रहीमको ह्याट्रिकमा सिटीको जित



लन्डन, (एजेन्सी) ।
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिग शानदार जितको साथ थालनी गरेको छ ।

शनिबार भएको यस सिजनको दोस्रो प्रिमियर लिग खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ५–० गोलअन्तरले हराएको हो । फराकिलो जितसँगै प्रिमियर लिग उपाधि रक्षा गर्ने अभियानमा सिटी बलियो हुने संकेत गरेको छ । टोलीका जितमा रहीम स्टरलिङले ह्याट्रिक गरेका छन् । साथै सर्जियो अग्वेरो र जिसस गेब्रियलले एक–एक गोलको योगदान दिए ।

पहिलो हाफमा जिससको गोलमा सिटीले १–० ले अग्रता बनाएको हो । तर दोस्रो हाफमा भने सिटीले ४ गोल गरेर वेस्ट ह्यामलाई खेलमा फर्कन कुनै मौका नै दिएन । रहीमले ५१औं मिनेटमा गोल गरेर टोलीको अग्रता दोब्बर पारे भने ७५औं मिनेटमा उनले नै अर्को गोल गरेपछि सिटी ३–० को अग्रतामा रह्यो ।

पहिलो पटक प्रिमियर लिगमा भार (भिडियो एसिस्टेन्ट रेफ्री) को प्रयोग पनि भयो । सोही भारको निर्णय अनुसार सिटीले ८६औं मिनेटमा पेनाल्टी प्राप्त गर्दा अग्वेरोले त्यसलाई सदुपयोग गरे । इन्जुरी समयमा रहीमले अर्को गोल गरेर ह्याट्रिक पुरा गरे ।

अघिल्लो दिन गत संस्करणमा दोस्रो स्थानमा रहेको टोली लिभरपुलले पनि जित हात पारेको थियो । लिभरपुलले नर्विच सिटीलाई ४–१ गोलअन्तरले हराएको थियो । खेलको सातौं मिनेटमा नर्विचका ग्रान्ट हान्लीको आत्मघाती गोलसँगै लिभरपुलले अग्रता लिएको थियो । यसपछि मोहम्मद सालह, भर्जिल भान डिएक र डिभोकी ओरिजीको गोलले टोली पहिलो हाफमै ४–० को अग्रतामा रहेको थियो । दोस्रो हाफमा नर्विचका लागि टीमु पुक्कीले ६४औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्