दुर्घटनामा आमा गुमाएका बालकलाई क्यान्सर



मोतीराम तिमल्सिना, काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर १ गोकुले घर भई ललितपुरको इमाडोलमा बस्दै आएका १५ बर्षिय बालक नवाङ मोक्तानको ब्लड क्यान्सर पछि उपचारमा आर्थिक अभाव भएको भन्दै नवाङ मोक्तान बचाउन समिति गठन गरिएको छ ।

स्थानीय विछोड जिम्बाको संयोजकत्वमा गठित समितिमा ११ जना सदस्य रहेका छन् । सदस्य सचिवका रुपमा भिम जिम्मा रहनु भएको छ । समितिले संकलन गरेको रकम कृषि विकास बैकको चल्ति हिसाव नम्वर ०२–१२६–१२६–०१४८७२१९–०१–४ मा जम्मा गरी नवाङका बाबु ज्ञानबहादुर मोक्तानलाई हस्तान्तरण गर्नेछन् । खाता खोलेकै दिन समिति मार्फत १ लाख ७० हजार रकम जम्मा गरिएको छ । नवाङको उपचारमा ३÷४ लाख रुपैया खर्च भईसकेको छ भने १५ लाख भन्दा धेरै खर्च हुने बाबु ज्ञानबहादुर मोक्तानले बताउनु भयो । बनेपामा पत्रकार सम्मेलन गरी नवाङको अवस्थाका बारेमा जानकारी गराईएको थियो ।

कक्षा १०मा अध्ययनरत नवाङको आमाको दुई वर्ष अघि महाभारत जाँदै गरेको सवारी साधन दुर्घटना हुँदा निधन भएको थियो । दुई सन्तान मध्ये नवाङ जेठो हुन् । बाबु ज्ञानबहादुर काठमाडौमै मिनि ट्रक चलाउँदै आएका छन् । मजदुरी गरिरहेका ज्ञानबहादुरले छोरालाई बचाउन आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले एक महिनाको तलब हस्तान्तरण गरे भने वडा अध्यक्ष मिनबहादुरले २० हजार सहयोग गरे भने महाभारत कन्ट्रक्सनको तर्फबाट सुजन लामा/तस्विर मोक्तानले ३५ हजार सहयोग गरेका थिए । कर्मचारी, शिक्षक तथा स्थानीयहरुले पनि नवाङकोे उपचारका लागि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्