कागेश्वरी मनोहरा चैतभित्र कालोपत्रे होला ?



मधुसूदन रायमाझी, काठमाडाैं ।
पेप्सीकोला बम्हखेल सडक अन्तर्गत पिपलबोट बसपार्कदेखि ब्रम्खेल दुरसञ्चारसम्मको सडक आगामी चैत्रसम्म कालोपत्रे हुने भएको छ । एक बर्षको अवधिमा सम्पन्न गर्नुपर्ने सडकको काम सम्पन्न नभएपछि चैत्रभित्र ढल विछ्याउनेदेखि कालोपत्रे गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको छ ।

सडक निर्माणको काम समयमा नै सम्पन्न नहुँदा स्थानीयले बर्षाको समयमा बढी सास्ती खेप्नु पर्ने अवस्था सृजना भएपछि कागेश्वरी मनहरा नगरपालिकाको पहलमा जनप्रतिनिधि, स्थानीय सरकारको समिति र निर्माण व्यवसायीबीच भएको सहमति अनुसार चैत्रभित्र सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४,५,६,७,८ र ९ वडालाई जोडने महत्वपूर्ण सडक निर्माण अन्तर्गत अहिले सडकको दायाँबायाँ पर्खाल लगाउने काम धमाधम भइरहेको छ ।

करिब चार किलोमिटर सडक अन्तर्गत आठ सय मिटर खण्डमा मेसिनरीवाल लगाउने काम भइरहेको छ । भण्डार थोदुङ निर्माण सेवा प्रालिले एक बर्ष अघि गत जेठ महिनाभित्र सडक कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माणको कामलाई तीब्र गतिमा अगाडि बढाए पनि तोकिएको समयमा नै काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै निर्माण व्यवसायीले आगामी चैत्र महिनाभित्र सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, वडाअध्यक्षहरु राजाजाम पुडासैनी, प्रकाश फूयाल, भाइकाजी अधिकार, राममणि पुडासैनी, डिभिजन सडक कार्यालयका प्रतिनिधि इन्जिनियर सुर्दन कार्की, सडक सरोकार समितिका प्रतिनिधि दिनेश फुल्या, अमरचन्द्र बोहोरा तथा निर्माण व्यवासायीका तर्फबाट निकेश पोखरेलबीच भएको सहमति अनुसार तत्कालको लागि सडकमा स्थानीयलाई आवातजावत गर्न सहज व्यवस्था मिलाउने सहमति भएको छ । ५ बुँदे सहमति अनुसार निर्माण व्यवसायीले यही भदौ मसान्तसम्म हालको मौजुदा अवस्थाको सडकको सुधार गरी आवश्यक स्थानमा पानीको उचित निकासको प्रबन्ध सहित ग्राबेल गरी सामान्य ढंगले सवारी सञ्चालनको व्यवस्थामा ल्याउने काम सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी मंसिर मसान्तसम्म फुटपाथ,ढल निमास र ग्राबेलको काम सम्पन्न गर्ने, माघ मसान्तसम्म सव वेसको काम सक्ने, चैत्र मसान्तसम्म कालोपत्रे सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवासयीले गरेको छ । नगरपालिकाले स्थानीय रुपमा आउने सबै समस्याहरु समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको कागेश्वरी मनहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । उहाँले २०७६ सालभित्र निर्माण व्यवसायीको तर्फबाट सहज वातावरण हुँदाको अवस्थामा पनि काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारवाही गर्नलाई सम्बन्धित निकायमा सिफारिस गर्ने चेतावनी दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ का वडा अध्यक्ष प्रकाश फुयालले आगामी चैत्रभित्र सडक कालोपत्रे गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले गरेको बताउदै समयसीमाभित्र नै काम सम्पन्न गराउनको लागि दबाब दिने बताउनुभयो । ‘सडक समयमा नै निर्माण नहुँदा स्थानीयलाई निकै ठूलो सास्ती भएको छ, स्थानीयस्तरमा आउने समस्या समाधान गर्न पनि हामीले भूमिका निर्वाह गरिरहेका छौ’, उहाँले भन्नुभयो,‘जसरी हुन्छ अबको आठ महिनाभित्र सडक कालोपत्र भएको हुनुपर्छ ।’

पिपलबोटदेखि ब्रम्खेलसम्म अहिले गाडी सञ्चालन हुने अवस्था छैन् । नगरपालिकाभित्र जताततै सडक निर्माणको काम सुरु भएको छ । तर अधिकाशं सडक बर्षाको कारणले काम गर्न नसकिने भन्दै रोकिएका छन् । समयमा सडक निर्माण नहुँदा विद्यालय जाने विद्यार्थीदेखि बिरामी हुँदा अस्पताल लैजाने एम्बुलेन्स सञ्चालनमा समेत असहज भएको स्थानीय राम चालिसे बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘बर्षाको समस्यामा सडकमा दलदल हिलोको कारण आवतजावत गर्न निकै सास्ती छ, निर्माण व्यवसायीले समयमा नै सडक बनाउन ध्यान दिनु प¥यो । स्थानीयवासीले समयमा नै सडक निर्माण गर्नको लागि दबाब दिन नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीयवासीको माग सम्बोधन गर्नको लागि नगरपालिका पनि सडक निर्माणको कामलाई यथाशिघ्र अगाडि बढाउन निर्माण व्यवसायीलाई दबाब मात्र होइन कालोसूचिमा राख्नको लागि सरोकारवाला निकायलाई सिफारिस गर्ने चेतावनी समेत दिएको छ ।

सडक सरोकार समितिका उपाध्यक्ष अमर चन्द्र बोहोराले समयमा नै सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको बताउनुहुन्छ । ‘हामीले त निर्माण सुरु भएदेखि नै तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्न दबाब दिएका हो, तर पनि निर्माण व्यवसायीले सोचजस्तो काम गर्न सकेन, अब तोकिएको समयभित्र नै सडक निर्माण हुने आशा गरेका छौं ।’
उक्त सडक निर्माण गर्नको लागि सडक डिभिजन कार्यालयले ३६ करोड लागतमा ठेक्का आह्वान गरेको थियो । तर भण्डार थोदुङ निर्माण व्यवसायीले ३२ प्रतिशत विलो अर्थात १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ११ मिटर चौडाई भएको सडक फुटपाथ सहित ८ मिटर कालोपत्रे हुनेछ । साँघु सिन्धुपाल्चोकबाट सञ्चालन हुने यातायातलाई रत्नपार्कसम्म जोडने वैकल्पिक सडकको रुपमा निर्माण भएको सडक निर्माणलाई तत्काल अगाडि बढाउनु पर्ने माग स्थानीयले गरेका छन् । निर्माण व्यवसायीले करिब चार किलोमिटर सडकमा ढल विछ्याउने ठेक्का सम्झौतामा उल्लेख गरेको छ । केही स्थानमा मात्र ढल विछ्याउने काम गरेपनि अधिकाशं स्थानमा ढल विछ्याउने काम बाँकी रहेको छ ।

भण्डार थोदुङ निर्माण सेवा प्रालिका सञ्चालक उमेश लामाले एक बर्षभित्र तीब्र गतिमा काम गर्दा पनि सडक निर्माणको काम सम्पन्न गर्न नसकेको स्वीकार गर्नुभयो । सडकको दायाँबायाँ वाल लगाउने काम अन्तिम चरणमा पुगेको छ, बर्षाको समयमा पनि अहिले दैनिक रुपमा वाल लगाउने काम रोकिएको छैन, उहाँले भन्नुभयो । ‘एक बर्षभित्र सम्पन्न गर्न सम्भव भएन, आगामी चैत्रभित्र नै कुनै पनि हालतमा सडक कालोपत्रे गरेर हन्तरण गछौं’,लामाले भन्नुभयो,‘सडक हिलो हुँदा स्वभाविक रुपमा दुःख भएको छ, यो बर्षा केही असहज भएपनि अर्को बर्षा अगाडि नै सडक सम्पन्न हुन्छ ।’

बर्षाको समयमा ग्राबिल हाल्दा सडकमा गरिएको लगानी बालुवामा पानीजस्तै हुने उल्लेख गर्दै उहाँले पटक–पटक म्याद थप्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो । लागत भन्दा १७ करोड घटीमा लिएको सडकको गुणस्तर कस्तो होला भन्ने समाचारपत्रको जिज्ञासामा उहाँले भन्नुभयो,‘गुणस्तरमा कुनै पनि सम्झौता हुँदैन, सरकारकाले तोकेको मापदण्ड अनुसारको सडक नबनाएसम्म हाम्रो बिल नै पास हुँदैन, हामी गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरेर नै सडक बनाइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्