सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या



रामचन्द्र वि.क, रामेछाप । कार्यालय समय भित्र कर्मचारी नहुँदा रामेछापका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सदरमुकाम मन्थलीमा कार्यालय भएका सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन समस्या भएको भन्ने गुनासो आए पछि जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार छड्को अनुगमन गर्दा ४१ जना कर्मचारी नभएको भेटिएको छ । जसको असर प्रत्यक्ष रुपमा सेवा लिन आउने सेवाग्राहीमा परेको छ ।

यस अघि पनि पटक–पटक अनुगमन गरिएको र कार्यालयमा नभेटिएका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीले सचेत गराई नियमित काममा लाग्न निर्देशन दिएको भए पनि प्रजिअको निर्देशनलाई अटेर गर्न थाले पछि स्पष्टीकरण सोधिने र चित्त बुझ्दो जवाफ नआए कारबाहीको लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिने प्रजिअ लिला कुमारी केसी पाण्डेले जानकारी दिनुभयो ।

सर्वसाधारणको काम गर्छु भनेर जिम्मेवारी लिएर आए पछि कसैलाई पनि विभिन्न बहानामा छुट नहुने भन्दै जनताको काम नगर्ने र दिएको निर्देशनलाई नमान्ने कर्मचारीलाई कारबाही हुने प्रजिअ केसी पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कार्यालय समयमा लगाउने पोसाक राज्यले नै उपलब्ध गराएको हुन्छ, तर छड्के अनुगमनको क्रममा २२ जना कर्मचारीहरु कार्यालय पोसाक नै नलगाइ कार्यालयमा आएको भेटियो यो पनि गलत हो ।’

त्यसैगरी ३९ जना कर्मचारी परिचय पत्र समेत नलगाइएको अवस्थामा भेटिको उनिहरुलाई पनि कारबाहीको लागि सिफारिस गरिने पनि उहाँले बताउनुभयो । यसरी एउटै कार्यालयका कर्मचारी पटक–पटक कार्यालयमा नहुनु उनिहरुको मात्रै दोष नभई कार्यालय प्रमुखको नै मुख्य दोष रहेकाले कार्यालय प्रमुखले नै यसको जिम्मेवारी लिनु पर्ने पनि प्रजिअ केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्