हलेसी क्षेत्रमा खाद्यान्न संकट



रामधन राई, खोटाङ,

टाङको हलेसी क्षेत्रमा खाद्यान्न संकट शुरु भएको छ। लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटारलगायतका वडामा खाद्यान्न संकट शुरु भएको हो।

गत चैत्रदेखिकोे खडेरीले खेतबारीमा लगाइएको मकैको बिरुवा सुकेपछि मकै पाक्ने यो समयमा किसानको बारीमा पुनः छरिएको मकै भर्खर उमिँ्रदै छन्। अर्कातर्फ बजारसँग जोड्ने सडक बिग्रेर भत्केकाले खाद्यान्नलगायतका उपभोग्य सामान ढुवानी गर्न सक्ने अवस्था छैन।

हरियो मकै खाएर छाक टार्नुपर्ने बेलामा शहर बजारबाट खाद्यान्न ढुवानी गर्ने बाटो ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको नगरप्रमुख इवन राईले बताउनुभयो। गाउँमा ऐंचोपैंचो गर्ने अन्नसमेत नभएको मेयर राईको भनाइ छ।

यसैबीच, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमक्ष नगरपालिकाको खडेरी तथा वर्षापीडित नागरिकलाई राहत उपलब्ध गराउन माग गरिएको छ। प्रदेशसभा सांसद राजन राईको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राईलाई भेट गरी खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न माग गरिएको हो। वर्षाका कारण भत्किएका सडक मर्मत गरेर सञ्चालनमा ल्याउन तथा बिग्रेभत्केका खानेपानी आयोजना सुचारु गराउनसमेत माग गरिएको हो।

नगर प्रमुख इवन राई, युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगरकमिटी अध्यक्ष सुरेन्द्र राईलगायतको टोलीले काठमाडौं पुगेर विभिन्न संघीय मन्त्रालयसमक्ष खाद्यान्न, सडक मर्मत, खानेपानी व्यवस्थापनलगायतको माग राखेको केही दिनपछि प्रदेश सरकार प्रमुखसमक्ष सोही किसिमको माग पुगेको हो।

छरेका मकै खडेरीले मरेको केही समय नबित्दै गत असार २५ गतेदेखि साउन ५/६ गतेसम्म परेको अबिरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडा जोड्ने सडक अवरुद्ध भएको, ढुवानी गर्ने वैकल्पिक बाटो नहुँदा खाद्यान्न संकट शुरु भएको, विभिन्न ठाउँमा खानेपानीको मुहान बगाएकाले संकटको अवस्था सिर्जना भएकाले प्रदेश सरकारलाई गुहारिएको नेकपा हलेसी तुवाचुङ नगरकमिटी अध्यक्ष राईले बताउनुभयो।

टोलीले सामाजिक विकास मन्त्री जीवन घिमिरे, अर्थमन्त्री इन्द्र आङ्बोसमक्ष पनि राहत तथा सहयोगका लागि माग राखेको जनाएको छ।

गत चैत्रदेखिकोे खडेरीले खेतबारीमा लगाइएको मकैको बिरुवा सुकेपछि मकै पाक्ने यो समयमा किसानको बारीमा पुनः छरिएको मकै भर्खर उमिँ्रदै छन्।

प्रतिक्रिया दिनुहोस्