कामपामा करको दायरा बढ्दै



काठमाडौँ ।
करको दायरा बढ्दै जाँदा काठमाडौँ महानगरपालिकाले विगत वर्षभन्दा दोब्बरभन्दा बढी घरबहाल कर उठाएको छ । गत आवमा सबैभन्दा बढी राजश्व घरबहाल करबापत नै उठाइएको कामपाले जनाएको छ ।

कामपाले आव २०७५/७६ मा घरबहाल करबापत रु एक अर्ब ३३ करोड ७७ लाख १२ हजार ६९९ सङ्कलन गरेको छ । आव २०७४/७५ मा सो शीर्षकमा रु ५६ करोड ३५ लाख आठ हजार २७५ सङ्कलन गरेको थियो । करको दायरा बढेसँगै घरबहाल करबापत उठ्ने राजश्व रकम बढिरहेको कामपा, राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेले बताउनुभयो ।

तीन वर्ष पहिले (आव २०७३/७४) मा यही शीर्षकमा रु १५ करोड ६९ लाख ५० हजार ८०८ सङ्कलन भएको थियो । उहाँका अनुसार घरबहाल करबापत उठ्ने रकम वर्षेनी बढिरहेको छ । उहाँले भन्नुभयो, “अहिले महानगरवासीमा मैले कर तिर्नुपर्छ भन्ने भावना बढ्दै गएको छ ।”

अझै पनि महानगरवासीले आफूले घरबहाल करबापत उठाएको रकमभन्दा कम रकम देखाउने गरेको पाइएको छ । झण्डै आधाभन्दा बढीले घरबहाल कर वास्तविकभन्दा कम देखाउने गरेका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैले महानगरलाई देखाउनकै लागि नक्कली सम्झौता गरेको पाइन्छ । त्यति हुँदाहुँदै पनि महानगरवासी करको दायरामा आउनु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले महानगरवासीको स्वघोषणालाई नै आधार बनाइरहेका छौँ ।”

लामो समयसम्म जनप्रतिनिधिविहीन स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरुसँग जनताको धेरै अपेक्षा रहेको पाइएको छ । महानगरवासीले पनि स्थानीय सरकारसँग विभिन्न अपेक्षा राखेर कर तिर्ने गरेका प्रमुख न्यौपानेले बताउनुभयो । महानगरले भने महानगरवासीलाई चाहेजस्तो सेवासुविधा दिन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म कर तिर्छु तर त्यसबापत मैले के पाउँछु भनेर महानगरवासीले सोध्ने गरेका छन् ।”

अहिले कामपाका ३२ वटै वडामा कर तिर्नेको भीडभाड रहेको उहाँले बताउनुभयो । विभागले दैनिकजसो वडावडामा पुगेर निरीक्षण गर्ने गरेको छ । महानगरवासीको गुनासो, कर्मचारीको व्यवहारलगायतका विषयमा वडामा पुग्ने हेर्ने गरिएको उहाँले बताउनुभयो । कतिपयले ढिला गरे पनि कतिपयमा समयमा तिर्नुपर्छ भन्ने सोचाइ रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीलाई भेट्दा पनि महानगरवासीले हामीले तिरेको करबाट विद्युत्, पानी, यातायात के सुविधा पाउँछु भनेर सोध्ने गर्नुहुन्छ, तर हामीसँग त्यसको जवाफ हुँदैन ।”

पहिलेपहिले घरजग्गा कर, मालपोत करलगायतका शीर्षकमा कर उठाउने गरिएकामा कामपाले गत वर्षबाट मात्रै सम्पत्ति कर लिन शुरु गरेको विभागले जनाएको छ । सम्पत्ति कर शीर्षकमा एउटा व्यक्तिले स्थानीय सरकारलाई तिर्नुपर्ने कर रकम कम भएको न्यौपानेले बताउनुभयो । सम्पत्ति करबापत कम रकम राजश्व तिरे पुग्ने भन्ने बुझेरै धेरै व्यक्ति करको दायरामा आइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले कर भन्नासाथ धेरै तिर्नुपर्छ भनेर छल्न लाग्ने भए पनि अहिले त्यो क्रम घट्दै छ ।”

महानगरले गत आवदेखि मनोरञ्जन कर शीर्षकमा सिनेमा हलहरुसँग राजश्व उठाउन थालेको छ । महानगर क्षेत्रभित्र ४५ वटा चलचित्र हलमध्ये अहिलेसम्म चारपाँच वटा हलले मात्रै राजश्वबापतको रकम तिरेको न्यौपानेले जानकारी दिनुभयो । प्रदेश नं ३ को कानूनासार यस शीर्षकमा उठेको रकमको ६० प्रतिशत स्थानीय सरकारलाई र ४० प्रतिशत प्रदेश सरकारलाई जाने व्यवस्था छ ।

त्यस्तै, पहिले महानगरले पनि यातायात शीर्षकमा राजश्व उठाउँदै आएकामा अहिले यातायातबाट सम्पूर्ण राजश्व उठाउने अधिकार प्रदेश सरकारको हो । प्रदेशमा उठेको रकमबाट ४० प्रतिशत स्थानीय सरकारलाई आउने व्यवस्था छ । महानगरको गत आवको राजश्व सङ्कलनको विवरण हेर्दा सबैभन्दा बढी रकम घरबहाल करमार्फत रहेको छ भने त्यसपछि सम्पत्ति कर, व्यवसाय कर, नक्सापासबापत कर सङ्कलन भएको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्