परीक्षण र बजार नपाएको हिमाली खर्कको दूध



नरेन्द्र केसी, घोराही, दाङ

भौगोलिक बनोटमा निकै मिलेको छ प्रदेश नम्बर पाँच। तराईको मर्चवारदेखि हिमालको मैकोटसम्म यही प्रदेशमा पर्दछ। हिमाली क्षेत्र बहुमूल्य जडीबुटी र अर्गानिक कृषि उत्पादनका लागि निकै महत्वपूर्ण मानिन्छ तर अहिलेसम्म यसको आवश्यक परीक्षण र बजारीकरण हुन सकिरहेको छैन।

प्रदेश ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खर्कहरूमा यतिबेला गोठालाहरूको लाम छ। उनीहरूले यार्सागुम्बाजस्तो बहुमूल्य जडीबुटी उत्पादन हुने बुकी पाटनमा गाईभंैसी र भेडाबाख्रा चराउने गर्दछन्। जसबाट नेपालमा मात्रै होइन, विश्वमै उत्कृष्ट अर्गानिक दूग्धजन्य पदार्थ उत्पादन गर्ने संभावना रहे पनि अहिलेसम्म त्यसको कुनै परीक्षण हुन सकिरहेको छैन।

‘यार्सागुम्बाजस्ता जडीबुटी उत्पादन हुने बुकीपाटनमा हामी गाईभंैसी चराउँछौं’– भूमे गाउँपालिका २ का जोगबहादुर बुढा भन्नुहुन्छ– ‘तर, हामीले उत्पादन गर्ने दूध घीउ सामान्य गाउँले मूल्यमा नै बिक्री गरिरहेका छौं।’ त्यो पनि यातायातको अभावमा बिक्री हुँदैन।

कोही लेकमै आएका व्यक्तिले किन्न खोजेमा ३० रुपियाँ मानाको दरले दूध बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। यति महत्वपूर्ण उत्पादन निकै सस्तोमा बिक्री भइरहेको छ। ‘घीउ र महको मूल्य एउटै छ’, बुढाले भन्नुभयो– ‘दूध पानाको ३० रुपियाँ छ भने घीउ प्रतिकेजी ६ सय मा बिक्री हुने गरेको छ।’

मान्छेको आवागमन कम हुने बुकी पाटनमा दूध,दही कुकुरलाई दिने वा त्यसै फाल्ने गरिएको पनि स्थानीयको भनाइ छ।

यो हिमाली क्षेत्रमा स्थानीय गाई पनि प्रशस्त पाल्ने गरिएको छ तर गाईको दूध र गहुँतको परीक्षण अहिलेसम्म गरिएको छैन।

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने यसअघि नै वैज्ञानिक अनुसन्धानबाट पुष्टी भएको छ। रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका थिए।
त्यसो त सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो।

तर, यहाँका स्थानीयले भने यससम्बन्धी कुनै जानकारी नभएको बताएका छन्। ‘हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका गाईभैसीले दिने दूध र गाईको गहुँतको बारेमा यहाँ केही पनि थाहा छैन’– रुकुमपूर्व भूमे २का जयमान बुढाले भन्नुभयो– ‘यति महत्वपूर्ण हुने भए अब केन्द्र सरकारले नै यसको परीक्षण गर्दा राम्रो हुनेथियो।

अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधीको ‘पेटेन्ट राइट’ लिइसकेको छ भने भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीेको ‘पेटेन्ट राइट’ लिएको छ। तर, बहुमूल्य जडीबुटी खाएर हुर्केका नेपालको हिमाली क्षेत्रका गाईवस्तुको दूध र गहुँतको अध्ययन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्