दाहालको अर्को दुस्साहस



विनोद नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट लखेट्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार साउन १९ गते रामेछापमा एक पुलको उद्घाटनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । दाहालले ‘राजा–महाराजाहरु फेरि सलबलाउन थालेका भन्दै धेरै सक्रियता देखाए पूर्वराजा ज्ञानेन्द्रले नसोचेको परिणाम भोग्नुपर्ने पनि बताएका हुन् ।

परिवर्तन नचाहनेले देशमा बकवास गर्न थालेको भन्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको बताए । साथै उनी नसच्चिए नागार्जुन दरबारबाट लखेट्ने चेतावनीसमेत दाहालले दिए ।

तीन करोड जनता फेरि सडकमा आउनुपरे परिवर्तन विरोधीहरुको हालत नराम्रो हुने भन्दै दाहालले ‘अहिले केही व्यक्तिले सिस्टम नै फेर्ने दिन आएको बताएको’ प्रति आपत्ति जनाए । हिजो राजा–महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरुले सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका भन्दै उनले सरकारको बचाउमा पनि समय खर्चिए । उनले सरकार बनेको डेढ वर्ष मात्र भएको, स्थानीय तहहरुको गठन भएयताको समय पनि करिब दुई वर्ष मात्र भएको तर सिस्टम नै बदल्ने कुरा उठाउन थालिएको भन्दै त्यसप्रति असहमति जनाए । दाहालले केही मान्छेलाई फेरि राजा नै ल्याउने चाहना भएको तर त्यो सपना कहिल्यै पूरा नहुने पनि बताए । त्यसो गर्नेहरु नेपाली जनतालाई पुनः रैती र दास बनाउने सपना देखिरहेका भन्दै त्यो चाहना कहिल्यै पूरा नहुने दाहालको भनाइ थियो । अहिलेको उपलब्धि बलिदानको परिणाम भएको भन्दै उनले कसैले दया–माया गरेर कम्युनिस्ट पार्टीलाई बहुमत नदिएको पनि प्रस्ट पारे ।

देशमा प्राप्त परिवर्तन र उपलब्धि नाटकीय ढंगले प्राप्त नभएको दाहालको भनाइ थियो । नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकार संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन् भन्दै दाहालले अहिलेको सबै उपलब्धि त्याग र बलिदानको परिणाम भएको बताए । उनले यो व्यवस्था नेपाली जनताले राणाशाही विरोधी आन्दोलनको बेलादेखि २००७ साल, संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भई तीन तहको निर्वाचन नहुँदासम्म गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम भएको पनि बताए । झन्डै ७० वर्ष नेपाली जनताले जाति, क्षेत्र, लिंग, समुदाय सबैको बलिदान र संघर्षको कुल योगफलको रुपमा आजको संविधान र आजको संरचना प्राप्त भएको उनको भनाइ थियो । यो संरचनाले विकास गर्नुपर्छ, जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भन्दै उनले यसैले आफ्नो पार्टी र पार्टी नेतृत्वको सरकारले समृद्ध नेपाल निर्माण गर्ने र नेपालीहरुलाई सुखी बनाउने राष्ट्रिय सपना बोकेको बताए । आफ्नो सम्बोधनमा दाहालले मुलुकको विकासले चाँडै गति लिने विश्वास व्यक्त गरे । डेढ वर्षमा गरिएका सबै कुरा छर्लंग भएको तथा आउने वर्षमा विकासले अझ गति लिने विश्वाशको आधार तयार भएको पनि उनको दाबी थियो ।

हिजो १७ हजार नेपालीको ज्यान लिने र अहिले ‘हेग लगे हिरो हुन्छु’ भन्ने अर्थात् हत्या गरेर हिरो बन्ने सपना देख्ने दाहाल कहिले जंगल पस्ने त कहिले बुद्ध बन्ने धारणा व्यक्त गर्न पछि पर्दैनन् । यसरी एकातिर उनमा पश्चात्ताप छ, अर्कोतिर दम्भ छ, अझ सत्ताको भोक पनि छ । तर उनले बुझ्नुपर्ने कुरा जनता वास्तवमा आफ्नो पक्षमा छैनन् भन्ने हो ।

कुनै समय चामत्कारिक नेताको रुपमा लिइएका तथा साँच्चिकै केही गर्छन् कि भन्ने अपेक्षा गरिएका नेता हुन् पुष्पकमल दाहाल । तर हाल नेकपाका ‘अर्का अध्यक्ष’का रुपमा रहेका दाहालको विगत र वर्तमानलाई तुलना गर्दा आकाश र जमिनको अन्तर पाइन्छ । उनका जुन आदर्श, विचार, मान्यता र सिद्धान्त थिए तिनले हावा खाएका छन् । उनी पीपलपाते र विश्वास गर्न नसकिने नेताको रुपमा परिचित भएका छन् । क्रान्ति र विद्रोहको नाममा हिंसात्मक आन्दोलनको नेतृत्व गरेका उनी खुला राजनीतिमा आएपछि उनको हैसियत र क्षमता उदांगो भयो । दुईपटक मुलुकको प्रधानमन्त्री भएका दाहालले आफ्नो अस्तित्व जोगाउनका लागि विलयको दिशातर्फ उन्मुख आफ्नो पार्टीलाई तत्कालीन एमालेसँग चुनावी गठबन्धन हुँदै पार्टी एकता गर्न पुगेपछि उनको पहिचान नै फेरिन पुग्यो ।

निश्चय नै राजनीतिक परिवर्तनले मुलुकलाई समृद्धिको दिशातर्फ लैजान्छ भन्ने नेपाली जनताको आशा र विश्वास थियो तर त्यसो भएन । किनकि नेताहरुमा दम्भ र दलहरुमा सत्ताको स्वार्थ देखियो । कहिले को कहिले कोसँग गठबन्धन गर्ने र सत्तामा पुग्ने प्रवृत्ति आफूलाई क्रान्तिकारी भन्ने माओवादीमा पनि देखियो । माओवादी टुक्रिँदै कमजोर हुँदै गयो । नेताहरु मोटाउन थाले पनि कार्यकर्ता र मतदाताले भिन्नताको अनुभूति गर्न सकेनन् । अर्थात् जंगलबाट शहर पसेका नेताको अनुहार चिल्लो, चाक्लो र प्रवृत्ति सुविधाभोगी हुन पुग्यो भने जनताको अनुहार, अवस्था र दैनिकीमा कुनै परिवर्तन आउन सकेन । यसै कारण माओवादीप्रतिको आशा समाप्त भयो ।

माओवादीले बाँडेका सपनाप्रतिको भरोसाको अन्त्य भयो । यसै कारण माओवादीको अवस्था दयनीय बन्न पुगेको थियो । चतुर दाहालले यसको पत्तो पाएरै आफ्नो सुरक्षित अवतरणको अभिप्रायले एकताको बाटो रोजेका थिए । अहिले पनि बेला–बेलामा उनका धम्कीपूर्ण अभिव्यक्ति आउनुका पछाडिको कारक उनको महत्वाकांक्षा हो । तर सानो आकारको र आफूले आश्रय दिएकै कारण हैसियत पाएकाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई आफ्नै ढंगमा एकल निर्णयबाट चलाइरहेका तथा दाहाल पुच्छ्रे बनेर बस्न बाध्य भइरहेको अवस्था छ । यस्तो अवस्थामा दाहालको चर्को अभिव्यक्ति स्वाभाविक छैन ।

लोकतान्त्रिक प्रणालीमा आफूलाई लागेको कुरा अभिव्यक्त गर्न हरेक नागरिक स्वतन्त्र छन् । संविधानले नागरिकका अधिकारको सुनिश्चितता गरेको छ । यस सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रका अभिव्यक्ति वा गतिविधिलाई अन्यथा ठान्नु पूर्वाग्रह मात्र ठहरिन्छ । यो उनलाई एक नागरिकको रुपमा संविधान प्रदत्त हक हो । अर्को कुरा, वास्तवमा ज्ञानेन्द्रलाई राजा बनाउन पृष्ठभूमि तयार गर्ने दाहालहरु नै हुन् । आश्चर्य के छ भने, हिजो १७ हजार नेपालीको ज्यान लिने र अहिले ‘हेग लगे हिरो हुन्छु’ भन्ने अर्थात् हत्या गरेर हिरो बन्ने सपना देख्ने दाहाल कहिले जंगल पस्ने त कहिले बुद्ध बन्ने धारणा व्यक्त गर्न पछि पर्दैनन् ।

यसरी एकातिर उनमा पश्चात्ताप छ, अर्कोतिर दम्भ छ, अझ सत्ताको भोक पनि छ । तर उनले बुझ्नुपर्ने कुरा जनता वास्तवमा आफ्नो पक्षमा छैनन् भन्ने हो । आफ्नो अस्तित्व नै समाप्त हुने अवस्था आएपछि तत्कालीन एमालेसँग समर्पण गर्न पुगेका उनको हैसियत, नियत र वास्तविकता सबैलाई जानकारी नै छ । ठूला–ठूला व्यवसायीसँगको साझेदारी, तिनकै बचाउमा लागिपर्ने उनको स्वभाव तथा सुविधाभोगी चरित्रले उनमा राजसी ठाँट बढेको प्रस्ट देख्न सकिन्छ । तत्कालीन एमालेको आड पाएकै कारण ‘अर्को अध्यक्ष’को हैसियत बनाउन सफल भएका उनी अधिकारविहीन नै भए पनि लाचार भएर नाममात्रको अध्यक्ष बन्न तयार हुनुका पछाडि अस्तित्वको रक्षा नै प्रमुख कारण हो भन्ने स्पष्ट छ, उनीजस्तो महत्वाकांक्षी नेता, साँच्चिकै सामथ्र्य थियो भने त्यसरी लाचार भएर बस्न सक्ने कुरै हुँदैनथ्यो ।

अर्कोमाथि औंलो ठड्याउन आफू ठीक हुनुपर्छ । अर्कामाथि आरोप लगाउनेले आफू कुन दृष्टिले कसरी ठीक छु भन्ने कुरा सोच्नुपर्छ । व्यवहारले, गतिविधिले र विगतका घटनाक्रमले पनि दाहालको सकारात्मक भूमिका देखिँदैन । दाहाल शौखिन नेता हुन् भन्नेमा कुनै सन्देह रहेन । सम्पत्ति आर्जनको भोक अनि पछिल्लो समय उनमा बहाना बनाएर पनि विदेश भ्रमण गर्ने अनौठो शोख देखिँदै छ भने अर्कोतिर सत्ताको खेलमा पनि लागिरहेकै छन् । दाहालको प्रथम सत्तारोहण विवादित रह्यो भने दोस्रो सत्तारोहण पनि सुखद रहेन । उनी कुशल नेतृत्वकर्ता होइनन् भन्ने कुरा त्यसबाट प्रस्ट हुन्छ ।

स्थानीय निर्वाचनका समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई थाङ्नामा सुताउन सफल भएका उनले आफ्नी छोरीलाई भरतपुर महानगरको प्रमुख बनाउन सफलता प्राप्त गरे भने त्यसलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई धोका दिँदै तत्कालीन एमालेसँग घाँटी जोड्न पुगे । त्यसअघि पनि उनले लगभग सबै शीर्ष नेतालाई धोका दिएकै हुन् । यसैले शौखिन तथा धोकेबाज नेताका रुपमा चिनिन्छन् । हेगको चर्चा गरेर द्वन्द्वकालीन मुद्दाहरु, मेलमिलाप र सत्यनिरुपण आयोगहरुलाई निष्प्रभावी बनाउनमा उनको षड्यन्त्रको भूमिका छ । अहिले ती आयोग निष्क्रिय छन् । पदाधिकारी नियुक्तिमा उनी नै बाधक बनिरहेका छन् भनिन्छ । विश्व समुदाय र मानवअधिकारवादी संघसंस्थाले प्रश्न उठाए पनि नेपालको शान्ति प्रक्रियाले विश्व नै चकित भएको भन्न छाडेका छैनन् ।

दाहालमा जहिले र जसरी पनि आफू चर्चामा आउनुपर्ने सोच छ । यसैले उनका विरोधाभासपूर्ण अभिव्यक्ति आउँछन् बेला–बेलामा । नेकपा एकता प्रक्रियाको टुंगो अझैसम्म लाग्न नसक्नुका पछाडि पनि मूलतः उनी मातहतका माओवादी नेताको असन्तुष्टि प्रमुख कारक हो । आफ्नो पद सुरक्षित राख्नका लागि उनले पार्टीको अस्तित्व नै समाप्त गरे भन्ने आरोप दाहालमाथि छ । सम्झौतापरस्त उनको स्वभावप्रति असन्तुष्टहरु यही आरोपसहित अन्य दल गठन गरेर बाहिरिएका छन् । यस्ता अवसरवादी दाहालले आफ्नो अनुहार ऐनामा नहेरी पूर्वराजामाथि जाइलाग्नु आफैंमा अस्वाभाविक छ । नागरिकको रुपमा स्वतन्त्रतापूर्वक रहन पाउने ज्ञानेन्द्र शाहको अधिकार दाहालले खोस्न सक्दैनन् ।

हिजो ठूलो नरसंहार मच्चाएका दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई लाञ्छना लगाउनुको कुनै तुक छैन । अर्को कुरा, नेपाली जनताले एउटा राजाका ठाउँमा अनगिन्ती राजा जन्मेको र राजसी ठाँटमा कमी नआएको बुझिसकेका छन् । जनता आजित भएको अवस्था छ । त्यसैले तीन करोड जनता हाम्रै साथमा छन् भन्ने भ्रम नेताहरुले नराखे हुन्छ । हेर्दाहेर्दै नेताहरु सम्पन्नताको शिखरमा पुगेको तर आमनागरिकको अवस्था झन्–झन् दयनीय भएको छ । यसले गर्दा जनताको नेताप्रतिको आशा, विश्वास र भरोसा समाप्त भएको छ । यसै कारण जनताले बिस्तारै विकल्प खोज्न थालेका र पूर्वराजा ज्ञानेन्द्रको पक्षमा समेत जनमत बढ्दो क्रममा रहेको अवस्था छ । यस्तो अवस्थामा जिम्मेवार नेताका यस किसिमका अभिव्यक्तिले पूर्वराजाप्रति सहानुभूति नै बढ्नेछ । यसैले यस्ता धम्कीपूर्ण अभिव्यक्ति नदिनु नै उचित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्