भारोत्तोलनमा कीर्तिमानै कीर्तिमान



नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको नेपाल स्ट्रङ्गेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनअन्तर्गत पहिलो दिन महिलातर्फ १५ राष्ट्रिय कीर्तिमान बनेका छन्।

मंगलबार मरुहिटी बैंक्वेटमा सिनियर महिलातर्फ ४९ केजी तौलमा सहभागी एक्ली खेलाडी संगीता राईले आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। उनले स्नाचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजीका साथ कुल १ सय ३५ केजीका साथ उक्त तीनवटै विधामा कीर्तिमान रचिन्। यसअघि उनले यसै वर्ष सम्पन्न आठौंं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। जसमा उनले स्नाचमा ५८ केजी, क्लिन एन्ड जर्कमा ७५ केजी र कुलमा १ सय ३३ केजी भार उठाएकी थिइन्।

यसै गरी सिनियर महिलातर्फ ४५ केजीमा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। झापाकी करिना चौधरीले स्नाचमा ४७ केजी तौल भार उठाएर राष्ट्रिय कीर्तिमान रचिन्। उनले नेपाली सेनाकी रीता गुरुङको ४५ केजी तौलको राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी हुन्। करिनाले क्लिन एन्ड जर्कमा ५६ केजी उठाउँदा कुल १ सय ३ केजी भारबहन गरिन्। यसको बाबजुद उनी रजत पदकमै सीमित भएकी छिन्।

सोही तौल समूहमा रीताले क्लिन एन्ड जर्क र कुलमा आफ्नै राष्ट्रिय कीर्तिमानलाई तोडेपछि करिना पछि परिन्। रीताले पहिले क्लिन एन्ड जर्कमा ५० केजी भार उठाएकोमा यसपटक ६२ केजीको भार उचाल्न सफल भइन्। पहिले कुलमा ७५ केजी मात्रै रहेकोमा उनले हिजो १ सय ४ केजी उठाएर स्वर्ण जितेकी हुन्।

यस्तै ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्नाचमा ६६ केजी, क्लिन एन्ड जर्कमा ८७ केजी र कुलमा १ सय ५३ केजी भारबहन गरी तीनैमा राष्ट्रिय कीर्तिमान रचिन्। उनले आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्। सिनियर महिलाको ६४ केजी तौलमा सेनाकी शारदा चौधरीले स्नाचमा ६१ केजी, क्लिन एन्ड जर्कमा ८३ केजी र कुलमा १ सय ४४ केजी उठाएर तीनै विधामा राष्ट्रिय कीर्तिमान राखेकी हुन्।

यसै गरी जुनियर महिला ५९ केजीतर्फ पुलिसकी सन्जु चौधरीले स्नाच, क्लिन एन्ड जर्क र कुलमा नयाँ राष्ट्रिय कीर्तिमान राखिन्। उनले स्नाचमा ७१ केजी, क्लिन एन्ड जर्कमा ९० केजी र कुलमा १ सय ६१ केजी उचालेर राष्ट्रिय कीर्तिमान रचेकी हुन्।

उनले क्लिन एन्ड जर्कमा दुईपटक १ सय केजीको भार उठाउन प्रयास गरे पनि दुवैपटक असफल भइन्। आजसम्म चल्ने प्रतियोगितामा १५ जिल्लाका १ सय २० खेलाडीको सहभागिता रहेका छन्। काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको यस संस्करणमा सिनियर र जुनियर गरी ४० विधामा प्रतिस्पर्धा भइरहको छ।

प्रतिक्रिया दिनुहोस्