बाबुआमाले नै दिन्छन् विवाह गर्न दबाब



बेइजिङ । धेरै चिनियाँ अभिभावक आफ्ना हुर्केबढेका छोराछोरीले जतिसक्दो चाँडो विवाह गरुन् भन्ने चाहन्छन् । यो उनीहरुको पहिलो प्राथमिकतामा पर्ने घरयासी विषय हुने गरेको एक अध्ययनले देखाएको छ ।

इन्टरनेट मार्फत वैवाहिक सेवा प्रदान गर्ने एक चिनियाँ कम्पनी बाईहेजियायुआनले सार्वजनिक गरेको एक प्रतिवेदनमा झण्डै ८० प्रतिशत चिनियाँ युवायुवतीले बाबुआमाको दबाब झेल्नु परेको उल्लेख छ । तर उनीहरु आफ्ना बाबुआमाले विवाहका लागि दबाब नदिए हुन्थ्यो भन्ने चाहन्छन् ।

विवाहसँग सम्बन्धित चीनको सर्वाधिक ठूलो यो वेबसाइटमा जोडिने युवायुवतीको संख्या झण्डै तीन करोड १० लाख रहेको छ ।

अन्तर्वार्ता लिइएका आधाभन्दा बढीले आफ्नो विवाहका बारेमा आफैँले निर्णय गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको बताएका छन् । वेबसाइटमा दर्ता रहेका तीमध्ये करिब ३० प्रतिशत युवायुवतीले आफूहरुमाथि बाबुआमाले ज्यादै ठूलो दबाब दिने गरेको बताएका छन् ।

चीनमा विवाहको दर पछिल्ला केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ । सन् २०१३ मा प्रति हजारमा विवाह दर ९।९ थियो भने सन् २०१९ मा त्यो घटेर ७।२ मा आइपुगेको राष्ट्रिय तथ्याँक ब्यूरोले जनाएको छ ।

अन्तर्वार्ता लिइएका करिब ७७ प्रतिशत पुरुष र ६३ प्रतिशत महिलाले विवाहका लागि आफूखुशी विवाहको मिति तोक्ने गरेको बताएका छन् ।

करिब ४० प्रतिशत चिनियाँ एकल व्यक्तिहरुले आफ्नो वैवाहिक विषयमा हस्तक्षेप गर्न बन्द गर्न चाहेको बताएका छन् । प्रतिवेदनमा उनीहरुले बाबुआमाको करकापमा नपरी स्वतन्त्र रुपमा आफूखुशी विवाह गर्न चाहेको उल्लेख छ ।

“विवाह जीवनको एक आवश्यक हिस्सा अब रहेन,” साउथवेस्ट जियाटोङ युनिभर्सिटीका मनोसामाजिक अध्येता प्राध्यापक गाओ फेईले बताउनुभयो । “विवाह गर्ने वा नगर्ने यो निजी रुचिको कुरा हो, र हरेक व्यक्तिले आफूलाई खुशी तुल्याउने किसिमको निजी जीवनशैली अनुशरण गर्न सक्छन् ।”

“यद्यपी बाबुआमाले राम्रै मनशाय राखेर विवाहका लागि दबाब दिइरहेको कुरा चिनियाँ युवायुवतीले बुझ्नु पर्दछ । धेरैको जोड के छ भने बाबुआमाको दबाबभन्दा पनि टिकाउ विवाह आवश्यक छ,” कम्पनीका महाप्रबन्धक ऊ लिङगुआङ बताउनुहुन्छ ।

“मेरा बाबुआमाले विवाह गर्न भनिरहनु हुन्छ किनभने आफ्नो हेरचाहका लागि कोही तयार होओस् र उनीहरुको मृत्यु पश्चात् म एक्लै नहोस् भन्ने चाहन्छन्,” प्रतिवेदनमा समेटिएका एक व्यक्तिको भनाई छ । “मेरा बाबुआमाले आफ्ना नातिनातिनासँग खेल्न पाइन्छ भन्ने लोभ पनि राखेको देखिन्छ ।”

“म मैले रुचाएको व्यक्तिसँगै विवाह गर्नेछु,” चेङ्दुका एक २० वर्षीय युवा फू सुआनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्