फ्रेन्चाइज लिग जित्ने सोमपाल पहिलो खेलाडी



नेपाल समाचारपत्र, काठमाडौं ।
सोमपाल कामी टी २० फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
आईतबार क्यानडामा भएको ग्लोबल टी २० लिगको फाइनलमा विनीपेग हक्सले उपाधि जितेपछि सोमपालले सो उपलब्धि हासिल गरेका हुन् । फास्ट बलर सोमपालको यो पहिलो फ्रेन्चाईज लिग हो । उनलाई हक्सले ३ हजार न्युनतम अमेरिकी डलर मूल्यमा अनुबन्ध गरेको थियो । योसँगै सोमपालले विश्व टी २० फ्रेन्चाइज लिगमा डेब्यु पनि गर्न पाए । उनी सन्दीप लामिछानेपछि यस्तो प्रतियोगितामा पुग्ने दोस्रो नेपाली क्रिकेटर हुन् ।

फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराएर हक्सले उपाधि जितेको थियो । जसमा सोमपालले खेल्न पाएका थिएनन् । उनले सो प्रतियोगिताभरि एउटै मात्र खेल खेलेका थिए । जसमा एडमन्टन रोयल्सविरुद्ध उनले २ ओभरमा ५५ रन खर्चेर डेब्यु खेलमा महगी साबित भएका थिए ।

तर खेल्नै नपाएपनि लेग स्पिनर सन्दीप लामिछानेलाई भने उपाधि जित्ने अवसरमा भने सोमपालले पछि पारे । सन्दीपको लागि क्यानडामा सम्पन्न प्रतियोगिता दोस्रो सहभागिता थियो । गत वर्ष उनले ५ हजार अमेरिकी डलरबाट क्यानडाको टी २० लिगमा खेलेका थिए ।
तर यस सिजनमा सन्दीपको मूल्य ह्वातै बढेर करिब ७० हजार अमेरिकी डलर पुगेको थियो । यसको बावजुद उनको हातमा अहिलेसम्म फ्रेन्चाइज लिग उपाधिको साइत जुर्न सकेको छैन । उनले गत वर्षदेखि अहिलेसम्म विभिन्न राष्ट्रमा फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्