प्रहरी कार्यालय बाहिर बिस्फोट



स्टकहोम । डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् । डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए ।

टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको छ । प्रहरीले बिस्फोटको कारण अझै नखुलेको जनाएको छ । उक्त घटना नोर्रेब्रो जिल्लामा बिहान ३।१८ बजे भएको थियो । यस जिल्लासँगै जोडिएको ओस्टरब्रो जिल्लामा गत मंगलबार शक्तिशाली बिस्फोट हुँदा कर कार्यालयमा ठूलो क्षति पुगेको थियो ।

कोपेनहेगनका उपप्रहरी प्रमुख रास्मुस आगस्र्कोभ शुल्जले दुबै घटनालाई प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । प्रहरीले कर कार्यालयमा भएको बिस्फोट नियोेजित भएको तर कसले गरेको भने अझै नखुलेको बताएको छ ।

सोसल लिबरल पार्टीका एक सदस्य मोर्टेन ओस्टरगार्डले ट्वीट गर्दै यो आक्रमण सबै डेनमार्कका नागरिक विरुद्ध भएको प्रतिक्रिया दिनुभएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्