हरेक महिला पुरुष आत्मनिर्भर भएपछि नै हाम्रो लक्ष्य पूरा हुन्छ



लालकुमारी पुन ‘सुशीला’
प्रदेश सांसद, ललितपुर क्षेत्र नं. १ (क)

परिवार नै माओवादी विद्रोहमा होमिएको थियो । प्रहरीले आठ कक्षामा पढ्दैगरेकी किशोरीलाई पक्राउ ग¥यो, यातना दियो । पक्राउ गरेका कति मारिएका खबर आउँथे, लालकुमारी पुनलाई पनि मारिने त्रास जाग्थ्यो । दाजु वर्षमान पुनले पार्टीमा रामै्र हैसियत बनाइसक्नुभएको थियो, पछाडि फर्किने न मन थियो न त अवस्था । लालकुमारी निरन्तर लागिरहनुभयो, र परिवर्तनले उहाँलाई प्रदेश ३ को सांसद बनाएको छ । उहाँ आफ्नो क्षेत्रको विकासमा के गर्दैहुनुहुन्छ, प्रस्तुत छ सुरेश मार्फाले गर्नुभएको कुराकानीः

देशको वर्तमान राजनीतिलाई जनप्रतिनिधिको नजरबाट हेर्दा कस्तो पाउनुभएको छ ?
देशमा राजनीतिक परिवर्तनसँगै सङ्घीयता कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको छ । धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली स्थापित भएको छ । तीन तहको सरकार कार्यान्वयनमा आएको छ । जनताले चाहेजस्तो सरकारबाट आवश्यक परिणामहरू दिन नसके तापनि केही सुधार भएका छन् । जनता तत्कालै परिणाम चाहन्छन्, मुलुकको विकास र समृद्धि चाहन्छन् । केही आलोचनात्मक स्वर पनि यदाकदा सुन्ने गरिएको छ ।

केही विषयवस्तुलाई प्रधान बनाउँदा अलि पहलकदमी नपुगेको हो कि, प्राथमिकतामा नपरेको हो कि जस्तो लाग्नसक्छ । तैपनि नयाँ कानुन, विधेयक, नयाँ संरचना बनेका छन् । बिस्तारै हिजोका व्यथिति, अस्तव्यस्त, प्रशासनिक संरचना, स्वास्थ्य, शिक्षा, सञ्चार, भौतिक विकासलगायतका दीर्घकालीन समस्याहरू समाधानार्थ योजनाहरू अगाडि बढिरहेका छन् । यो सकारात्मक पक्ष हो । एउटा जनप्रतिनिधिका नजरबाट हेर्दा मुलुक ठूलो राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धितिर लाग्न खोजेको पाएको छु ।

जनताले त अनुभूति गरेका छैनन् नि ?
जनताले छिटो परिणाम खोजेका छन् । दुई तिहाइको सरकारले गर्न सक्छ र गर्नैपर्छ भन्ने पनि जनताको चाहना छ । तपाईंले हेर्नुभयो भने विकासले क्रमशः गति लिएको नै देख्नुहुन्छ । अब क्रमशः जनताले अनुभूति गर्ने छन् भन्ने मलाई विश्वास छ ।

यदि त्यसो हो भने निर्वाचनमा जाँदा जनतालाई तपाईंले दिएको आश्वासन पूरा हुने दिशातिर अगाडि बढेको हो त ?
विशेष गरेर निर्वाचनमा जाँदा स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोघाटो, कृषिको आधुनिकीकरण, ज्येष्ठ नागरिक, महिला, बालबालिका, युवाहरूलाई लक्षित कार्यक्रममा मेरो प्राथमिकता थियो । जसमा खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिकप्रति गरेको प्रतिबद्धतामध्ये ५० प्रतिशत पूरा भएका छन् । यस कार्यकालभित्र बाँकी कार्य पूरा गर्नेप्रतिबद्धता तपाईको मिडियामार्फत जनतालाई भन्न चाहन्छु ।

त्यसो भए तपाइको निर्वाचन क्षेत्रका जनताका मुख्य समस्या समाधान हुन थालेका हुन् त ?
मेरो निर्वाचन क्षेत्रका जनताको खास समस्या भनेको बाटो, खानेपानी, स्वास्थ्य र शिक्षा नै हो । जनताका समस्यालाई प्राथमिकताका आधारमा बजेटिङ गरिएको छ । गतवर्ष करिब ७५ करोड विकास निर्माणमा खर्च गरियो । सो बजेटबाट बाटो बन्दा, विद्यालय भवन बन्दा, खानेपानी घरसम्म आइपुग्दा जनता खुसी भएका छन् । अझ धेरै गर्नु छ । आर्थिक वर्ष ०७६÷७७ मा पनि विकास निर्माणको गतिले अझ तीव्रता लिने विश्वास छ ।

मुलुक नयाँ व्यवस्थामा गएको छ, समग्रमा हेर्दा तपाईको निर्वाचन क्षेत्रको जनता कतिको खुसी भएको पाउनु भएको छ ?
जनता खुसी नहुने त कुरै भएन । किनकि हिजो पनि जनताको बीचमा काम गर्दै आएको र अहिले पनि जनताको माझमै छु । जनताको हरेक दुःख–सुखमा सदैव साथमा छु । जनताले आफ्नो जनप्रतिनिधि खोज्दा सबै जनताको सहज पहुँचमा छु ।

सांसदमा निर्वाचित भएपछि लामो समयसम्म पनि जनताको घरदैलोमा सांसदहरु नआएको जनताको गुनासो छ । तपाईंले यस्तो गुनासो भोग्नुभयो कि भएन ?
हिजो निर्वाचन अघि पनि जनताको साथमा थिएँ । आज पनि प्रदेश सभाको बैठकबाहेक जनताकै घरदैलोमा छु । म हरेक महिनामा कम्तिमा पनि दुईपटक हरेक वडामा पुगेको छु र जनताले पनि महसुस गरेका छन् ।

मुलुकभर बाढी पहिरोले गर्दा ठूलो धनजनको क्षति भयो, तपार्इंको क्षेत्रमा पनि क्षति भएको छ । प्रकोपपछि जनप्रतिनिधिको नाताले तपाईंले त्यसक्षेत्रमा के–कस्ता काम गर्नुभएको छ ?
निश्चिय पनि बाढी–पहिरोले देशभरि नै ठूलो धनजनको क्षति गरेको छ । यसबाट मेरो निर्वाचन क्षेत्र अछुतो रहन सकेन । मेरो निर्वाचन क्षेत्रमा तीन जनाको मृत्यु भएको छ । यसमा मलाई धेरै दुःख लागेको छ । बाढीपहिरो पश्चात म तत्कालै प्रभावित क्षेत्रमा पुगेर मृतक परिवारसँग भेटघाट गरेर विभिन्न निकायबाट सङ्कलित राहत प्रभावित क्षेत्रका जनतालाई बाँढेको छु । सरकारसँग मृतक परिवार र बाढी पहिरो प्रभावित जनतालाई आवश्यक राहत पुर्याउन विशेष पहल गरेका छौँ । साउन १३ गते ३ नं. प्रदेशका मुख्य मन्त्रीलगायत सबैलाई बाढी पहिरो प्रभावित ललितपुरका १ नं. निर्वाचन क्षेत्रका सम्पूर्ण जनप्रतिनिधिहरुको टोलीले भेटेर समेत राहतको पहल गरेका थियौं ।

प्रदेश संसदमा तपाईंको भूमिका के हो ? त्यो भूमिकालाई कसरी निर्वाह गर्नुभएको छ ?
प्रदेश संसदमा स्वास्थ्य, शिक्षा र कृषि समितिको सदस्यका हैसियतले जनतासँग प्रत्यक्ष जोडिएका ऐन कानुन निर्माणमा जनताको पहुँच पुर्याउन सहज हुने कानुन बनाउनेतिर मेरो विशेष भूमिका रहेको छ । जनताका मुख्य सरोकारका क्षेत्र स्वास्थ्य, शिक्षा र कृषिमा जनताले नै सहज लाभ लिन सक्नुपर्छ भन्नेमा मेरो सचेततापूर्वक भूमिका रहन्छ । जनताको समस्या सदनमा सशक्त रूपमा प्रस्तुत गर्नुु मेरो पहिलो प्राथमिकता रहेको छ ।

तपाईंको निर्वाचन क्षेत्र विकट भएर पनि कफी, चिया, लौठसल्ला लगायत धार्मिक पर्यटकीय तथा पर्यावरणीय पर्यटनको पकेट क्षेत्र भएर पनि बत्तीमुनीको अँध्यारो छ, तपाईंको योजना के छ ?
निश्चय पनि मेरो निर्वाचन क्षेत्र दोस्रो कर्णालीको रूपमा रहेको छ । दक्षिण ललितपुरलाई राजधानीसँग जोडेर त्यहाँको कफी खेती, चिया खेतीलाई प्रवर्धन र बजार व्यवस्था गर्न पहल गर्नेछु । प्रदेश सरकारबाट आएका कृषि अनुदान कार्यक्रमलाई वास्तविक कृषकहरुसमक्ष पु¥याउन विशेष पहल गरिरहेको छु । प्रदेश सरकारबाट महांकाल गाउँपालिकाको बैतर्नीधाम, कोन्ज्योसोम गाउँपालिकाको कोन्ज्योसोम प्रतिमा, गोदावरी नगरपालिकाको फुल्चौकी पदमार्गलगायत विभिन्न ठाउँमा योजना अगाडि बढिरहेको छ ।

मुलुकको विकास नहुनुको कारण के जस्तो लाग्दछ ?
आफ्नो जिम्मेवारी बोध हुन नसक्नु नै मुलुकको विकास नहुनुको कारण हो । सबैमा सकारात्मक सोचको विकास हुन नसक्नु पनि अर्को कारण रहेको छ । मुलुक विकास हुनुका लागि सबै नेपालीहरुमा सकारात्मक सोच हुनुपर्छ । मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनका लागि व्यक्ति र स्वार्थ केन्द्रित हुनुहँुदैन ।

तपाई सांसद भईकन त्यस क्षेत्रका जनताले के–के पाए ?
निर्वाचित पछिको दुई वर्षमा विकासका सम्भावनाका ढोकाहरु खोलिएका छन् । जनताको प्रत्यक्ष सहभागितामा विभिन्न शीर्षकका विकासका योजनाहरु अगाडि बढिरहेका छन् । सबै राजनीतिक दलहरु एकताबद्ध भएर विकास निर्माणमा जुटेका छन् । तुलनात्मक रुपमा जनताले शान्ति सुरक्षाको महसुस गरेका छन् ।

अहिले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि रकम चाहिन्छ भनेका छन्, तपाइ पनि यही पक्षमा हो कि ?
निश्चय पनि प्रदेश सांसदहरुको भूमिका नीति निर्माण नै हो । तर जनता विकास चाहन्छन् । अहिले पनि मेरो निर्वाचन क्षेत्रमा खानेपानीको अभाव छ । एक गाउँपालिकाबाट अर्को गाउँपालिका पुग्नको लागि बाटो व्यवस्थित छैन । शिक्षा र स्वास्थ्य जनताको पहुँचभन्दा बाहिर पुगेको छ । जनताले दिनभरि काम गरेर बेलुका आफ्नो चुला चौका जोड्न मुस्किल परेको अवस्थामा जनताले नीति भन्दा पनि विकास खोजेका छन् । त्यसैले निर्वाचित भएको भोलिपल्टबाट जनताले विकासको परिणाम र रोजीरोटी खोजेका हुन् ।

अहिलेको सरकारले फैलाएको विकासको मोडेललाई कसरी लिनुहुन्छ ?
दीर्घकालीन रुपमा समस्या समाधान गर्नको लागि अहिलेको सरकारले धेरै राम्रा कामहरु गरेको छ । नेपाली जनतालाई हरेक किसिमले आत्मनिर्भर बनाउनका लागि र बेरोजगार युवाहरुलाई रोजगारी दिलाउन दीर्घकालीन विकासका मोडेलहरु अगाडि बढाइरहेको छ । यसकारण सम्पूर्ण नेपाली जनताले आआफ्नोठाउँबाट सरकारलाई सकारात्मक रुपमा सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

अब अन्त्यतिर अलिकति व्यक्तिगत कुरा गरौं, तपाईं राजनीतिमा कसरी आउनुभयो ?
सर्वप्रथम त गाउँघरमा देखिएका असमानता, कुरीति, अन्याय, अत्याचारले मेरो मन छोयो । जुनकुरा राजनीतिक परिवर्तनले सम्भव थियो । त्यही कारण रह्यो म राजनीतिमा आउनु ।

राजनीतिमा लाग्न प्रेरित गरेको कुनै घटना छ ?
म कक्षा ८ मा पढ्दै गर्दा प्रहरीले मलाई समात्यो । अनि प्रहरी चौकीमा लगेर प्रहरीले ममाथि ज्याजती गरेको मेरो मानसपटलमा अहिले पनि ताजै छ । जसको कारणले म राजनीतिमा लाग्न प्रेरित भएँ ।

सिंगो परिवार राजनीतिमा होमिदा तपाइलाई त्यसको ऊर्जाले कत्तिको काममा सहयोग पु¥याएको छ ?
मेरो परिवार राजनीतिक परिवार भएकोले सानै उमेरदेखि मलाई पनि राजनीतिमा झुकाव भयो । गाउँमा राजनीतिक माहोल विस्तारै बढ्दै जाँदा राजनीतिक चेतनाको पनि विकास भयो । मेरो सिङ्गो परिवार राजनीतिमा आकर्षित भएपछि तत्कालीन सरकारबाट ठूलो दमन भयो । त्यतिखेर प्रतिरोध गर्ने ऊर्जा मैले परिवारबाट नै पाएको थिएँ, आज पनि त्यही ऊर्जा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्ने महान अभियानमा खर्च गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्