‘सङ्घीयता बोझ थप्न ल्याइएको होइन’



मधुसुदन रायमाझी, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता जनतालाई बोझ थप्न नल्याइएको बताउनुभएको छ ।

वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्वारा आयोजित शनिवार काठमाडौँमा आयोजित चौँथो सामुदायिक वन दिवस कार्यक्रमा बोल्ने क्रममा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
‘सङ्घीयता’ नै शब्द प्रयोग नगरी पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो–‘सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न हैन ।’

सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने आफूहरूको विल्कुल उद्देश्य नभएको बताउदै उहाँले थप्नुभयो,‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेलाजस्तो भएको छ ।’
एक अर्काे प्रसङ्गमा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको एकतालाई निर्वाचनमार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभयो ।

जनताले नेकपालाई शक्तिशाली सरकारको ठाउँमा ल्याइपु¥याएको बताउँदै उहाँले भन्नुभयो–पार्टी असफल भए नेपाल राष्ट्र नै असफल हुनेछ । राष्ट्र असफल भएमा हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।

अध्यक्ष प्रचण्डले आफूहरु ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अबको दशक समृद्धि र विकासको दशक भएको दावी गर्नुभयो ।

नेकपाको बलियो सरकार सबैका लागि अवसर भएको बताउँदै उहाँ जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्