अभावमा गुज्रिँदै बालसुधार गृह



नेपाल समाचारपत्र, डोटी

कानुनीरूपमा जेल सजाय दिन नमिल्ने तर विभिन्न अपराधमा संलग्न बालकहरूलाई राख्न डोटीमा स्थापना भएको बाल सुधार गृह हिजोआज अभावमा गुज्रिँदै गइरहेको छ। बाल सुधार गृहसम्बन्धी कुनै पनि कानुनी कार्यविधि नबन्दा अभावमा गुज्रिँदै गएको छ।

२०७५ भाद्र १ गतेदेखि लागू भएका मुलुकी अपराध (संहिता) ऐन २०७४ तथा मुलुकी कार्यविधि (संहिता) ऐन २०७४ अुनसार १८ वर्षसम्मका बालबालिकालाई कारागारमा राख्न नमिल्ने भएपछि भाद्र ११ गतेबाट डोटीमा सञ्चालनमा आएको उक्त बाल सुधार गृह एघार महिना पूरा हुँदा पनि कार्यविधि नबनीकनै सञ्चालन भइरहेको छ।

हाल प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बालसुधार गृह सञ्चालक समिति मातहतमा बाल सुधार गृह सञ्चालनमा रहेको छ। मुलुकी अपराध (संहिता) ऐन र देवानी (संहिता) ऐन लागू भएपश्चात महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहतमा रहने गरी बाल सुधार गृह सञ्चालन हुनुपर्नेमा तत्काल व्यवस्थापन गर्न बाल सुधार गृह स्थापना भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेले बताउनुभयो।

यद्दपी हालसम्म कारागारको सेवा सुबिधा बमोजिम बाल सुधार गृहमा रहेका बालकहरूलाई सुबिधा दिइदै आएको भए पनि पछि गएर उनीहरूका लागि छुट्टै सेवासुबिधासहित व्यवस्थापन हुने प्रजिअ सुवेदीले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशका लागि स्थापित डोटीमा रहेको बाल सुधार गृहमा हाल देशका बिभिन्न ठाउँका कुल ३९ जना बालकहरू राखिएका छन्। जसमध्ये ६ जना मुद्दाको फैसला भएर घर फर्किसकेका छन् भने ४ जना उपचारका कारण बाँके जिल्लामा रहेको सुधार गृहमा स्थानान्तरण गरिएका छन्।

अहिले डोटीमा कम्तिमा १ महिनादेखि बढीमा १२ वर्षसम्म बाल सुधार गृहमा राख्नुपर्ने फैसला भएका १० वर्षदेखि १८ वर्षसम्मका २९ जना बालकहरू सुधार गृहमा रहेको बाल सुधार गृह डोटीका प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताउनुभयो।

बालकहरूलाई बकपत्रमा सम्बन्धित जिल्लाको अदालतमा लैजाँदा जिल्ला प्रशासन वा प्रहरीको गाडी माग्नु पर्ने भएकाले समस्या हुँदै आएको सुधार गृहका प्रशासकीय अधिकृत लिम्बूले बताउनुभयो।

बाल सुधार गृहको स्तरोन्नतिमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बाल सुधार गृहका कर्मचारीको माग रहेको छ। सुधार गृहमा रहेका पढ्ने बालकहरूलाई पढाइको उचित प्रबन्ध र पढाइ छोडेकालाई आयआर्जनमूलक व्यवसाय गर्न सीपमूलक तालिम आवश्यक रहेको छ।

पढ्दै गरेका तर सुधार गृहमा रहेका बालकलाई सुधार गृहमै परीक्षा दिने व्यवस्था भने मिलाइएको छ भने उनीहरूको सामान्य औषधोपचार पनि सुधार गृहले गर्ने गरेको छ। तर पनि उपचारका लागि एक जना हेल्थ असिस्टेन्टको व्यवस्था भएको भए निकै सहज हुने प्रशासकीय अधिकृत लिम्बूले माग गर्नुभएको छ।

रासन बाफत दैनिक प्रतिव्यक्ति ७ सय ग्राम चामल र दाल तरकारीका लागि दैनिक ६० रुपियाँ जिल्ला कारागारबाट व्यवस्था मिलाइएको छ। बाल सुधार गृहमा प्रशासकीय अधिकृतसहित एक जना कार्यालय सहयोगी र एक जना भान्से तथा ६ जना सुरक्षाकर्मी खटाइएको छ। डोटीमा नेकपाकी नेतृ एवं पूर्व संविधान सभा सदस्य गौरी ओलीको पहलमा बाल सुधार गृह स्थापना भएको हो।

हाल प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बालसुधार गृह सञ्चालक समिति मातहतमा बाल सुधार गृह सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्