महिला सुन्दरताको बहस



 

वीणा झा
मञ्चमा महिला बोलाइएको एउटा कार्यक्रममा पुगेकी थिएँ । त्यहाँ मैले केही विषयमा बोल्नुपर्ने थियो, जसको शुरुवात एउटा प्रश्नबाट गरें, ‘के महिला सुन्दर हुन्छिन् ?’ हल हाँसोले गुन्जियो । हाँसोसँगै सामूहिक जवाफ पनि आयो, ‘हो, कुनै दुई मत नै छैन ।’ फेरि प्रश्न थपें, ‘कसरी ?’ यसपालिचाहिँ हल शान्त भयो, जवाफ आएन । सहभागीहरु एक–अर्काका अनुहारमा हेर्दै थिए । वास्तवमा यसको जवाफ मलाई पनि थाहा भएन, महिला सुन्दर कसरी हुन्छिन् ? कसले दिन्छ सुन्दरताको परिभाषा ? किन महिलालाई सुन्दरताको प्रतिकका रुपमा बयान गरिन्छ ? के त्यो सुन्दरताको परिभाषाभित्र नअटाउने महिला साँच्चै सुन्दर हुन्नन् ? यदि त्यसो हुँदो हो भने किन आफ्नी आमा, श्रीमती, प्रेयसी छोरी सुन्दर लाग्छ ? चाहे जुनसुकै सुन्दरताको परिभाषाभित्र अटून् वा नअटून् ।

प्रायः सर्वस्वीकार्य सुन्दरताको परिभाषाभित्र एक निश्चित मापअनुसारको जीउडाल, कपाल, छालाको रंग, पहिरनको स्वरूप, बोली वा लवजका साथै सौन्दर्य प्रशाधनको सही मात्रा र तरिकाले गरिएको प्रयोगबाट महिला–शरीरलाई सुन्दरताको उदाहरणमा राखिन्छ । यदि मानवशरीरको सुन्दरताको परिभाषा वास्तवमै त्यही नै हो भने यसमा नअटाउनेलाई के भन्ने ? फेरि एउटा रुपरंग, शारीरिक बनावटलाई मात्रै सुन्दर भनिने हो भने अफ्रिका अनि दक्षिणी भारतका महिलाहरु जुन यी परिभाषामा अट्दैनन्, तिनीहरु सुन्दर होइनन् ? त्यहाँ पनि सुन्दरताको प्रतियोगिताहरुले ठाउँ पाएकै हुन्छ । त्यसो भए सुन्दरताका यी परिभाषाहरु कसले कसका लागि बनाए ? यसबाट फाइदा कसलाई छ ?

महिलालाई यसले कसरी प्रभावित गरेको छ ? यी कुरा बुझ्न पहिला पितृसत्तालाई बुझ्न जरुरी छ । तर त्यो भन्दा पनि पहिला एउटा अनुभव भन्न मन लग्यो, गत महिना काठमाडौंनजिकै ललितपुरको एउटा विद्यालयमा स–साना नानीहरु भेट्न गएको थिएँ । कक्षामा छिरेपछि अगाडि पंक्तिमा बसेका ६–७ वर्षका ती नानीहरु मुख छोपी–छोपी हाँस्न थाले । कारण सोध्दा बडो निर्दोष पाराले भने, ‘हजुरले त केटाहरुको जुत्ता लगाउनुभएको रहेछ ।’ यसो हेरें, स्पोटर््स सुज थियो, जुन हिँड्न सजिलो होस् भनी लगाएर गएकी थिएँ । ती निर्दोष अबोध नानीहरुले कसरी सोचे कि यस्तो जुत्ता केटाको हो ? केटीहरुले त अलि हिल भएको रंगीन स्यान्डल लगाउनुपर्ने हो भन्दै केहीले आफ्नो खुट्टा देखाउन थाले ।

कसले दिन्छ सुन्दरताको परिभाषा ? किन महिलालाई सुन्दरताको प्रतिकका रुपमा बयान गरिन्छ ? के त्यो सुन्दरताको परिभाषाभित्र नअटाउने महिला साँच्चै सुन्दर हुन्नन् ? यदि त्यसो हुँदो हो भने किन आफ्नी आमा, श्रीमती, प्रेयसी छोरी सुन्दर लाग्छ ? चाहे जुनसुकै सुन्दरताको परिभाषाभित्र अटून् वा नअटून् ।

केही दिन अगाडि काठमाडौंमा एउटा सुन्दरी प्रतियोगितामा समेत सुन्दरताको परिभाषाले गर्दा विवाद भएको सामाजिक सञ्जालभरि छाएको थियो, जसमा प्रतियोगीले लिपस्टिक नलगाएको र चश्माको प्रयोगप्रति निर्णायक वर्गबाट गरिएको प्रश्न थियो ।

खास गरी बिहेको कुरा चल्दा अहिले पनि प्रायः सुनिन्छ, केटाको रुप होइन कमाउने गुण भए पुग्छ तर केटी राम्री हुनुपर्छ । राम्री भन्नाले समाजले दिएको सुन्दरताको परिभाषाभित्र अटेका ओठ, आँखा, नाकको बनावट, जीउडाल, छालाको रंग अनि सुहाउँदो मेकअप । आखिर किन केटीको सुन्दरता उसको अन्य क्षमताले निर्धारित गरिन्न ? यस्ता सुन्दरताको परिभाषाभित्र अल्झाएर क्षमता विकासतर्फ नलगाई कतै तिनको शोषण गरिएको त होइन ?

वास्तवमा यी प्रश्नहरुलाई खोतल्ने हो भने पितृसत्ताको सोच, संरचना र अवधारणाको गहिराइभित्र पुग्नुपर्छ । पितृसत्ताले एउटा महिलालाई शारीरिक र बौद्धिकरुपमा कमजोर पुरुषको सहयोगी जसलाई सुन्दर भन्दै भोगविलासको वस्तुको रुपमा मान्छ । कार्लमाक्र्सले यो त स्पस्ट पारे कि समाजमा रहेका विभिन्न वर्गहरुबीच हुने संघर्षको मूल कारण असमान आर्थिक अवस्था हो । तर अझै यो कुरा बुझ्न सकिएन कि महिलाको अलग्गै वर्ग त हुन्न, तैपनि किन ८ हजार वर्षदेखि घरभित्र वा बाहिर तिनको अवस्थामा खासै सकारात्मक परिवर्तन आउन सकेको छैन त ? पितृसत्ताले जन्माएको सोचको आधारमा परिभाषित नारी सुन्दरताभित्र अट्न प्रयासरत महिलाहरु चालै नपाई युगौंदेखि किन आफ्नो शक्ति र क्षमताबाट विमुख हुँदै निरन्तर शोषित भैराखेका हुन्छन् ।

तिनले लगाउने लुगा, प्रयोग गर्ने जुत्ता–चप्पल, सवारीसाधन, झोलालगायत अन्य प्रयोग गरिने सामग्रीहरुको बनोट कस्तो हुनुपर्ने भनी कसले के आधारमा निर्धारण गर्छन् होला ? किन शरीरको सहजता र आवश्यकताभन्दा अन्य कुरालाई प्राथमिकतामा राखिएको हुन्छ ? यस्ता प्रश्नहरु मनमा नआउनुको पछाडि पितृसत्तात्मक सोच र संरचना हुन् । जति असहज भए पनि लामो हिल लगाएर हिँडिन्छ । जति समय अभाव भए पनि लामो कपाल स्याहारिन्छ । गाजल, लिपस्टिक र क्रिममा पैसा खन्याइन्छ । लुगा र गहनासमेत आवश्यकताभन्दा बाह्य प्रभावअनुसार प्रयोग गरिन्छ ।

किनभने पितृसत्तात्मक समाजले निर्धारण गरेको सुन्दरताको परिभाषामा अट्नु छ । एकछिन् सोचौं त, ती सामग्रीको प्रयोगविना महिला सुन्दर हुन सक्दिनन् ? आफ्नो सुन्दरताको परिभाषा आफैंले तय गर्दा के हुन्छ ? आफूलाई सहज हुने पहिरनमा प्राकृतिक सुन्दरता के कम देखिन्छ ? संसारमा कुनै पनि व्यक्ति एक–अर्कासँग मिन्दैन । यसको मतलव हरेक व्यक्तिमा अलौकिक सुन्दर छ, होइन र ?

सुन्दरता भन्ने कुरा सांस्कृतिक कुरा हो । किनकि एउटा परिवेश कुनै समाजमा सुन्दर भनिन्छ भने अर्कोमा त्यो सुन्दरताभित्र नपर्न पनि सक्छ । जस्तो कि कहीँ पुरुषको जुँगालाई सुन्दरताको प्रतिक मानिन्छ भने कहीँ जुँगाविहीन, त्यस्तै कहीँ जिरो फिगर महिलालाई सुन्दरताको ताज पहिराइन्छ भने कहीँ त्यस्तो शारीरिक बनावट सुन्दरताभित्र पर्दैन ।

यी सुन्दरताका परिभाषा निर्माणमा पितृसत्तात्मक सोच र संरचनालाई आधार बनाएर पुँजीवादले सिर्जेको अवस्था हो भन्नुमा कुनै विमति नै छैन । किनकि पूँजीवादी व्यवस्थामा महिला एउटा उपभोगको वस्तुको रुपमा हुन्छ, जुन कुरा पेसा, व्यवसाय, मिडिया र पाठ्यसामग्रीमा समेत फिँजाइन्छ । मनोरञ्जन उत्पादन गर्नेले महिलालाई दिने भूमिका, विभिन्न वस्तुको प्रचारप्रसारमा देखाइने महिलाको भूमिका, साथै पेसागत उदाहरणहरुमा समेत महिलासँग जोडिएको पेसा ती सबैले प्रत्यक्ष र अप्रत्यक्षरुपमा महिलाप्रतिको सोच र अपेक्षाको निर्माणमा सहयोग गरिरहेको हुन्छ ।

महिलालाई एउटा ठूलो समूहको उपभोक्ताको रुपमा लिइएको हुन्छ । त्यसैले कथित सुन्दरताको लागि चाहिने सामग्री उत्पादक कम्पनीले विभिन्न रुपले सुन्दरताको परिभाषा दिनुको साथै बेलाबखत विभिन्न उमेर समूहका महिलाका लागि सुन्दरी प्रतियोगितासमेत आयोजना गर्ने गर्छन्, ताकि तिनका सौन्दर्य प्रसाधनको व्यापार चलिरहोस् ।

पितृसत्तात्मक समाजका संरचनाभित्र लैंगिक पहिचान, भूमिका र जिम्मेवारीलाई यसरी समेटेर राखिएको हुन्छ कि त्यसले समाजको मूल्य र मान्यतामै प्रभाव पार्न सफल भएको देखिन्छ । जस्तो कि छोरी जन्मिदा उसको लागि लगिने उपहारका सामग्री, त्यसका रंग अनि उसलाई सम्बोधन गर्ने शब्दहरु छोराको भन्दा बिल्कुल पृथक् हुन्छन् ।

अब प्रश्न उठ्छ, अरुले गरिदिएको सुन्दरताका यिनै परिभाषामा रमाइरहने कि आफ्नो क्षमता निखार्दै सोचमा परिवर्तन ल्याउने ? किन सामाजिक, आर्थिक, राजनीतिक अनेक परिवर्तन आए पनि त्यही गतिमा महिलाको अवस्थामा खासै परिवर्तन आएन ? यसबारे सोच्नुपर्दैन ? शोषणको स्वरूप फेरियो तर शोषणको अन्त्य किन भएन भनी चिन्तन गर्ने बेला अझै भएन ? यस्ता विषयवस्तु कहिल्यै पनि संसद्मा प्रवेश नपाउने कारण के हो ? कानुन बने पनि त्यसका कार्यान्वयन पक्षलाई बेवास्ता गरिनुको कारण के होला ? नेपालको जनसंख्याको आधारमा हेर्ने हो भने, महिलाको संख्या बढी छ । त्यसमाथि पनि वैदेशिक रोजगारीका कारण झनै बढीको संख्यामा छन् महिलाहरु । तर पनि किन बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध तथा महिला अधिकारका सवालमा तिनका आवाजलाई राज्यले बेवास्ता गरेको हुन्छ । यी कारणहरु न खोतल्ने हो भने आउँदो पुस्ताले पनि उही विभेद र असमानता भोग्नु नपर्ला भन्न सकिन्न ।

त्यसो भए के गर्ने त ? सबभन्दा पहिला त दृष्टिकोणमा स्पस्टता ल्याउनुप¥यो, जसले गर्दा आफ्नो क्षमताको पहिचान हुन्छ र आँट बढ्छ । धेरै होइन, मात्र एक हप्ताको सामाजिक सञ्जाल हेरे थाहा हुन्छ, कुन–कुन महिलाहरु एक समूहमा छन् अर्थात् प्रस्टै देखिन्छ स–साना समूहमा रहेका महिलाहरु वैचारिकरुपले भन्दा पनि जात, क्षेत्र र वर्गका हिसाबले एक–अर्कालाई समर्थन वा विरोध अथवा मौनता अँगालेका भेटिन्छन् । जबसम्म यो सोच रहिरहन्छ तबसम्म महिला शक्तिलाई अवमूल्यन गरिने परम्पराको निरन्तरता रहिरहन्छ । त्यही कारण छ कि समाज परिवर्तनका लागि गरिने विभिन्न अभियानहरु, जसमा महिलाहरु पनि सहभागी हुन्छन् र विजय प्राप्त गर्छन् । तर जब उपलब्धि बाँडफाँडको समय आउँछ त्यहाँ महिला रखिन्न । पछिल्लो उदाहरण लगभग दुई वर्षदेखि पदाधिकारीविहीन बनेको राष्ट्रिय महिला आयोग, वर्तमान सरकारले गरेका ३२ विभागको बाँडफाँड र नियुक्ति, त्यस्तै मन्त्रिमण्डलको साथै महिलाविहीन मञ्चहरुलाई पनि लिन सकिन्छ ।

त्यसैले यो बुझ्न जरुरी छ कि दृष्टिकोणमा स्पष्टता र मनमा आँट हुने हो भने तथ्यमा आधारित तर्कका आधारमा गरिने हरेक कुरा सम्भव छ । सत्यको पक्षमा क्रमशः जनसमर्थन थपिँदै र बृहत् हुँदै जान्छ भन्ने कुरा योगमायाको अभियानले समेत प्रमाणित गरिदिएको थियो । सीमित व्यक्तिबाट शुरु भएको यो अभियानले अन्ततः आन्दोलनको रूपसमेत धारण गरेको थियो । के योगमायाको सुन्दरता अरुले गरेको परिभाषामाथि निर्भर गर्छ ? उनको नाम मात्रैले सुन्दरताको अनुभूति गराउँदैन ? त्यसैले अब सुन्दरताको परिभाषा आफैं बनाऔं । वास्तविक सुन्दरता भनेको क्षमतावान् बन्नु हो भनी बुझ्न सघाउने अथवा महिलाको कुन अंग कति राम्रो छ, घाँटीभन्दा तल वा माथि भनी गीत सुन्दै रमाउन सिकाउने ? विकल्प रोज्ने स्वतन्त्रता सबैलाई छ ।
(लेखिका झा समाजशास्त्री हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्