सरकारी भोजमा रथयात्राः फोटो फिचर



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरको सोमबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथिहरु, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासी लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो । सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ ।

रथयात्रा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले प्रदेश सरकारले पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवद्र्धनका लागि जोड दिइएको बताए । उनले जगन्नाथ मन्दिरको महत्व ऐतिहासिक रहेको भन्दै मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि पहल गरिएको बताए ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँ र धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले जगन्नाथलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए ।

पण्डित जगनाथ पौडेलले स्वस्तीवाचन गरेको कार्यक्रमको अवसरमा जगन्नाथ परिसरमा धर्मशाला बनाइदिएका पोखराका दुर्पता कार्कीको टोलीलाई सम्मान गरिएको थियो । यसैगरी गाजने र जगन्नाथ मन्दिरको ध्यानाकर्षण गराउँदै प्रदेश सांसद केसीलाई गुठी व्यवस्थापन समितिले ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा कुल ५१ पाथी चामलको खिर पकाइएको थियो भने जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । यसवर्ष रथयात्रामा म्याग्दीसहित विभिन्न जिल्लाबाट भक्तजनहरु जगन्नाथको दर्शन गर्न पुगेका थिए । कार्यक्रम गुठी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानियाँको अध्यक्षता, सचिव निलकण्ठ शर्माको सञ्चालन र कोषाध्यक्ष रामचन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्