इन्द्रजात्रामा ४० देशका प्रतिनिधि !



ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले २ सय ५७ वर्ष इतिहास बोकेको यसवर्षको इन्द्रजात्राको अवसरमा ३० भन्दा बढी देशका शहर, नगरपालिका महानगरपालिकाका अध्यक्ष,  मेयर,  उपमेयर,  सचिव लगायतका अधिकारीलाई पहिलोपटक काठमाडौँ उपस्थित गराउने भएको छ ।

यसका लागि निम्तो पठाइसकिएको बताउँदै कामनपाका प्रवक्ता ईश्वरमान डंगोलले कला–संस्कृतिको धनी र जात्रा पर्वको शहरको बारेमा जानकारी गराउन इन्द्रजात्रामा बोलाइएको प्रष्ट पार्नुभयो ।

उहाँका अनुसार कमनपासँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, अन्तर्राष्ट्रिय संगठन, भगिनी सम्बन्ध स्थापनाको प्रक्रियामा रहेका अन्तर्राष्ट्रिय शहर र कामपा सदस्य रहेको अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू नेपाल आउनेछन् ।

निम्तो दिएकामध्ये करिब ३० जना पाहुना आउने निश्चित भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख महेश काफ्लेले भन्नुभयो–नेपाल आउने पाहुनालाई टिकटबाहेक खाने चार दिन र पाँच रात बस्ने व्यवस्था महानगरपालिकाले नै गरेको छ । यसको लागि कामपाले २ करोड रुपिया विनियोजन गरेको छ ।’

‘पाहुना बोलाएपछि स्वागत गर्ने र बसाईको व्यवस्था गर्ने जिम्मा हाम्रै भएकोले सबै पाहुनाको सबै व्यवस्था कामपाले गर्न लागेका हौँ’–उहाँको भनाइ थियो ।

कामपाको नगरपरिषद्को बैठकले इन्द्रजात्रालाई विश्वव्यापी बनाउन महानगरसँग भगिनी सम्बन्ध रहेका संस्था, संगठन र सम्बन्ध कायम गर्ने प्रकृयामा रहेका संस्थाका प्रमुखलाई नेपाल बोलाउने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार विदेशी पाहुनालाई नेपाल बोलाउन लागिएको हो । यस अवसरमा भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइन्छ । प्रारम्भ हुने जात्राको सुरुवातदेखि नै जात्राको अवलोकन गर्न विदेशी पाहुना नेपाल आउनेछन् ।

कामपा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा काफ्लेले करिब ४० देशका मेयरदेखि विभिन्न निकायका अध्यक्ष, सचिवलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । आठ दिनसम्म मनाइने इन्द्रजात्रा भदौ २७ गतेदेखि सुरु हुनेछ । तलेजुका मूलपूजारी उद्धव कर्माचार्यका अनुसार नेपाल सम्वत् ८८२ मा राजा गुणकामदेवको पालादेखि सुरु भएको यो जात्रालाई उपत्यकाको अति महत्वपूर्ण जात्राको रूपमा हेरिएको छ ।

अघिल्लो दिन भदौ २६ गते हनुमानढोकास्थित कालभैरब अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो गाडेपछि जात्रा सुरु हुन्छ । जात्रामा जीवित देवी कुमारी, गणेश र भैरवलाई रथमा राखेर परिक्रमा गराइन्छ । जात्रा अवलोकन गर्न विभिन्न देशका सयौँ पर्यटक नेपाल आउने गरेका छन् ।

उहाँका अनुसार पाहुना बस्ने होटल खोज्नेदेखि जात्राको अवधिमा जात्रा स्थलमा ल्याउने र लैजानेसम्मको व्यवस्था गरिसकेको छ । ‘हामीले नेपालको पुरानो जात्राको पहिचान गराउन पहिलोपटक विदेशी पाहुना बोलाएका हौँ–प्रवक्ता डंगोलले भन्नुभयो ।

राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शन गर्ने परम्परा रहेको छ । यस पर्व उपत्यकाबासीका लागि विशेष महत्वको पर्व हो ।

कामपाले भगिनी सम्बन्ध स्थापित भएका १५, भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रियामा रहेका २ र कामपा सदस्य रहेका ८ अन्तर्राष्ट्रिय संगठनका प्रमुख र सचिव उपस्थिति हुने जनाएको छ ।

महाशाखा प्रमुख काफ्लेले हालसम्म ल्हासा, दक्षिणढाका, नयाँ दिल्ली सिटि, सियानको नान्जिन सिटीका मेयरहरु आउने निश्चित भैसकेको र केहीले सुनिश्चित गर्ने तयारी गरिसकेको बताउनुभयो ।

कामपाले भगिनी सम्बन्ध स्थापना भएका अमेरिकाको युजेन, रोचेष्टर, फ्रेडरिकबर्ग र बोल्डर शहरका मेयरलाई निम्तो पठाएको छ । चीनको सियान, ल्हासा, सेन्जेन, लान्जाउ र चेङ्गदु, जापानको मात्सुमोतो, बेलारुसको मिन्सक, वर्माको यंगुनु, उत्तरकोरियाको पेङवाङ, भारतको वााराणासी र दक्षिण कोरियाको सोल शहरका मेयरलाई निम्तो दिइएको छ ।

साथै भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रियामा रहेका थाइल्याण्डको बैङ्कक र चीनको नाजिङ शहरका मेयर बोलाइएको छ । कामपा सदस्य रहेका अन्तर्राष्ट्रिय संगठनहरु मानव बन्दोबस्त व्यवस्थापनका लागि स्थानीय सरकारको क्षेत्रीय संजाल(सिटिनेट), विश्व सम्पदा शहरहरुको संगठन (ओडब्ल्युएचसी), संयुक्त शहरहरु र स्थानीय सरकारहरुको संगठन(सिएलजी), स्थानीय वातावरणको दिगो व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय परिषद्(आइसीएलसीएल), ऐतिहासिक शहरहरुको संघ(एलएचसी) मुख्य महानगरहरुको विश्व संस्था, विशाल शहरहरुको दिगो भूकम्पीय जोखिम व्यवस्थापन संस्थालगायत छन् । र विश्व पर्यटन शहरहरुको महासंघका अध्यक्ष र सचिवलाई निम्तो दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्