पूर्वाधारविनाको भ्रमण वर्ष



नेपाल भ्रमण वर्ष शुरू हुन अब केवल चार महिना मात्र बाँकी छ। नेपाल सरकारले भ्रमण वर्षलाई सफल बनाउन अहिले प्रचारलाई तीव्र बनाएको छ। तर भ्रमण वर्षका लागि चाहिने पूर्वाधारका बारेमा भने सरकार अहिलेसम्म मौन नै देखिएको छ।

नेपालको पर्यटन पूर्वाधारको बारेमा सरकार जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यसरी अगाडि बढ्न सकेको छैन। यहाँ आउने पर्यटकलाई नेपालले कसरी स्वागत गर्छ भन्ने कौतुहलता यत्रतत्र रहेको छ। अहिलेको पूर्वाधारलाई हेर्ने हो भने नेपाल आउने पर्यटकले मुखमा माक्स नलगाई हिँड्न सक्ने अवस्था छैन।

सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि यसले मूर्तरूप लिने हो कि होइन भन्ने आशंका छ। सरकारले पर्यटन पूर्वाधारभन्दा पनि प्रचारलाई मात्र तीव्रता दिएका कारण यहाँ आउने पर्यटकले नेपाललाई कुन रूपमा हेर्लान् भन्ने कौतुहलता भबढ्दो अवस्थामा रहेको छ।

नेपाल आउने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको हालत हेर्ने हो भने कहाली लाग्दो अवस्था छ। त्यस्तै नेपाल भित्रिएका पर्यटकलाई जुन ढंगले स्वागत गर्नुपर्ने हो त्यो विगतदेखि नै हुन सकेको देखिँदैन।

कर्मचारीतन्त्रको मानसिकतालाई हेर्ने हो भने यहाँ आउने पर्यटकले नेपालको बारेमा वर्णन गर्नुभन्दा पनि यहाँका कर्मचारीले दिने दुःखको बारेमा उपन्यास नबनाऊलान् भन्न सकिन्न।

त्यसै गरी नेपाल प्रवेश गरेपछि पर्यटकले देख्ने वातावरणले पर्यटकको नेपाल बसाइलाई छोट्याउने काम नगर्ला भन्न सकिन्न। राजधानीमा देखिएको बेथिति अनि यहाँको धूलो, धुवाँ र फोहोरले पर्यटकलाई आघात पार्ने देखिन्छ।

सरकारले प्रचारसँगै राजधानीलगायत प्रमुख पर्यटकीय स्थलको पूर्वाधारलाई प्राथमिकतामा नराख्ने हो भने भ्रमण वर्षले सोचेजस्तो उपलब्धि हासिल गर्नेमा संशय नै देखिन्छ। भएका पूर्वाधारलाई दुरुस्त राख्दै नयाँ पूर्वाधार निर्माणमा जोड दिन सरकार लाग्नुपर्नेमा केवल प्रचारले मात्र भ्रमण वर्ष सफल हुँदैन। यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

यहाँ आउने पर्यटकको नेपाल बसाइलाई लम्ब्याउनेतर्फ सरकारले ध्यान दिनु जरुरी छ। मुलुकको प्रमुख आयस्रोतको रूपमा रहेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले जति लगानी गर्नुपर्ने हो त्यो गरेको देखिँदैन। नेपालका हिमशृङ्खलाहरूको बारेमा विभिन्न मुलुकमा जसरी प्रचार गर्नुपर्ने हो त्यो गरेको पनि देखिँदैन।

केवल मुलुकभित्र मात्रै प्रचार गरेर भ्रमर्ण वर्ष सफल हुन्छ भन्नु मूर्खताबाहेक केही हुँदैन। नेपाल भ्रमण वर्षलाई सफल बनाउने हो भने पर्यटन पूर्वाधारको विकासलाई जोड दिनुको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्