राम्रो नाच्नेलाई माइली तिलहरी



हेटौंडा ।
नेपाल तरुण दल मकवानपुरले हिन्दु नारीको विशेष चाड तीजको अवसर पारेर साँस्कृतिक कार्यक्रमसहित दरखाने भएको छ ।
तरुण दलले तीजको अवसर पारेर भदौ ११ गते दर खुवाउने र राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक अञ्जना उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा दर्शकदीर्घामा रहेर उत्कृष्ट नृत्य प्रस्तुत गर्ने चार सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको दरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले बताउनुभयो । अध्यक्ष पाठकका अनुसार उत्कृष्ट नृत्य गर्नेलाई क्रमशः सुनको माइली तिलहरी, सुनको चन्द्रमा, एक सेट पाउजु र एक सेट झल्ला उपहार दिइनेछ ।

हेटौंडाको पल्पसा हलमा हुने कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहमा खबर गरिसकिएको र आवश्यक तयारी भइरहेको तरुण दल जिल्ला सचिव सचित थापाले बताउनुभयो ।

तीज विशेष तथा दरखाने कार्यक्रममा चर्चित लोकगायक गायिकाहरु पशुपति शर्मा र टीका सानुले लोकदोहोरी तथा तीज गीत गाउनेछन् भने चर्चित हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दरले हास्य प्रस्तुति दिने संयोजक उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्