सीमा मिसेस मकवानपुर



हेटौंडा, (नेस)।

हेटौंडा लेडी जेसिजले आयोजना गरेको मिसेस मकवानपुर–२०१९ को ताज हेटौंडा–११ निवासी सीमा तिमल्सिना कार्कीले जितेकी छन्।

हेटौंडामा भएको अन्तिम स्पर्धामा उनी ११ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी हुन्। उनले मिसेस भ्युअर च्वाइस र मिसेस कन्फिडेन्ट टाइटलसमेत जितिन्।

प्रतियोगितामा फस्ट रनर्सअप हेटौंडा–४ की लिलु पुलामी मगर भइन् भने सेकेन्ड रनर्सअप हेटौंडा–१४ की माया घलान भइन्। कार्यक्रममा यी तीन विजेताले क्रमशः ३०, २० र १५ हजार नगदसहित प्रमाणपत्र, अवार्ड र ताज प्राप्त गरेका थिए।

साहित्यकार र प्राध्यापक निमेष निखिलको संयोजकत्वमा ५ जनाको निर्णायक मण्डलले पहिलो चरणमा १२ जनाबाट ९ प्रतिस्पर्धी छनोट गरेको थियो। जसमा सपना लामा, एलिना मानन्धर र अमिता चौधरी बाहिरिए।

त्यसलगत्तै ९ जनाबाट ५ प्रतिस्पर्धी छनोट गर्दा संगीता जोशी डंगोल, जानुका सापकोटा, अस्मिता पराजुली र सुनीता तामाङ मानन्धर बाहिरिए। उनीहरू बाहिरिएपश्चात् उत्कृष्ट पाँचमा नितु दाहाल, रोजी बिडारी, सीमा, पुलामी मगर र माया घलानबीच प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा रोजी बिडारी मिसेस ट्यालेन्ट, अस्मिता पराजुली मिसेस क्याट्वक र मिसेस पर्सनालिटी, नितु दाहाल मिसेस डिसिल्पिन, सुनीता तामाङ मानन्धर मिसेस फोटोजेनिक, जानुका कार्की सापकोटा मिसेस बेस्ट स्माइल, अमिता चौधरी मिसेस फ्रेन्ड्ली, एलिना मानन्धर मिसेस बेस्ट स्किन, माया घलान मिसेस बेस्ट डान्सर, सपना लामा मिसेस बेस्ट हेयर, लिलु पुलामी मगर मिसेस क्रियटिभ र संगीता जोशी डंगोल मिसेस पपुलर भए। हेटौंडा लेडी जेसिजले गरेको प्रतियोगिताको यो चौथो संस्करण हो।

प्रतिक्रिया दिनुहोस्