नेकपा एकता पक्रिया लम्बियोः छुट्टाछुट्टै परामर्श दुई अध्यक्ष



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा पार्टी स्कुल विभागको नेतृत्वको सकस झन जेलिएको छ ।

सहमतिको समय लम्बिदै जाँदा विभाग प्रमुख बन्न चाहना राख्ने नेताहरुको संख्या पनि बढ्दै गएपछि दुई अध्यक्षलाई निर्णय लिन कठिन भएको हो।

३३ विभागमध्ये अरु विभागमा मोटामोटी सहमति भएता पनि स्कुल विभागको नेतृत्वमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया लम्बिएको छ।

सोमबार प्रधानमन्त्रीले सिंगापुरबाट फर्किएलगत्तै दुई अध्यक्ष र मंगलबार दिनभर पार्टीका शीर्ष नेताहरुसँग यही विषयमा छलफल गरेका थिए।

दिउँसो दुई जना अध्यक्षले नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरेर साँझ फेरि छलफल गरेका थिए।

मंगलबार अध्यक्षहरुसँग बेग्लाबेग्लै परामर्श गरेका सचिवालय सदस्यहरुले पनि अब एकता प्रक्रिया धेरै लम्ब्याउन नहुने भन्दै त्यसको निचोड निकाल्ने जिम्मा अध्यक्षहरुले नै लिनुपर्ने सुझाव दिएका छन्।

तर दुई सचिवालय सदस्यहरुमध्ये ईश्वर पोखरेललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्ष प्रचण्डले नै स्कुल विभाग प्रमुख बनाउन चाहेकाले पनि कुरा मिल्न कठिन भएको स्रोतको भनाई छ ।

स्कुल विभाग प्रमुख बन्ने कुरा प्रतिष्ठासँग जोडिदै गएको भन्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पोखरेललाई नै दिन चाहेका छन्।

अर्का अध्यक्ष प्रचण्डले सहमतिका आधारमा श्रेष्ठ बाहेक अरु सचिवालय सदस्यहरुलाई पनि स्कुल विभाग प्रमुख बनाउन सकिने तर पोखरेलका विषयमा भने सोच्नैपर्ने तर्क राखिरहेकाले कुरा मिल्न नमिलिरहेको हो।

तर स्कुल विभाग प्रमुखका आकांक्षी सचिवालय सदस्यहरु पोखरेल र श्रेष्ठले भने यो विषय त्यति ठूलो नभएको र सहमतिमै सल्टाउन सकिने बताएका छन्।

नेकपाका ३३ विभाग, विभिन्न आयोगहरु, जनवर्गिय संगठनका इन्चार्ज सह(इन्चार्ज लगायतले नेतृत्व पाउन बाँकी छ।

यी विषयमा छलफल गर्न नेकपाले बुधबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्