पहिचानका लागि पुनर्निर्माण



भूकम्प गएको चार वर्ष पुग्नैलाग्दा हालसम्म तीन सय ८० सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । वि.सं २०७२ सालको शक्तिशाली भूकम्पबाट क्षति भएका १४ जिल्लाका सात सय ५३ सम्पदामध्ये झण्डै ६० प्रतिशत सम्पदा पुनर्निर्माण भैसकेका छन् । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरिसकेपछि सम्पदा पुनर्निर्माणमा जुटेको पुरातत्व विभागले उल्लेखनीय प्रगति भएको दाबी गरेको छ । विदेशी पर्यटक उपत्यकाका विश्वसम्पदा क्षेत्रमा भ्रमण गर्न आउने समयसम्म सबै सम्पदा पुनर्निर्माण गर्ने योेजना सरकारको छ ।

एकाधबाहेक विश्वसम्पदा क्षेत्रमा सुचीकृत उपत्यकाका सात सम्पदा क्षेत्रका अधिकांश सम्पदाहरु पुनर्निर्माण भैसकेका छन् । धरहरा, काष्ठमण्डप, रानीपोखरी, वसन्तपुरको नौतले, बुङमतीको रातो मच्छिन्द्रनाथ, नुवाकोटको साततले दरबार निर्माणको क्रममा छन् । विश्वसम्पदा क्षेत्र अन्तर्गत काठमाडौं, भक्तपुर र पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु , पशुपति र चागुँनारायण क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भैसकेका छन् । हालसम्म विश्वसम्पदा सुचीमा सुचीकृत क्षेत्रका ९६ र बाहिरका २ सय ८४ सम्पदा पुनर्निर्माण भैसकेको तथ्याङ्क राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक गरिसकेको छ । चालु आवमा एक सय ५० सम्पदा पुनर्निर्माण भैसक्ने बताइएको छ ।

भ्रमणवर्ष लक्षित योजनाअनुसार पुनर्निर्माण गर्दा केहीबाहेक अधिकांश सम्पदा पुनर्निर्माण भैसक्ने अनुमान पुरातत्व विभागको छ । पशुपति विकास कोषले १८ सम्पदा पुनर्निर्माण गरिसकेको छ । २०७५–०७६ मा ५० प्रतिशत, ०७६–०७७ मा ७५ प्रतिशत र ०७८ सम्ममा सत्प्रतिशत निर्माण सम्पन्न गर्ने योजना विभागको छ । हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगरा घर, प्रताप मल्लको शालिक पुनःस्थापना तथा तलेजु को पुनर्निर्माण सम्पन्न भैसकेका छन् । भक्तपुर दरबार क्षेत्रको खौमा गेट, सिध्दिलक्ष्मी, नारायण, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण कार्य पनि सम्पन्न भएको छ । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ । स्वयम्भू क्षेत्रको प्रतापपुर, अन्नतपुर, आनन्दकुटी महाविहार लगायतका सम्पदाहरुको पुनर्निर्माण सकिएको छ ।

पाटन दरबार क्षेत्रमा योग नरेन्द्रको शालिक पुनःस्थापना भएको छ । ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य सकिएको छ । थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ पुनर्निर्माण भैसकेको छ ।
कालिगढको समस्या, ठेक्का प्रक्रिया, काठ र कच्चा पदार्थको अभाव लगायतका कारणले गर्दा केही सम्पदा पुनर्निर्माण हुन सकेको छैन । पछिल्लो समय अमानतमार्फत् स्थानीयको अगुवाइमा निर्माण शुरु भएपछि काष्ठमण्डप, ललितपुरको भीमसेन मन्दिरलगायत सम्पदा निर्माणले गति लिन थालेको छ ।

भ्रमण वर्ष अगावै विश्वसम्पदा सुचीमा रहेका सम्पदा पुनर्निर्माण गरी पर्यटकलाई उपत्यकाको सम्पदाको परिचय दिनसक्नु सरकारको दायित्व हुन आउँछ । यस विषयमा प्राधिकरण, विभागलगायत सरोकारवाला निकायले बेलैमा ध्यान दिन आवश्यक छ । कतिपय सम्पदाहरु विवादको कारण पुनर्निर्माण हुन सकेको छैन । विवाद भएका सम्पदाको विषयमा सरकारले समयमै छलफल गरी पुनर्निर्माण गर्नु जरुरी हुन्छ । भारत सरकारले पुनर्निर्माण गर्ने घोषणा गरेका सम्पदाहरुको तत्काल प्रक्रिया शुरु गर्नुपर्ने देखिन्छ । नेपाललाई विश्वसामु परिचय दिने सम्पदाहरु नेपालको मुख्य सम्पत्ति हुन्, यीनको बेलैमा पुनर्निर्माण गरी देशको नाम विश्वमा चिनाउनुछ ।

प्रतिक्रिया दिनुहोस्