नबोल्ने बोल बम



पहिरनका पसलहरुमा ‘बोल बम’ का जर्सी लगाएका र नागधारी शिवजी बनेका ‘म्यानक्वीन’ देखेर धरहरा दंग छ । मूर्तिजस्ता देखिने विज्ञापन सामग्री पनि आफ्ना भक्त भएकोमा शिवजी पनि दंग भएको हुनुपर्छ । साउन महिना शिवजीको महिना भनेर अरुले भनेपनि धरहरा बाह«ै महिना शिवजीकै भक्ति गर्र्दैआएको छ । किनपनि भने, शिवलिङ्गबाटै प्रेरित भएर यसले आफ्नो स्वरुप तयार पारेको छ । (छ भन्नुभन्दा पनि थियो भन्नुपर्ला, अहिले ढलिहालियो) ।

कुरो नबोल्ने बोल बमको चल्दै थियो । ‘म्यानक्वीन’ बोल्दैनन्, तर शिवभक्त हुनसक्छन् । त्यसो त शिवजी पनि बोल्दैनन्, तरपनि हाम्रा आराध्य हुनसक्छन् । यसमा कुनै विवाद भएन, तर आधुनिक पहिरनमा देखिंदै आएका ‘म्यानक्वीन’हरु एकछत्त पहेलपुर भएको देख्दा चाहिं निकै प्रसन्न भयो मन । यस्तै प्रसन्न थिए पसलेहरु पनि– कालीमाटी, टंकेश्वर जहाँ तराईबासी नागरिकको आप्रवासन बढी छ, त्यहाँका पसलेहरु त बढी नै प्रसन्न थिए । किनभने, ग्राहकहरु ‘म्यानक्वीन’ हेर्दै शिवभक्त हुनका लागि आ–आफ्नो साइजको पहिरन जो किनिरहेका देखिन्थे ।

तर धरहरा व्यापार मजाले चल्ने बेलामा जति प्रसन्न भयो, साँझ–बिहान भने त्यति प्रसन्न हुन सकेन । दिउँसो शिवजीजस्ता देखिने ‘म्यानक्वीन’ साँझ बिहान पसलेको पाउमुनि कुल्चिन बाध्य थिए । आस्थाको कुरा हो, शिवजीको मूर्तिलाई पसलेले खरिद मूल्य दुई सय विक्री मूल्य चार सय भनेर मात्र चिनून्, त्यसमा धरहराको खासै गुनासो भएन, तर आस्थाको आधारमा व्यापार गर्न बसेका पसलेले शिवजी बनाएका ‘म्यानक्वीन’लाई गोदाममा गोद्दा चाहिं यिनीहरुमा बोल्ने क्षमता भइदिए हुन्थ्योजस्तो पो लाग्यो त । आखिर कुरो आस्थाको न हो !

प्रतिक्रिया दिनुहोस्