न्युरोड आगलागीमा करोडौंको क्षति



विजय नेपाली, पोखरा
पोखराको व्यस्त बजार न्युरोडको एक मार्केटमा भीषण आगलागी भएको छ। भाटभटेनीनजिकै रहेको उक्त मार्केटमा मंगलबार दिउँसो ४ बजे आगलागी भएको थियो।

फर्निचर पसलबाट शुरू भएको आगोले अरू पसलमा पनि क्षति पुगेको छ। आगलागी शुरू हुनासाथ मानवीय क्षति नहोस् भनेर कम्पलेक्सबाट सबै बाहिर निस्किएको ७ मिनेटलगत्तै आगोले भीषण रूप लिएको प्रत्यक्षदर्शीले बताएका छन्।

आगलागीको जानकारी पाएलगत्तै ७ मिनेटमा आगो निभाउन आइपुगेको दमकल इन्चार्ज रामजी केसीले जानकारी दिनुभयो। आगो निभाउन ३ वटा दमकल, २० वटाभन्दा बढी ट्यांकर प्रयोग गरेको केसीले बताउनुभयो। सशस्त्र प्रहरी, दमकलको सहयोगमा आगो लागेको डेढ घण्टापछि नियन्त्रणमा आएको हो।

पोखरा न्युरोडस्थित एस ट्रेड सेन्टरमा आगलागीबाट करोडौंको क्षति भएको छ। सञ्चालक यदु अधिकारीले ३२ वटा सटर लिई भाडामा लगाउनुभएको थियो। उक्त ३२ वटा सटरमध्ये ७ वटा सञ्चालनमा रहेका थिए भने अन्य सटर गोदाम गरिएको अधिकारीले जानकारी दिनुभयो।‘मार्केटमा अचानक आगलागी भएछ, ठूलो क्षति हुन पुगेको छ’ –उहाँले भन्नुभयो। आगलागीले करिब ८ करोड रुपियाँबराबरको क्षति भएको उहाँले बताउनुभयो। मार्केटभित्र फोम, फलफूल, रेस्टुरेन्ट, विद्युतीय उपकरणको वर्कसप र कपडा पसल रहेको अधिकारीले जानकारी दिनुभयो।

बिजुली सटका कारण आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर गणेश सुवेदीले बताउनुभयो।

मार्केटमा फर्मको मात्र १० वटाभन्दा धेरै सटर थिए भने इलोक्ट्रोनिक पसल, फलफूल पसल, रेस्टुरेन्ट, चस्मा पसल, कुर्ता सुरवाल तथा साडीलगायतका पसलहरु रहेको स्थानीय अन्तिम पौडेलले बताउनुभयो।

आगो नियन्त्रणमा लिनका लागि पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानीका २० भन्दा बढी ट्यांकरको प्रयोग गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीयले आगोलागी नियन्त्रणमा लिएको हो। आगो नियन्त्रणमा लिनका लागि २ घण्टा लागेको थियो।

आगलागीबाट मिनी मार्केटभित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने नजिकैको शिवशक्ति फर्निचरलगायत अन्य सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामान हटाइएको थियो। आगलागीको कारण खुल्न सकेको छैन। तर प्रत्यक्षदर्शी मानसिंह गुरुङ भने बिजुली सर्टबाट भएको हुन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्