नेपाल र भारतबीच कार्यान्वयन हुन नसकेका सम्झौता खारेज गर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं  ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौं सम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् ।

‘दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं ।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुवै देशको हित हुने बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए । नेपाल विश्व महाशक्ति या क्षेत्रीय शक्ति पनि नभएको र बन्ने महत्वाकांक्षा पनि नराखेको बताउँदै भने,‘हामी समृद्धिको उद्देश्य बोकेर अगाडि बढ्न चाहन्छौं, त्यसका लागि भारतले उदारताका साथ साथ देओस् ।’ भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने बताए । नेपाल र भारतबीच व्यापार घाटा बढिरहँदा नेपाललाई ठूलो नोक्शानी परिरहँदा भारतबाट नेपालमा उद्दोग संचालनमा लगानी हुन सके घाटाको समस्या समाधान हुने बताए । उनले भने,‘दुवै देशलाई लाभ हुनेगरी विन विनको अवस्थामा जानुपर्छ ।’

नेपाल भारतबीच संस्कृति जनताले जर्गेना गर्दै आएको उल्लेख गर्दै अबका दिनमा आर्थिक सम्बन्ध मजबुत र साझेदारसहितको हुनुपर्नेमा जोड दिए । नेपालमात्र भारतसँग निर्भर नभएर भारत पनि नेपालसँग निर्भर रहेको व्याख्या गर्दै एक अर्काबीचको निर्भरतालाई मनन गरेर आपसी हितमा बढ्नुपर्ने बताए । त्यसका लागि आवश्यक परे विगतका सन्धी सम्झौता परिवर्तन या परिमार्जनको विकल्पमा जोड दिए । दुई देशबीच आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने गरी पूर्वाधार निर्माणले गति लिएको बताए । मोतिहारी अमलेखगञ्ज पाइपलाइन उद्घाटन हुनगइरहेको, हुलाकी राजमार्गको दुईवटा खण्ड उद्घाटन हुनलागेको र वीराटनगर जोगवनी चेकप्वाइन्ट शुरु हुन गइरहेको, आन्तरिक जलमार्ग सुचारु गर्ने तयारी भइरहेको भन्दै आर्थिक सम्बन्ध मजबुत बनाउने दिशातर्फ द्विपक्षीय सम्बन्ध बढेको बताए ।

 

मन्त्री ज्ञवालीले भारतको ७३ औं स्वतन्त्रता दिवसको बधाई दिदै भारत लोकतन्त्रमा पनि सुदृढ र सबल सरकार निर्माण हुन्छ र विकासले गति लिनसक्छ भन्ने उदाहरण भएको बताए । भारतबाट विश्वले सिक्ने विषय रहेको भन्दै उसको आर्थिक वृद्धि र सबल लोकतन्त्रबाट नेपालले पनि सिकिरहेको बताए । भारतको प्रगतिबाट नेपाल खुशी हुने भन्दै भारत पनि नेपालको प्रगतिबाट खुशी भएकोमा धन्यवाद व्यक्त गरे । उनले भने,‘बलियो र समृद्ध नेपाल भारतका लागि लाभदायक हो र भारतले यसलाई आत्मसाथ गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’

 

नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताए । दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए । उनले भने,‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’

वीराटनगर चेकप्वाइन्ट सुचारु हुनगइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए । उनले भने,‘गेम चेन्जर आयोजनाहरु सफल बनाउँदैछौं ।’ दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताए ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जीत हासिल गरेर सँसारको ठूलो लोकतन्त्रमा दोस्रोपटकको चुनावमा झन् ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतीय जनताले सबल र बलियो सरकार निर्माणको म्याण्डेट दिएको बताए । भारतको कुल ग्राहस्थ उत्पादन पाँच हजार अरब पुगेको भन्दै मोदी कार्यकालमा झण्डै दोब्बर प्रगति भएको उल्लेख गरे । मोदी प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमण गरेको र गत वर्ष दुईपटक भ्रमण गरेको भन्दै त्यसले दुई देशको सम्बन्ध सुमधुर भएको बताए । मोदीको भ्रमणले धार्मिकस्थलहरुमा भारतीय पर्यटक बढेको बताए ।

भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको बताए । आतंकवादविरुद्धको लडाईंमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए ।

 

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उल्लेख गरे । वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए । जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिंदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास सुनाए ।

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए । नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्दोगधन्दा खोलिनुपर्नेमा जोड दिए । नेपालको कच्चा पद्धार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउनसक्नुपर्ने बताए ।
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने बताए । सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने बताए । भारतीय पर्यटक बढीभन्दा बढी भित्राउने देखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने औल्याए ।

पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ ।’

दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने,‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ ।’ नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको बताए । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औल्याए ।

नेपालमा भारतले सुरक्षा चासो दिनेगरेको उल्लेख गर्दै नेपालले आफ्नो भूमि भारतविरोधी गतिविधि हुन नदिने सुनिश्चितता गराउनुपर्ने बताए । भारतले पनि नेपालविरुद्ध भारतीय भूमि प्रयोग नहुने सुनिश्चितता गराउनुपर्ने बताए । दुवै देशबीच विश्वासको वातावरण बढ्न सके एक अर्काको हितमा योगदान पुग्ने बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालले भारतको आर्थिक विकासबाट लाभ लिनसक्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपालले अभूतपूर्व प्रगति गर्न सक्ने अवसर बनेको बताए । मोदी नेपाललाई निकै माया गर्ने नेता भएको र छिमेकमा शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित भएकाले नेपाललाई अवसर प्राप्त भएको बताए । धमलाले भारतको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा बधाई शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्