मुसुमुसु हाँसिदेऊ गायक रहेनन्



मुसुमुसु हाँसिदेऊ न लै लैजस्ता लोकप्रिय गीतका गायक तथा हिमालयन ब्यान्डका संस्थापक गायक, संगीतकार एवं गीतकार नोर्देन तेन्जिङ भुटियाको हालै लन्डनमा निधन भएको छ।

सन् १९५० मा भारतको खर्साङमा जन्मिएका भुटियाको ६९ वर्षको उमेरमा निधन भएको हो। बेलायतमै रिटायर्ड जीवन बिताइरहेका भुटिया केही वर्ष अगाडिदेखि घाँटीको क्यान्सरसँग जुधिरहेका थिए। उनले गाएको गीत मुसुमुसु हाँसिदेऊले अत्यधिक लोकप्रियता कमाएपछि बलिउडमा शानले समेत गाएका थिए। बलिउड फिल्म प्यारमे कभी कभीमा प्रयोग भएकोमा खुसी लागे पनि श्रेय नदिइएकोमा भने दुःखी भएका थिए।

उनको गाजलुले आँखै छोप्ने के राम्री मेरी मायालु बोलको गीत पनि अत्यधिक लोकप्रिय हुन पुगेको थियो। उनको फर्की हेरे जीवन तमासा, कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ, चिसो बतासलेजस्ता गीतहरू पनि लोकप्रिय छन्।

उनी बेलायती सैनिक सेवामा थिए। सन् १९७१ मा बेलायती सैनिक सेवामा प्रवेश गरेका नोर्देनले हङकङमा सन् १९७२/७३ तिर साथीहरूसँग मिलेर हिमालयन ब्यान्ड स्थापना गरेका थिए। साथीहरूले ब्यान्डको नाम अरू नै राख्न सुझाए पनि उनले ‘हामी हिमाली हौं’ भन्दै सोही नाम तय गरिएको थियो।

फर्की हेरे मेरो जीवन तमासा जस्तो भो,
सम्झी हेरे सपना त अधुरै अधुरो।
डर लाग्छ मलाई त यहाँ विश्वासमा अल्झिन
कर लाग्छ आज मलाई मायालु तिमीलाई बिर्सन।

जीवन तमासा जस्तै भयो भनेर गीत गाउने भुटियाको भौतिक शरीर भने अब यो संसारमा रहेन। उनले नेपाली संगीतमा फरक शैली भिœयाउने श्रेय पाएका थिए। हिमालयन ब्यान्डको स्थापनापछि नै नेपाली संगीतमा गीतारको प्रयोग शुरू भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्