प्राग ऐतिहासिक बस्तीमा फास्ट ट्र्याक !



सुरेश तामाङ, ललितपुर ।
नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक)को केही भागमा प्राग ऐतिहासिक बस्ती भएको तथ्य भेट्टिएपछि द्रुतमार्गको काम अगाडि बढाउने÷नबढाउने विषयमा अन्यौल कायम छ । द्रुतमार्ग अन्तर्गतको ललितपुर खण्डको विवादित भाग खोकनाको कुदेशमा प्राग ऐतिहासिक वस्तीको पुरातात्विक संरचनाहरु भेट्टिएको हो ।

स्थानीय सरोकारवालाको आग्रहमा पुरातत्वविद्को रोहवरमा कुदेशमा उत्खनन् गर्दा यस्तो संरचना भेट्टिएको स्थानीय असोज महर्जनले बताउनुभयो ।
स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक संरचनाहरु रहेको र त्यसलाई उत्खनन् गर्न पुरातात्व विभागलाई बारबार ताकेता गरेपनि वेवास्ता गरिएको उहाँको भनाई छ ।

स्थानीयको सकृयतामा पुरातत्वविद् छत्र बहादुर कायस्थको अगुवाईमा गएको मंसिरमा त्यहाँ उत्खनन् गरिएको थियो । ‘सेनाले बनाउने भनिएको स्थानमा हामीले पहिल्यैदेखि पुरातत्वको संरचना छ भनेर भनेका थियौँ । त्यसमा पुरातत्व विभाग लगायत कसैले पनि वास्ता गरेन । त्यसपछि हामीले उत्खनन् गरेका हौँ ।’, उहाँले भन्नुभयो ।

त्यस क्षेत्रमा उत्खनन गर्दा पुराताात्विक वस्तुहरू भेटिएको उहाँको दाबी छ । त्यहाँ स्थानीयले पुरातात्विक क्षेत्र रहेको र त्यस क्षेत्रमा द्रतमार्ग बनाउँदा उक्त क्षेत्र मासिने भन्दै खोकना वासीले सडक नखन्न माग गर्दै आएका थिए। तर, विभागले यो क्षेत्रमा पुरातात्विक वस्तु नभएको दाबीगर्दै नेपाली सेनालाई सिफारिस पठाएको थियो।

कुदेशमा रहेको गुरु पौ चैत्यको ३५ मिटर दक्षिणतिर खन्दा प्राचिन इनार भेटिएको थियो । सानो आकारको इनार मल्लकालभन्दा अगाडिको भएको दाबी पुरातत्वविद् कायस्थको छ ।

उत्खनन्को क्रममा चैत्यको उत्तरतिर मूर्तिहरु, इँटा छापेको बाटो, घरका जगहरु, प्राचीन माटाका भाँडाकुडाँ, डलुचा र देवालगायतका प्राचीन बत्ती भेटिएका छन् । हालती सम्पूण बस्तुहरु सुरक्षित गरी राखिएको स्थानीय असोज महर्जनले बताउनुभयो ।

‘खन्दा भेटिएका पुराना वस्तु सुरक्षित राखेका छौं। यी वस्तु कति प्राचीन हुन् भनेर विस्तृत अध्ययन गर्ने व्यवस्था गरि राखेका छौँ ।’, उहाँले बताउनुभयो ।
खोकनाको कुदेशमा करिब डेढ फिट जति उत्खनन गरेको बेला ती सामानहरु भेटिएको स्थानीयले बताएका छन्। फास्ट ट्रयाक लाने तयारी भएको क्षेत्रमा खन्ने क्रममा माटाका, ढुंगाका बिभिन्न सामग्री फेला परेका हुन।

खनिएका स्थानमा उत्खनन गरेर हेर्ने क्रममा पुरानो बस्ति नै भेटिन सक्ने स्थानियको अनुमान छ। पुरातत्व विद् कायस्थले यस ठाँउमा एक हजार वर्ष अघि देखि नै बस्ति हुनु पर्ने अनुमान गर्नु भयो ।

यस स्थानमा पुरातत्व विभागले घाँसे मैदान बाहेक पुरातात्विक सम्पदा कुनै नरहेको भन्दै सेनालाई बाटो खन्न यस अघि नै अनुमति दिईसकेको छ । जसले स्थानीय आक्रोशित समेत बनिरहेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवारले देखिएको पुरातात्विक बस्तुलाई नछुने गरी र खन्दै जाँदा भेट्टिएका पुरातात्विक वस्तुलाई जीर्णाेदार र संरक्षण गर्ने हिसावले द्रुतमार्ग खन्न सिफारिस गरिएको बताउनु भयो ।

‘हामीले स्थलगत अवलोकन गरेका हौँ, खासै उत्खनन् गर्नु पर्ने औचित्य देखिएनौँ ।’, उहाँले भन्नुभयो–‘साँस्कृतिक पुरातात्विक सम्पदा जोगाउनु पर्छ त्यसमा शंकै छैन ।’

उहाँले अवलोकनको प्रतिवेदनमा त्यस भेगमा घाँसेमैदान भएको प्रतिवेदन आफूहरुले तयार नपारेको स्विकार्नुभयो ।

प्राचिन स्मारक संरक्षण ऐन, २०१३ ले पुरातात्विक वस्तु भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको बस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने बस्तुहरु ढुंगा, काठ, माटो, हस्ती हँड, धातु लगायतलाई भनिएको छ ।

ऐनको दफा ३ मा यस्ता वस्तुको स्वामित्व, संरक्षण, मर्मत तथा जीर्णोद्वारको जिम्मा पुरातत्व विभागको रहने स्पष्ट खुलाईएको छ ।

सोही ऐनको दफा १२ ग मा कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरुप पारेमा, अनधिकृत रुपमा हटाएमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान राखिएको छ ।

खोकना, बुंगमतीका स्थानीयले यस्तै साँस्कृतिक धरोहरको रुपमा रहेको पुरातात्विक सम्पदाहरुको नाश हुने गरी दु्रतमार्गको विकास हुन लागेको भन्दै सुरुदेखि विरोध जनाउँदै आएको छ ।

लामो समयसम्मको स्थानीयको विरोधका कारण सेनाले यस भेगमा आफ्नो क्याम्प बनाउने बाहेक दु्रतमार्गको केही काम गर्न सकेको छैन । द्रुतमार्गले खोकनाको ऐतिहासिक मन्दिर सिकालीको मैदान समेत मास्ने गरी बन्न लागेपछि झन विवाद लम्बिएको हो ।

यस विषयले संघीय संसदको सदनदेखि विभिन्न समितिमा प्रवेश पाएपनि अहिलेसम्म निचोड निस्केको छैन भने स्थानीयले विरोध पनि मथ्थर भएको छैन ।

ललितपुर महानगरपालिका २१, खोकनाका वडाअध्यक्ष रविन्द्र महर्जन ैकुदेशमा १३ सय वर्ष पुराना पुरातात्विक बस्तुहरु भट्टिएकोले त्यसलाई संरक्षण गर्ने कि डोजर चलाएर सडक बनाउने हो भन्दै प्रतिप्रश्न तेर्साउनुभयो ।

मुआव्जा वितरणमा कुरा नमिलिरहेको भन्दै उहाँले भन्नुभयो–‘मुआब्जाको समस्या त ज्युँका त्युँ छन् । त्यसकारण योजना खोकनामा अघि बढ्न सकिरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्