छ सुत्केरी आमालाई नगर उपप्रमुखको उपहार



किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका वडा नम्बर ७ धापका ६ जना सुत्केरी आमाहरुलाई महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले नगर उपप्रमुखको उपहार कार्यक्रम अन्र्तगत पोषिलो खानाका परिकारहरु कोसेलीको रुपमा हस्तान्त्रण गर्नु भएको छ ।

गर्भवती भए पस्चात गराउनु पर्ने चेकजाच तथा बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएका उनिहरुलाई सुत्केरी महिलालाई नगर उपप्रमुखको उपहार कार्यक्रम अन्र्तगत पोषिलो खानाका परिकारहरु कोसेलीको रुपमा दिइएको हो । वडा नम्बर ७ की निर्मला जोशी, गोविन्दी धामी, मिना धामी, पारवती कोली, लक्ष्मी पाल र पारवती पाललाई कोसेली वितरण गरेको महाकाली नगरपालिका स्वास्थ्य उपसंयोजक लालजिरा भट्टले बताउनुभयो ।

वडा नम्बर ७ धापलाई गत असारमा पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो । महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले सुत्केरी महिलालाई नगर उपप्रमुखको उपहारमा १ किलोग्राम घिऊ, मिक्स दाल १ किलो, चना १ किलो, १० गोटा अण्डा, २ सय ५० ग्रामको १ प्याकेट काजु, १ किलोग्राम आयोडिन नुन र १ मुठो फर्सीको मुन्टा सुत्केरी आमाहरुलाई वितरण गर्नु भएको छ । गर्भवती आमाहरु सुत्केरी भएको ७ दिन भित्रै उपप्रमुखको उपहार वितरण गरिने स्वास्थ्य उपसंयोजक भट्टले जानकारी दिनुभयो । सुत्केरी भएको बेला आमालाई आवश्यक पर्ने पौष्टिक तत्वहरु प्राप्त हुने कुराहरु वितरण गरेको उहाले बताउनुभयो ।

सुत्केरी भएका बेला आमाहरुले खानै पर्ने खाने कुराहरु वितरण गरेर उनिहरुमा पोषिलो खाने कुराहरु खानु पर्दो रैछ भन्ने बानीको विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालनमा ल्याएको उपप्रमुख सुना बोहराले बताउनु भएको छ । सुत्केरी भएको अवस्थामा आमाहरुलाई ११ दिन सम्म पोषिलो खाना सहयोग पुगोस भन्नका लागी पनि कार्यक्रम संचालनमा ल्याएको उहाले बताउनुभयो । नगर उपप्रमुखको उपहार पाए पछि सुत्केरी आमाहरु खुसी भएका छन् । नगरपालिकाले सुत्केरी आमाहरुलाई लक्षित गरि ल्याएको कार्यक्रमको प्रसंसा समेत गरेका छन् । नगरपालिकाले कार्यक्रम संचालनका लागी ६ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रम नगरपालिकाका सबै वडाहरुमा लागु हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्