सुखी नेपाली !



सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा ल्याएको खबर पुरानो भैसक्यो, नेपालीहरु सुखी हुन नसकेको यथार्थ पनि नयाँ रहेन, भविष्यमा सुखी हुन्छन् कि भन्ने सानो आश बाँकी छ । तर, वर्तमान अवस्था हेर्दा– सुखका खासै सूचक र संकेतहरु पनि फेला परिरहेका छैनन् । हो, महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘गरिब’ कवितामा वर्णन गरेजस्तो सुखी नेपाली भने हामी हुनसक्छौं ।

‘गरिब भन्छौं सुखको मझैं धनी, देख्दिनँ संसारभरि कतै पनि’ भनेर उनले महत्वाकांक्षा नराख्ने, परिश्रम वा कर्ममा विश्वास गर्ने, जे छ त्यसैमा सन्तुष्ट हुने व्यक्तिको चित्रण गरेका छन् । दुई तिहाइको बहुमतमा रहेको सरकारको ‘भिजन’ यस्तो होइन भन्ने विश्वास नागरिकमा छ । भौतिक र मानवीय विकासले सिर्जना गर्ने सुख सरकारको परिकल्पना हुनुपर्छ ।

खासगरी नेपालीहरु कमजोर र व्यवस्थापनका कारण सहज र सामान्य सुखबाट पनि वञ्चित छन् । अझ दैवी विपत्तिका समयमा राज्यले दिनुपर्ने सुरक्षा र सुविधा दिन नसक्दा मानसिक र शारीरिक दुवै प्रकारको पीठामा पर्छन् नागरिक । अहिले सडकमा पहिरोको वितण्डा छ । वर्षायामको अहिलेको समयमा देशका विभिन्न भागमा यातायात अवरुद्ध रहेका छन् । विशेषतः पहाडी सडक खण्ड सबैभन्दा बढी अवरुद्ध भएको समाचार छ । बाढी र पहिरोबाट पीडितहरु राहत नपाउँदा सरकारप्रति असन्तुष्टि छाएको छ ।

असारको अन्तिम साताको अविरल वर्षाका कारण सर्लाहीका बाढी एवं डुबानपीडित पर्याप्त राहत नपाउँदा झनै पीडित बनेका छन् । डुबानले घर लडेकाहरु उचित सरकारी राहतको आशामा बसेको तीन साता बितिसक्दा पनि सरकारले राहत त परै जाओस् क्षतिको विवरणसमेत संकलन गर्न सकेको छैन । राज्यको व्यवस्थापकीय वा प्रशासनिक कमजोरीलाई यस अवस्थाले नराम्ररी उदांगो पारेको छ । शोक, भोकको समयमा राज्यको उपस्थिति टड्कारो रहन्छ । यस्तो बेला राज्यको बोध नहुँदा कमजोर आर्थिक अवस्था भएका जनतामा राज्यप्रतिको आक्रोश र असन्तुष्टि बढ्नु स्वाभाविक छ ।

वर्षा लागेसंँगै हुने यातायातको अवरोधका पछाडि व्यवस्थापकीय कमजोरी कारक छ । कमजोर गुणस्तरीय तरिकाले बनेका सडक नै भत्किन्छन् । ठेकेदार र प्रशासनको मिलोमतोमा करौडौं खर्च गरेर बनाएका सडकहरु ६ महिनापनि नटिक्ने र वर्षाको पानीसंँगै बग्ने उदाहरणहरु यत्रतत्र देखिन्छन् । सार्वजनिक खरिद ऐनलाई जतिसुकै कडाई गरेपनि निर्माणमा हुने कर्मचारी, नेता र व्यवसायीबीचको बद्नियतपूर्ण मिलोमतोले भौतिक पूर्वाधारको निर्माण कमजोर हुने गरेको छ ।

नीति, निर्माण तहमा बसेका व्यक्तिहरुको कार्यशैली सुधार नहुञ्जेल अन्यको सुधार असम्भव नभएपनि मुस्किल रहेको छ । यसको मार सर्वसाधारणले नै बढी खेपिरहनुपरिरहेको छ । एउटा पुलको अभावले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । नागरिकमा देउता पछिको आफ्नो रक्षक राज्य नै हो भन्नेसम्मको विश्वास जागृत हुनुपर्ने हो, तब मात्र उनीहरु सुखी हुनसक्छन् । बढी कर तिर्न पाएर खुसी हुनेहो भने त्यो अवस्थामा नागरिक छन्, आत्मरतिमा रमाउने र सर्वोच्च शिखर सगरमाथा र बुद्धलाई मात्र सम्झेर पर्याप्त ठान्नेहो भने पनि ठीकै छ । तर, साँच्चिकै सुखी नेपाली र समृद्ध नेपाल खोज्नेहो भने सरकारको शैलीमा परिवर्तन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्