।
पुरुष ८१ केजी तौलमा पुलिसका विकाश थापाले तीन राष्ट्रिय किर्तिमान राखे । उनले स्नाचमा आफैले आठौमा राखेको १ सय १५ केजीमा ५ केजीले सुधार गर्दै किर्तिमान राखेका हुन् । उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १ सय ३६ केजी भारका साथ किर्तिमान कायम गरे । उनले कुलमा २ सय ५० बाट २ सय ५६ केजीका साथ राष्ट्रिय किर्तिमान राखे । दोश्रो स्थानमा रहेका एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र २३५ केजीका साथ रजत पाए ।

८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय किर्तिमान बनाए । उनले आठौमा राखेको क्लिन एण्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई किर्तिमान राखेका हुन् । कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश बैश्यले स्नाचमा १०५ केजी भारका साथ किर्तिमान बनाए । बैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले ।

प्रतिक्रिया दिनुहोस्