अभिभावकलाई फिल्म बुझाउँदै कलेज



अस्कर कलेज अफ फिल्म स्टडिजका विद्यार्थी आफू त फिल्म पढ्छन् नै एक दिनका लागि अभिभावकले पनि फिल्म पढ्ने मौका पाउँछन्। अस्करले आगामी शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा कलेजमा पढ्ने विद्यार्थीका अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधामा जानकारी गराउने भएको छ।

कलेजले गत सालबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो। यसमा एक दिनका लागि फिल्मका विभिन्न विधाका बारेमा जानकारी गराइन्छ। कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई एकमुष्ट जानकारी दिन ओपन हाउस इभेन्ट गर्ने विदेशी प्रचलनलाई पछ्याउँदै अस्करले पनि यसको थालनी गरेको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको शुरूआतदेखि पछिल्लो समयको प्रविधि भीएफएक्सका बारेमा जानकारी गराउनेछ। इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन्।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए। ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि पछिल्लो जमानाको लेटेस्ट प्रविधि भीएफएक्सका बारेमा पनि जानकारी गराइनेछ। एउटा फिल्म हलमा लाग्नुभन्दा अगाडि के–के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ।’ –पन्तले भने।

इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन्। कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेड हुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ।

इभेन्टमा सहभागीलाई लाइभ एक्टिङको अनुभव पनि गराइनेछ। कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाउनेछन्। इभेन्टमा विद्यार्थीले खिचेका फोटो पनि प्रदर्शनीमा राखिने एकेडेमिक कोअर्डिनेटर नव श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्