“भलिबलमा नेपाल सक्षम छ भन्ने सन्देश जानेछ”



जितेन्द्र चन्द
महासचिव, नेपाल भलिबल संघ

जितेन्द्र चन्द नेपाली भलिबलको कुनै नौलो नाम होइन। उहाँले १५ वर्षसम्म सुदूरपश्चिमाञ्चल टिमको कप्तानी गरेर भलिबल कोर्टमा आफ्नो खेल कौशल पस्कनुभएको थियो। सिंगापुरको थेम्स बिजिनेस स्कुलबाट एड्भान्स डिप्लोमा इन मार्केटिङ र एमएसम्मको अध्ययन गर्नुभएको उहाँ विगत सात वर्षदेखि नेपाली भलिबल संघको महासचिव पदमा रहेर नेपाली भलिबल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ। भलिबलमा लामो समय व्यतित गर्नुभएका उहाँसँग आगामी भदौको पहिलो साता नेपालमा नै आयोजना हुने एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ तथा नेपाली भलिबलसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयमा नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सारसंक्षेप:

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ कहिले र कहाँ आयोजना हुँदै छ ?

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ आगामी भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित नेपाल आर्मी फिजिकल एन्ड फिटनेस ट्रेनिङ सेन्टरमा आयोजना हँुदै छ। ६ दिनसम्म चल्ने सो प्रतियोगितामा एसियाका ७ वटा राष्ट्रले खेल्ने छन्। सहभागी टोलीहरू अगस्ट १७ देखि आउने क्रम शुरू हुनेछ। १८ तारिखमा नेपाल भलिबल संघले जोनल टेक्निकल बैठक राखेको छ। म्यानेजर्स मिटिङ नाम दिइएको उक्त बैठकमा सहभागी सबै राष्ट्रका कप्तान, प्रशिक्षक तथा म्यानेजरहरूको सहभागिता रहनेछ।

तयारी पूरा भएको हो ?

यसको तयारीका बारेमा विस्तृतरूपमा भन्नुपर्दा नेपाल भलिबल संघले सुरक्षा, यातायात र होटलको सम्पूर्ण व्यवस्थापन गरिसकेको छ। त्यस्तै खेलस्थलको तयारी पनि पूरा भइसकेको छ। नेपाली सेनाले पनि प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि धेरै सहयोग गरेको छ।

तयारी कसरी भइरहेको छ ?

हाम्रो टेक्निकल कमिटीको एउटा टिम छ। त्यो टिमले इक्विपमेन्टलगायतका सम्पूर्णको तयारी गरिसकेको छ। त्यस्तै प्रकारले एसियन सेन्ट्रल जोन (एभीसी) ले यस प्रतियोगिताको टेक्निकल लिडिङका रूपमा मसुद याज्दापनालाई तोकिसकेको छ। यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय टिम तयारीदेखि लिएर खेल सञ्चालन गर्न आवश्यक समिति तथा उपसमिति गठन गरेका छौं। अगस्ट १५ मा एसियन रेफ्री आउने छन्। उनीहरूले नेपाली निर्णायकहरूसँग सहकार्य गर्नेछन्। खेल सञ्चालनको विधि ब्रिफिङ हुनेछ।

प्रतियोगिताको बजेटसम्बन्धी व्यवस्थापन केही बताइदिनुहोस् न।

कुनै पनि प्रतियोगिता सञ्चालन गर्न आर्थिक पक्ष नै महत्वपूर्ण हुने गरेको छ। यसका लागि देशभर हामीले आर्थिक समिति पनि गठन गरेका थियौं। जसको संयोजक नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा आफैं हुनुहुन्छ। त्यस्तै मलगायत हाम्रा उपाध्यक्ष रञ्जन खड्का र निरोज मास्के तथा कोषाध्यक्षसहित हामीले एउटा कमिटी गठन गरेका थियौं।

एउटा दीर्घकालीन योजना बनाउनुपर्छ। १५ वर्षे योजना बनाउने हो भने नेपाली भलिबलले एसियाको शीर्ष स्थान ओगट्नेछ। विश्वका कुनै पनि देशलाई हराउन सक्षम बन्नेछ।

त्यहीअनुरूप हामीले विभिन्न संघ–संस्थासँग प्रायोजनका लागि आ≈वान पनि गरेका थियौं। नेपाल सरकारसँग पनि २ करोड ५६ लाख रुपियाँको अनुमानित बजेट तयार गरेर युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पेस गरेका थियौं।

नेपाल सरकारले पनि यस प्रतियोगितालाई सम्पन्न गर्न १० लाख रुपियाँ प्रदान गर्नेछ। त्यस्तै यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न एफएनसीसीआईबाट ४० लाख, नेपाल सेटेलाइट टेलिकमबाट २० लाख प्रदान गरिएको छ। त्यस्तै प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख बराबरको सामग्री चाहिन्थ्यो। जसका लागि नेपाल भलिबल संघका पूर्वमहासचिव तथा वर्तमान सल्लाहकारबाट पनि करिब १२ लाख बराबरको सामग्री प्राप्त भइसकेको छ।

हाम्रो टेक्निकल कमिटीको एउटा टिम छ। त्यो टिमले इक्विपमेन्टलगायतका सम्पूर्णको तयारी गरिसकेको छ। त्यस्तै प्रकारले एसियन सेन्ट्रल जोन (एभीसी) ले यस प्रतियोगिताको टेक्निकल लिडिङका रूपमा मसुद याज्दापनालाई तोकिसकेको छ।

यस्तै प्रकारले हाम्रै संघभित्रका साथी तथा पूर्वखेलाडीहरूले पनि सहयोग जुटाउनुभएको छ। त्यसै गरी काठमाडौं महानगरपालिकाबाट पनि सहयोग पाउने निश्चित भइसकेको छ। ललितपुर महानगरपालिकाले विदेशी डेलिगेट्ससहित ३ सय जनालाई वेलकम डिनर प्रायोजन गर्ने भएको छ। गोल्डस्टार कम्पनीले नेपाली टोलीको ड्रेस, जुत्ता प्रायोजन गरेको छ।

श्रेष्ठ टेलरिङले नेपाल भलिबल संघका पदाधिकारीहरूका लागि ४० थान ब्लेजर कोट प्रायोजन गरेको छ। मलाई लाग्छ यस प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषद्ले पनि १० लाखभन्दा बढी नै रकम दिनेछ। भिजिट नेपाल–२०२० ले पनि सहयोग गर्ने भनेको छ। यसमा अपुग रकमचाहिँ अन्य संघ–संस्था तथा सरकारले नै सहयोग गर्छ कि भन्ने अपेक्षा गरेका छौं।

प्रतियोगिताको प्राविधिक पक्ष कस्तो हुनेछ ?

प्रतियोगिताको कन्ट्रोल कमिटी हुन्छ। जसमा हाम्रो टेक्निकल डेलिगेट्सका रूपमा एसियन भलिबल कन्फेडेरेसनका मसुद याज्दापना आउनुहुनेछ। प्रतियोगितामा कुनै विवाद सिर्जना नहोस् भनेर एबीसीबाट न्युट्रल रेफ्रिका रूपमा इरानका अन्तर्राष्ट्रिय रेफ्री मसुद घारी आउनुहुनेछ। त्यस्तै नेपाल भलिबल संघका सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद यस कमिटीमा हुनुहुन्छ। यस्तै जुरी कमिटी मेरै संयोजकत्व बनेको छ। यसमा तीन जना विदेशी अन्तर्राष्ट्रिय रेफ्री तथा नेपालकै १० जना एसियन क्यान्डिडेड रेफ्री रहने छन्।

खेलस्थलको अवस्था कस्तो छ ?

फ्लोर अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै छ। खेल हुने स्थानमा लाइटको कमी थियो, तर हामीले ५ लाख बराबरको थप लाइट व्यवस्था गरिसकेका छौं। हलको तापमान सन्तुलन गर्न हामीले १२ वटा एडजस्ट फ्यान हालेका छौं। त्यसैले खेलस्थलमा कुनै कमी कमजोरी हुने छैन भन्ने मलाई लाग्छ।

हलले दर्शक क्षमता धान्न सक्ला त ?

हलको क्षमता कम भएकाले ‘फस्र्ट कम फस्र्ट बेसिस’ मा दर्शकलाई हामी सुविधा दिन्छांै। हल भरिएको अवस्थामा भने दर्शक प्रवेशमा रोक लगाइनेछ।

पुरस्कारको व्यवस्था कसरी गरिएको छ ?

पहिलो, दोस्रो र तेस्रो हुनेले मेडल तथा प्रमाणपत्र पाउनेछन्। सहभागी टिमलाई नगद पुरस्कारको व्यवस्था नगर्ने भनेर हामीले पहिले नै जानकारी गराइसकेका छौं। तर, व्यक्तिगतरूपमा मोस्ट भ्यालुएबल प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिफ्टर र बेस्ट ब्लकरलाई सम्मान गरिनेछ। तर, नेपाली टिम उत्कृष्ट ३ भित्र पर्न सफल भएमा भने नेपाल भलिबल संघले नगद पुरस्कारसहित सम्मान गर्नेछ।

नेपाली टोलीको तयारी कसरी चलिरहेको छ ?

लामो समयदेखि विदेशी प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षणले राम्रो नतिजा दिने विश्वास जागेको छ। खेलाडीमा पनि कन्फिडेन्स बढेको छ।

खेलाडी र पदाधिकारीको बसोबास व्यवस्थापन कसरी गरिएको छ ?

खेलाडीको यातायातका लागि डिलक्स एसी बसहरू प्रबन्ध गरेका छौं। सुरक्षाको सम्बन्धमा नेपालका पूर्वभलिबल कप्तान भरत शाहको संयोजकत्वमा समिति गठन गरेका छौं। अफगानिस्तान, माल्दिभ्स र बंगलादेशलाई नक्सालस्थित होटल क्राउन प्लाजामा राखिनेछ भने उज्वेकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तानलाई भने ठमेलस्थित होटल मंगलमा राखिनेछ। त्यस्तै नेपाली टोलीलाई पिंगलास्थानस्थित होली डे इनमा राखिनेछ।

एभीसीको बैठक पनि नेपालमा नै हुने हो ?

आगामी अगस्ट २३ मा एसियन सेन्ट्रल जोन एनुएल जेनेरल एसेम्ब्ली पनि नेपाल भलिबल संघले आयोजना गर्दै छ। होटल याक एन्ड यतिमा हुने उक्त कार्यक्रममा एबीसीका अध्यक्षसहित १४ देशको भलिबल संघका अध्यक्ष र महासचिवलगायतको सभागिता रहनेछ। ती सबैले फाइनल पनि हेर्नेछन्।

प्रतियोगिताले अन्तर्राष्ट्रिय जगत्मा कस्तो सन्देश प्रवाह गर्ला, केही अनुमान गर्न सकिएला ?

यसले नेपाल पनि भलिबलमा सक्षम राष्ट्र भन्ने सन्देश जानेछ। यसले पर्यटन क्षेत्रलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ।

१३औं सागका लागि महिला टोलीको छनोट निष्पक्ष नभएको टीकाटिप्पणी गरिएको छ, के भन्नुहुन्छ ?

स्वाभाविकरूपमा छनोट हुने खुसी र छनोट नहुने दुःखी हुन्छन्। राष्ट्रिय टिम छनोट गर्ने कमिटी गठन गरिएको छ। कुनै पनि खेलाडीले मेरो खेल राम्रो छ, म छनोट हुनुपर्छ भन्नु स्वाभाविक नै हो। तर, हामीले बुझ्नुपर्ने कुरा के हो भने छनोट समितिको आफ्नै मापदण्ड हुन्छ। त्यसैमा रहेर छनोट गरिन्छ।

चर्चित खेलाडी नै छनोट नहुनुका कारण के हुन सक्छ ?

छनोट कमिटीको मापदण्डसँग मेल खाएन भने छनोट नहुनु स्वाभाविक नै हो। यो विषयमा के भन्छु भने खेलाडीले विभिन्न सञ्चारमाध्यममा एकतर्फी भनेका कुरालाई मात्र महत्व दिइयो। तर, कसरी छनोट भएन भन्ने विषयमा भने नेपाल भलिबल संघका आधिकारिक व्यक्ति तथा छनोट कमिटीको सम्बन्धित व्यक्तिसँग कारण सोधिएको छैन।

मापदण्डमा उमेर हद तोकिएको छैन। मुख्य कुरा भनेको टेक्निक्स, ट्याक्टिस, पर्फमेन्स र फिजिकल फिटनेस हो। यही आधारमा खेलाडी छनोट गरिन्छ। कुनै पनि खेलाडी शारीरिकरूपमा दुरुस्त हुनुपर्दछ। उसको प्रदर्शन पनि राम्रो हुनुपर्यो। कुनै पनि पोजिसनबाट अरूभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडी पहिलो रोजाइमा पर्ने हो। छनोटमा नपरेको सिनियर खेलाडीभन्दा नयाँ राम्रा खेलाडी उपलब्ध भएकाले नै उनीहरू छनोटबाट बाहिरिएका हुन्।

बढी उमेरका कारण टिमबाट हटाइएको भन्ने आरोप लागेको छ नि ?

यसमा कुनै सत्यता छैन। नेपाल भलिबल संघले कसैलाई पनि उमेर हदबन्दीका कारण छनोट नगरेको कुरा निराधार रहेको भन्न चाहन्छु। यसपटक छनोट हुन नसके पनि अर्को पटकका लागि आफूलाई तयार रहन सुझाव दिन चाहन्छु। अनि त्यस्ता सिनियर खेलाडी जसले विगतमा देशका लागि राम्रो खेलेका छन् तिनीहरूलाई सम्मान गर्न पनि कुनै कञ्जुस्याइँ गरिने छैन।

आगामी चुनावमा प्रदेश सन्तुलन हुने किसिमले छनोट गरिएको कुरामा सत्यता छ ?

यो सरासर गलत आरोप हो। हामीले कुनै पूर्वाग्रही सोच बनाएर खेलाडी छनोट गरेका होइनौं। विशुद्ध टेक्निकल मापदण्डको आधारमा खेलाडी छनोट गरेका हौं।

कप्तान र उपकप्तान नै हटाउनुको कारणचाहिँ के होला ?

विगतमा उहाँहरूले गरेको योगदानलाई नेपाल भलिबल संघले उच्च मूल्यांकन गरेको छ। तर, कहिलेकाहीं आफूभन्दा जुनियर खेलाडी उत्कृष्ट फर्म रहेका बेला छनोटमा पर्न असफल हुने सम्भावना रहन्छ। उहाँहरूले यो कुरालाई बुझनुपर्छ। भलिबललाई माया गरिदिनुहोस् भन्न चाहन्छु। छनोटको विषयमा पछिल्लोपटक मिडियामा आएका कुरा नेपाल भलिबल संघले सम्प्रेषण गरेको होइन। तपार्इंहरूको उचित मूल्यांकन गरिनेछ। त्यसैले खेलाडीले अनुशासनलाई बिर्सनुहुँदैन भनेर अवगत गराउन चाहन्छु।

खेलाडी छनोट प्रक्रिया कसरी हुन्छ ?

मुख्यतः जिल्ला, प्रदेश र राष्ट्रिय गरी तीन तहबाट छनोट प्रक्रिया सञ्चालन गरिने हो। तर, खुला प्रतियोगिता पनि प्रशस्त भएकाले अन्डर–१५ देखि माथिका खेलाडी पनि छनोट हुने प्रबल सम्भावना बढेको हो। यसमा उमेरको हदबन्दी नै हँुदैन। जसले उत्कृष्ट प्रदर्शन गर्छ उसैलाई छनोट गर्ने हो।

नयाँ कप्तान र उपकप्तान छनोट प्रक्रियाबारे बताइदिनुहोस् न ?

खेलाडीको क्षमता मूल्यांकन गरेपछि मुख्य प्रशिक्षक र हेड कोचले त्यसको लेखाजोखा गरी नेपाल भलिबल संघमा नाम सिफारिस गर्नेछन्। क्याम्पमा रहेका खेलाडीमध्ये उत्कृष्ट, अनुशासित, नेतृत्व क्षमता भएको आधारमा नै नयाँ कप्तान र उपकप्तान छानिने मैले विश्वास लिएको छु।

नयाँ खेलाडी उत्पादनका लागि कस्तो कार्ययोजना बनेको छ ?

सन् २०१७ मा नेपाल र भारतबीच एउटा अन्तर्राष्ट्रिय म्याच खेलिएको थियो। जसमा ‘इन्डिया भर्सस प्रतिभा माली’ भनेर सञ्चारमाध्यममा आएको थियो। नेपालका तर्फबाट एक जना जुनियर खेलाडी प्रतिभा मालीले मात्र उत्कृष्ट प्रदर्शन गरेको टिप्पणी गरिएको थियो। त्यसमा नेपाल भलिबल संघले नयाँ खेलाडी उत्पादन गर्न किन कुनै योजना बनाउँदैन भनेर पनि लेखिएको थियो। त्यसपछि भने संघले नयाँ खेलाडी उत्पादनका लागि मार्गचित्र कोर्यो। सानाठूला गरी लगातार प्रतियोगिताहरू आयोजना गर्ने नीति लियो। जसको नतिजा अहिले थुप्रै एकसेएक प्रतिभावान् खेलाडी जन्मेका छन्।

नेपाली भलिबललाई उकास्न के गर्न आवश्यक छ ?

एउटा दीर्घकालीन योजना बनाउनुपर्छ। १५ वर्षे योजना बनाउने हो भने नेपाली भलिबलले एसियाको शीर्ष स्थान ओगट्नेछ। विश्वका कुनै पनि देशलाई हराउन सक्षम बन्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्