किर्गिजस्तानका पूर्वराष्ट्रपति विरुद्ध हत्या र षड्यन्त्रको आरोप



विसेक, (एजेन्सी)
किर्गिजस्तानका पूर्वराष्ट्रपति अल्माज्वेक एताम्वाएभ माथि हत्या र सरकार पल्टाउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ। उनी विरुद्ध सामूहिक अस्थिरता सिर्जना गर्न खोजेको र बन्धक बनाएको पनि अभियोग लगाइएको स्थानीय संचार माध्यमले जनाएको छ।

गत साता उनको निवासमा नाटकीय ढंगले छापा मारेर प्रहरीले उनलाई गिरफ्तार गरेको थियो। प्रहरीले सो सुरक्षा कारबाही चलाउँदा एकजना अधिकारीको ज्यान गएको थियो। एसियाको मध्यभागमा अवस्थित यस राष्ट्रमा दुई दशकभन्दा छोटो समयमा भएका दुईवटा ठूला क्रान्तिसंगै पूर्वराष्ट्रपति र उनी पछिका राष्ट्रपति सूरोनवाइ जिन्वेकोभबीच द्वन्द्व चर्किंदै गएको छ।

मंगलबार सरकारी वकिलले उनीविरुद्ध गैरकानुनी ढंगले साथमा हतियार राखेको , विशेष फौजका एकजना अधिकारीको हत्या गरेको, बन्धक बनाएको र अराजकता सिर्जना गर्न खोजेको अभियोग लगाइएको जनाएका छन्। राष्ट्रिय सुरक्षा सेवाका अध्यक्ष ओरोज्वेक ओपुम्वाएभले उनको सत्ता पल्टाउनेसमेत उद्देश्य रहेको आरोप लगाएका छन्।

गत ७ र ८ अगस्टमा उनको निवासस्थानमाथि छापा मारिने क्रममा उनका समर्थकहरुले छ जना अधिकारीलाई बन्धक बनाएका थिए। अन्ततः उनले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका थिए।

सो अपरेसनमा करिव ८० जना घाइते हुनाका साथै अन्य ५३ जनालाई अस्पतालमा भर्ना गरिएको थियो। एताम्वाएभ पूर्वसोभियत गणराज्य किर्गिजस्तानमा सन् २०११ देखि २०१७ बीच दुईपटक राष्ट्रपति बनेका थिए। वर्तमान राष्ट्रपति सूरोनवाइ जिन्वेकोभ शुरूमा उनका अनन्य समर्थक नै रहेका थिए। विस्तारै पछि तिनीहरुबीच फाटो आएको हो। गत वर्ष उनले एताम्वाएभका समर्थकलाई शक्तिशाली पदहरुबाट हटाउन थालेपछि तिनीहरुबीच तनाव शुरू भएको थियो।

प्रतिक्रिया दिनुहोस्