बजेटको आकारभन्दा बढी व्यापार घाटा



सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। गतवर्षको बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ रहेको थियो। विडम्बनाको विषय त यो छ कि सरकारले वार्षिक बजेट विनियोजन गर्दा बजेटको आकारभन्दा बढी व्यापार घाटाको व्ययभार मुलुकले खेप्नुपरेको छ। आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा मात्रै १३ खर्ब २६ अर्ब पुगेको छ। यो घाटा अघिल्लो वर्षको बजेटभन्दा झन्डै ११ अर्ब बढी हो।

आयातको आकार बढ्दै जाने र निर्यातका वस्तु क्रमशः ओरालो लाग्ने अवस्थाका बीच निर्यात एक खर्ब पनि पुग्न सकिरहेको छैन। हामी यति परनिर्भरताबाट गुज्रिरहेका छौँ कि आयात घटाउने र निर्यात बढाउने त परको कुरा, आफ्ना लागि आफैंले उत्पादन गर्न सक्ने वस्तुको उत्पादनसमेत गर्न चुकेका छौं। देशमा पर्याप्त सम्भावना हुँदाहुँदै र स्वदेशी उत्पादनले आत्मनिर्भर हुन सक्ने अवस्थामा पनि बाहिरबाटै आयात गरेर उपभोग गर्न बाध्य छौं।

हामीले गर्न सक्ने र सम्भव हुने कृषि उत्पादनसमेत आयात गर्नुपरेपछि हामी कसरी स्वाभिमानी र आत्मनिर्भर बन्न सक्छौं ? व्यापार घाटाको आयतन बढ्नुका पछाडि मुलुक नै परनिर्भरताको रोगबाट ग्रसित हुनु हो। उपभोगमुखी आयातले देशको अर्थतन्त्र कहिल्यै बलियो हुन सक्दैन। उद्योग, कलकारखानाका लागि प्रयोग हुने मेसिन, उपकरण र कच्चा वस्तुले अर्थतन्त्रको उत्पादनशील क्षमता बढाउँछ। तर, उपभोगमा सकिने वस्तु तथा सेवाले मुलुकको अर्थमात्रै बाहिरिन्छ, प्रतिफल दिँदैन।

देशमा सवारीसाधन बढेको बढ्यै छ, जुन स्वदेशमा उत्पादन हुँदैन। ठूलो धनराशी सवारीसाधनको खरिदमा बाहिरिने गर्छ। सँगसँगै त्यसमा खपत हुने पेट्रोलियम पदार्थ पनि विदेशबाटै आयात गर्नुपर्छ। त्यसबाहेक महँगो सुन जसले ठूलो धनराशी खर्च गराउँछ। यस्तै, औषधिमा अधिक रकम बाहिरिने गर्छ। मोबाइल तथा विलासिताका सामग्रीहरूमा पनि अविश्वसनीय रूपमा रकम बाहिरिने गरेको छ।
त्यस्तै खाद्यान्न, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थको त कुरै गर्नुपरेन। वार्षिक ५३ अर्ब रुपियाँको खाद्यान्न आयात भएको छ। सुनमा ३४ अर्ब रुपियाँ बाहिरिने गरेको छ। २ खर्ब ११ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ भित्रिएको छ। ४९ अर्ब बराबरको सवारीसाधन खरिद भएको छ। १९ अर्बभन्दा बढीको हेभी इक्युपमेन्ट मुलुकले आयात गर्नुपरेको देखिएको छ। तरकारीमा मात्रै १५ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ।

यस्तो अवस्थामा पनि सरकार आफ्नो स्रोत–साधन प्रयोग गरेर उत्पादन बढाउन गम्भीर देखिएको छैन। सरकारले परनिर्भरता घटाउनभन्दा आयातीत वस्तुको भन्सार चक्रमै बढी ध्यान दिने गरेको छ। आयात घटाउन निर्यात बढाउन सक्नुपर्छ। त्यसका लागि मुलुकभित्रै कृषि तथा औद्योगिक उत्पादन बढाइनुपर्छ। वैदेशिक लगानी सरकारको लक्ष्यअनुसार भित्रिन सकेको छैन। अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिती दर निकै घटेको छ। विदेशी मुद्रा सञ्चितीको अवस्था सात महिनाको आयात खर्च धान्नेमात्र छ। यसो हुनु मुलुक टाट पल्टिने अवस्थातिर उन्मुख हुनु हो।

यसर्थ सरकारले कृषि उत्पादन बढाउन कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्छ। निर्यात त तत्कालै बढाउन सम्भव नहोला तर नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनमा जोड दिन सकिन्छ। जसबाट केही हदसम्म व्यापार घाटा घटाउन र स्वदेशमै रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिन्छ। तर, सरकारको लगानी उत्पादन बढाउने र रोजगारको अवसर सिर्जना गर्नेभन्दा उपभोग बढाउनै उद्यत छ। निरन्तरको व्यापार घाटाले मुलुकको अर्थतन्त्र जोखिममा पर्छ, परिसकेको छ। तसर्थ, सरकारको नीति देशमा उत्पादन बढाउनेतर्फ केन्द्रित हुनु आवश्यक देखिएको छ।
– ईश्वरीराज नेपाल, काठमाडौं।

भयानक घटना
शुक्रबार एकाबिहानै धादिङको सलाङघाटस्थित सडकबाट ना ६ ख ७४६९ नं.को न्यू सृष्टि डिलक्स बस त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भयो। २५ जना नदीमा बेपत्ता भए। प्रहरीले १६ जनाको सकुशल उद्धार गरेको छ। बेपत्ता भएकाहरूको खोजी भइरहे पनि जीवितै भेटिने सम्भावना छैन। उसो त, उक्त बसमा ४५ यात्रु रहेको अनुमान गरिए पनि संख्या भने यकिन हुन सकेको छैन। त्रिशूलीमा पानीको बहाव निकै वेगमा रहेको कारण यात्रुहरू बससँगै नदीमा खस्नासाथ नदीले बगाएको अनुमान प्रहरीको छ।

नेपालमा सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ। दैनिकरूपमा सडक दुर्घटनाहरू हुँदै आएका छन्। मानवजीवन यति सस्तो बन्न पुगेको छ कि गन्तव्यमा हिँडेको मानिस चालकको लापर्बाहीका कारण अनाहकमा ज्यान फाल्न विवश भइरहेको हुन्छ। न सडक राम्रो छ, न सडकमा अनुशासन। पैसा कमाउने ध्याउन्नमा बसको क्षमताभन्दा बढी यात्रु बोक्ने, लामो दूरीको यात्रामा पनि एकैजना चालकको भरमा गाडी चलाउने, थोत्रा गाडी दौडाउनेजस्ता प्रवृत्तिमा कत्ति पनि सुधार आउन सकेको छैन।

हामी नेपाली जोखिम मोलेर सडक यात्रा गर्न बाध्य छौं। दुर्घटना हुनबाट मुस्किलले बाँच्यौं वा एकदिन बढी बाँच्यौं भन्नुपर्ने अवस्था छ। त्रिशूली नदीमा दर्जनौंपटक बस खसिसकेको छ। सयौं व्यक्तिले अनाहकमा ज्यान गुमाएका छन्। तर दुर्घटना भएपछि कोही कसैले कुनै प्रकारको पाठ सिकेको छैन। आकस्मिक या मानवीय त्रुटिबाट भएका जुनसुकै दुर्घटनामा जसलाई पर्यो त्यो उसैका लागि मात्रै जस्तो भएको छ। मानिसमा मानवीय संवेदना, जीवनप्रतिको मूल्य, आफ्नो जिम्मेवारी र जवाफदेहिता हराउँदै गएको छ।

पृथ्वी राजमार्गमा दर्जनौँ दुर्घटना हुँदै आए पनि त्यसलाई न्यूनीकरण गर्ने सवालमा राज्यले आवश्यक भूमिका निभाएको छैन।
दुर्घटनापश्चात् नेपालका सुरक्षा निकायले निभाएको खोज तथा उद्धारका कार्य प्रशंसायोग्य छ। तर बढ्दो दुर्घटना कम गर्न राज्यले जे–जस्ता काम गर्नुपथ्र्यो त्यो गर्न सकिरहेको छैन। दर्जनौं यात्रुको भाग्य र भरोसा नै एउटा चालकको हातमा रहेको हुन्छ। एउटा चालक निदाउँदा, तनावमा रहँदा या उसको सनकका कारण दर्जनौं यात्रुहरू मर्न बाध्य भइरहेका हुन्छन्। सरकारले बस व्यवसायी, चालक, सहचालक र यात्रुलाई सडक सुरक्षाबारे जानकारी दिने, ट्राफिक नियम पालना गराउने र प्रभावकारी अनुगमनका लागि भूमिका खेल्नुपर्ने हो। तर, यस्तो संवेदनशील विषयमा गम्भीर नहुँदा यात्रुको यात्रा सधैँ जोखिमपूर्ण बन्न पुगेको छ।

विगतमा दुर्घटनासम्बन्धी विज्ञहरूका अध्ययन प्रतिवेदनहरू त्यसै थन्किएर बसेका छन्। ती प्रतिवेदनले औँल्याएका कमी–कमजोरीहरूलाई ध्यान दिँदै सुझावअनुसार कार्यान्वयन गर्न सक्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। अहिले चालकको लापर्बाही, तीव्र गति, थोत्रा गाडी, क्षमताभन्दा बढी यात्रुजस्ता कारण सडक दुर्घटनाका लागि जिम्मेवार मानिएका छन्।

सरकारले सडक यात्रा भरपर्दो बनाउन विज्ञहरूले दिएका रायसुझावअनुसार सडक मापदण्ड, दुई चालकको व्यवस्था र आवश्यक सडक अनुशासनसम्बन्धी नीति कार्यान्वयन गरी यात्रुलाई अकालमा ज्यान गुमाउनबाट बचाउनु आवश्यक देखिएको छ।
– सरोज कार्की, हाल काठमाडौं।

प्रतिक्रिया दिनुहोस्