उत्खनन् र प्रशोधन हुन नसक्दा खेर जादैँ शीलाजीत



विनोद सिंह विष्ट, बैतडी । जडीबुटीहरूको राजा मानिने शीलाजीत बैतडीमा भने खेर गइरहेको छ । बैतडीका भीरहरुमा पाइने बहुमूल्य जडीबुटी शीलाजीत खेर गईरहेको हो ।

शीलाजीतको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौंको शीलाजीत खेर गईरहेको हो । ठूल्ठूला भीरहरुमा गर्मीको महिना चुहिने शीलाजीतको उचित संकलन र प्रशोधन अहिले सम्म हुन सकेको छैन् ।

जिल्लाका धेरैजसो ठाउँमा शीलाजीत भएपनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका बरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताउनुभयो । गाउँघरमा परम्परागत रुपमा भीरहरुबाट स्थानीयहरुले निकालेर शीलाजीत बनाउने गरेको तर यसलाई व्यवसायिक रुपमा शीलाजीतको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उहाँले बताउनुभयो । शीलाजीत हरेक बिरामीहरुका लागि उपयोगी छ उहाँले भन्नुभयो“ शीलाजीतलाई हरेक रोगमा टोनिकको रुपमा प्रयोग गर्न सकिने, यसलाई चोटपटक लागेमा, शरीर दुख्ने समस्या भएको बिरामीहरुका लागि बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ”

बजारमा शीलाजीत क्याप्सुलको रुपमा पाइने र त्यो निकै महंगो हुने बताइएको छ । जिल्लाका ठूलठूला भीरहरु चट्टान तथा ढुंगाहरु पग्लेर शीलाजीत निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका १० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीर लगायत ठूलाठूला भीरहरुमा शीलाजीतको खानी रहेको बरिष्ठ वैद्य कलौनीले बताउनुभयो । शीलाजीत दुई किसिमको हुने कलौनीले बताउनुभयो । भीरबाट संकलन गरेर ल्याएका शीलाजीतयुक्त ढुंगाहरुबाट दुई किसिमको शीलाजीत निकाल्न सकिने उहाँको भनाई छ । शिलाजीतलाई जडीबुटीहरूको राजा मानिन्छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ ।

सूर्यको कीरणमा शीलाजीतयुक्त ढुंगा राखेर त्यसबाट शीलाजीत संकलन गरिएमा त्यसलाई सूर्यतापी शीलाजीत भन्ने गरिन्छ । शीलाजीतयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसंग पकाएर संकलन गरेमा त्यसलाई अग्नीतापी शिलाजीत भन्ने गरिन्छ । भीरबाटै संकलन गर्न सके निकै शुद्ध शीलाजीत निस्कन्छ ।

बैतडी जिल्लामा शीलाजीतसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शीलाजीतलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताउनुभयो । रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको निकै महत्व रहेको बताईन्छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ ।

विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्