अव्यवस्थित सडक निर्माण र खाल्टाखुल्टी नै डेंगुको दिगो स्रोत



के हो डेंगु

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। यो अरू लामखुट्टेभन्दा भिन्न रंगको हुन्छ र सजिलै चिन्न पनि सकिन्छ। यसको रङ सेतो सेतो छिर्का भएको हुन्छ।

यो एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन। अरू लामखुट्टेभन्दा एडिस एजिप्टाई सफा पानीमा फुलपार्ने र एकै पटक धेरै अण्डा र लार्भा हुकाउने जातमा पर्दछ। अरू लामखुट्टेलाई जस्तो धेरै पानी पनि चाहिन्न सानो पातमा जमेको पानी, प्लास्टिक, बट्टा, खाल्टाखुल्टी, रूखको टोड्का जहाँ पनि यसले तत्कालै फुल पार्न सक्छ। खास गरी वर्षात्को पानी जम्ने टिनका बट्टा, रङका भाँडा, गमला, कुलर, पानीका ट्याङ्कीजस्ता स्थान यो लामखुट्टेका लागि फुल पार्न सजिलो ठाउँ हो। यसैकारणले डेंगुको प्रकोप पनि वर्षात् याममा बढी हुने गर्दछ। यो रोग असारदेखि अशोजसम्म बढ्ने गर्दछ।

डेंगुका कारण मानिसको ज्यान नै जानेसम्मको खतरा भएकाले विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ। खोप परीक्षण गरिएको भए तापनि यसको विश्वसनीयतामा प्रश्न उठेकाले पुनः बन्द गरिएको छ। यसै विषयमा नेपालमा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार डेंगुरोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औंल्याउँदै अब काठमाडौं पनि डेंगुको उच्च जोखिममा रहेको जानकारी गराइयो।

यसका साथै बदलिँदो वातावरण, अत्यधिक गर्मी, यातायातका साधनहरू तराई, हिमाल, पहाड सजिलै पुग्ने र डेंगुका बिरामी पनि सहजै पुग्ने हुनाले सन् २००४ मा एक विदेशी नागरिकमा नेपालमा देखापरेको डेंगु अहिले के तराई, के पहाड, के हिमाल जताततै फैलिएको अवस्था छ। गत वर्षको दाँजोमा यो वर्ष अत्यधिक गर्मीका कारण डेंगुको समस्या ≈वात्तै बढेको छ।

रोगी लामखुट्टेले टोकेको ४ देखि ७ दिनमा लक्षण देखापर्छ र समयमै रोगको पहिचान नगरी जथाभावी औषधिको प्रयोग गर्दा ज्यानै समेत जानसक्ने खतर रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशील प्याकुरेलले बताउनुभयो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले रोगी लामखुट्टेले विशेष गरी सफा पानीमा फुल पार्छ। तर फोहोर पानीमा पनि अण्डा पार्ने र अण्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टाँसिएर रहने भएकाले एक वर्षसम्म पनि मर्दैन। भाँडामा पानी सुके पनि अण्डा जीवितै हुने र पुनः पानी पाउना साथै बिउँझने गर्दछ। एकपटकका संक्रमित लामखुट्टे २ सयदेखि ३ सयसम्म अण्डा पार्ने हुनाले एकैपटक धेरै मानिसलाई टोक्ने गर्दछ र संक्रमण फैलन्छ। यो संक्रमित लामखुट्टेले मान्छे र पशुको रगत चुस्ने र संक्रमण फैलाउने काम गर्दछ। रगतकै माध्यमबाट संक्रमण फैलाउने मात्र नभई संक्रमित लामखुट्टेले पारेको अण्डा र त्यसबाट निस्कने लामखुट्टे पनि संक्रमित हुन्छ भन्नुभयो।

यस्ता लामखुट्टेको प्रमुख बासस्थानका रूपमा गाडीको पुराना टायरमा जम्ने पानी, प्लास्टिक, सडकका खाल्टाखुल्टी, गमला, पानीको ट्यांकी, बाटा, बाल्टिनमा भरेर राखेको पानीलगायतमा लामखुट्टेले फुल पारेर लार्भा बनाउँछ र फैलन्छ। यसलाई सजिलै चिन्न सकिन्छ यसको रङ पनि छिरबिरे हुन्छ डा. विवेककुमार भन्नुहुन्छ। डेंगुका खासै औषधि नभएकाले ज्वरो आउना साथै जुन पायो त्यो औषधि खानुहुन्न। सिटामोल खाएर ज्वरो कम गर्ने र चिकित्सकको सल्लाहअनुसार मात्र औषधि खानुपर्छ नत्र खतरा पनि हुन सक्छ। डेंगु लागेका मानिसमा पुरानो दीर्घरोग लागेकाहरूलाई खतरा बढी हुन्छ।

यो रोग लाग्दा, ज्वरो आउने, जिउ गल्ने, दुख्ने, वाकवाक आउने, कसैकसैलाई एलर्जी हुने, रक्तश्राव हुनेसम्म हुन सक्छ। डेंगुका कारण १ देखि २ प्रतिशतको मृत्युसमेत हुन सक्ने भएकाले खतराबाट जोगिनुपर्छ। विश्वमा डेंगुका बिरामी ४ अरबको हाराहारीमा छन्। युरोप अमेरिका पनि डेंगुबाट अछुतो छैन। यसको रोकधाम सरसफाई नै हो। मानिसहरूको आधुनिक जिवन शैलीले डेंगु बढ्दो छ। यसका लागि समय सापेक्ष ऐन कानुन र कार्यान्वयन जरुरी छ। कानुनबमोजिम नगर्नेलाई जरिवाना र जेल सजाय हुनुपर्छ। नेपालमा डेंगुलगायतका रोग नियन्त्रणका लागि प्रत्येक प्रदेशमा ६ करोड १७ लाख अर्थात् एउटा निकायमा ८७ लाखदेखि ८९ लाखसम्म रकम पठाएको डा. विवेककुमारले जानकारी गराउनुभयो।

सरसरफाइलाई जोड दिँदै राज्यले ऐन नियममा जोड दिनुपर्छ। यसका साथै अनुगमन गराई श्रीलंकामा जस्तै नियमको पालना नगर्नेलाई जरिवाना तथा जेलनै लानुपर्छ। भारतमा पनि वातावरणी सरसफाइमा ध्यान नदिने व्यक्ति वा संस्थालाई दण्डनीय अपराधका रूपमा लिएर ज्वारलाल विश्वविद्यालयनै जरिवानामा परेको थियो। नेपालमा पनि सातै प्रदेशका प्रमुखहरूले यस बारेमा तालिम लिइसकेका छन्। अब उनीहरूले जनचेतना जगाउनेदेखि सरसफाइको अनुगमन गरी व्यवस्थित गराउने कार्यमा सरकारले कडाइ गर्नुपर्छ। तालिम मात्र हैन पर्याप्त जनशक्ति र किटजन्य उपकरणका साथै पर्याप्त बजेट अभाव नै रोग नियन्त्रणको बाधक बनेको स्वास्थ्य सेवा विभागको ठम्याइ रहेको छ। यतिबेला डेंगु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियान चलेको भए पनि पर्याप्त हुन सकेको छैन।

यी सबै कार्यको अनुगमन, मूल्यांकन गर्ने निकाय हुनुपर्दछ। यतिबेला स्वास्थ्यको संरचना भताभुङग अवस्थामा रहेको र एकले अर्कोलाई सम्बोधन गर्नेसम्मको अवस्था नरहने गरी संघीयताका नाममा तहस नहस पारिएको डा. प्याकुरेलले बताउनुभयो। पहिला एउटा निकायले नसकेको अर्कोले गर्ने, अनुगमन, मूल्यांकन, रिपोर्टिङ हुन्थ्यो। अहिले संघीयतामा राज्य गए यता स्वास्थ्यको अवस्था अत्यन्तै नाजुक भएको र स्थानीय निकायले स्वास्थ्य मन्त्रालय, विभागलाई रिर्पोटिङसमेत नगरेको अवस्था छ। अब यस्तो अवस्थामा नेपाली जनताको

स्वास्थ्य सेवा चुस्त र दुरुस्त कसले कसरी बनाउने ?

प्रदेश नं १ को सुनसरीमा मात्र यस वर्ष ३ हजार २५ जनामा डेंगु देखापरेको छ। यस वर्ष क्षेत्र नं १ र मा डेंगुको महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग दियन्त्रण महाशाखाले जनाएको छ।

पाँचवर्ष अघिसम्म १२ जिल्लामा फाटफुट रूपमा देखिएको डेंगु पाँच वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ। महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन्। पाँच वर्षअअि १२ जिल्लामा जम्मा ३ सय २ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेका छन्। महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ। जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन्।

त्यसै गरी प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १ सय २६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन्। यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रूपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन्।
महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि शुरू भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन। विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहे पनि प्रभाव देखिएको छैन।

डेंगु ज्वरोका मुख्य लक्षणहरू

डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो। यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ। साथै निम्न लक्षणहरू पनि देखिन्छन् :

* आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने,
* शरीर कटकटी दुख्ने,
* शरीरमा बिमिरा आउने र रक्तश्राव हुने,
* जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने,

उच्च ज्वरोसँगै माथिका लक्षणमध्ये दुई वा दुईभन्दा बढी लक्षणहरू देखापरेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ।
यसका साथसाथै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत रहेको चक्का (निलडाम) देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखापर्न सक्छन्।

डेंगुको उपचार

डेंगु ज्वरो विषाणु भाइरसका कारणबाट हुने भएकाले यसको खास उपचार छैन। स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ। डेंगु ज्वरोबाट हुन सक्ने जटिलताबाट बचाउन स्वास्थ्य जाँच र उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ। जथाभावी मेडिकलमा गई औषधि सेवन गर्दा खतरा हुन सक्छ।

बच्ने उपाय :

* लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
* घरवरिपरि खाली बट्टा, अलकत्रा, पुराना टायर नराख्ने र पानी जम्न नदिने।
* पानी जम्ने स्थान छ भने हप्तामा २ पटक मट्टितेल वा मोबिल छर्केर सफा गर्ने। साथै खानेपानी, लुगाधुन संंकलन गरेको पानी लामखुट्टे      छिर्न नसक्ने गरी बन्द गरेर राख्ने।
* यसका साथै पानी ट्यांकीलाई बारम्बार सफा गरिराख्नुपर्छ।
* कुलरमा रहेको पानीमा हरेक हप्ता एक दुई चम्चा मट्टितेल हाल्ने र पानी सफा गर्ने।
* लामखुट्टेबाट जोगिन पूरा बाहुला भएको कपडा लगाउनुपर्छ।
* विशेष गरी अहिलेसम्म खोप पनि नभएको र औषधि पनि नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम उपाय भएको           चिकित्सकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्